बिरामीको उपचारमा लापरबाही गरेको आरोप लगाउँदै बुधबार बिहान हेटौंडा–१ स्थित सन्चो अस्पतालका डाक्टरहरूमाथि आक्रमण भएको छ । घटनापछि आक्रमणकारीमाथि कारबाही र व्यक्तिगत सुरक्षाको माग गर्दै सन्चो अस्पतालमा सहकर्मीहरूले ओपीडी सेवा बन्द गरे, उनीहरूको समर्थनमा हेटौंडा अस्पतालका डाक्टरले राजीनामा दिने क्रम सुरु भएको छ । उपचारमा हेलचेक्र्याइँ भएको देखिएमा छानबिन र कारबाहीका लागि विधिवत् प्रक्रियातिर नलागेर भौतिक आक्रमणमै उत्रिनु निन्दनीय छ । कुनै पनि नागरिकले निर्बाध आफ्नो पेसा गर्न पाउने संवैधानिक अधिकार हो । अझ, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवा दिइरहेका पेसाकर्मी कार्यस्थलमै असुरक्षित हुनु दुःखद् विषय हो । यस्तो प्रवृत्तिलाई हतोत्साही गर्न र पेसाकर्मीलाई आफ्नो सेवामा प्रोत्साहित गर्न सरोकारवाला सबैको पहलकदमी आवश्यक छ ।
हेटौंडामा एक महिनाअघि डेंगी संक्रमित बिरामीको मृत्यु भएको घटनालाई लिएर डाक्टरहरूमाथि आक्रमण भएको हो । डेंगी संक्रमण भएर गत साउन २२ मा भर्ना भएका हेटौंडा–१२ का राजेश प्रधानलाई सन्चो अस्पतालले भोलिपल्ट आफ्नोमा उपचार हुन नसक्ने भन्दै चितवन ‘रेफर’ गरेको थियो । मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेका उनमा निमोनिया देखिएले ‘रेफर’ गरिएको अस्पतालको भनाइ छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ मा प्रधानको मृत्यु भएको थियो । त्यही विषयलाई लिएर सन्चो अस्पतालमा डा. प्रशान्त बिडारी र डा. विकास थापामाथि हातपात भएको हो । व्यक्तिको ज्यान गइसकेपछि परिवार–आफन्तजनले उपचार पद्धतिमा संशय गर्नु, छानबिनको माग गर्नु र कानुनी उपचारसम्म खोज्नुलाई अन्यथा मान्न नसकिएला । तर, अस्पतालभित्रै प्रवेश गरेर भौतिक आक्रमणमै उत्रिनु दण्डनीय छ ।
बिरामी पक्षबाट डाक्टरमाथि भएको आक्रमण यो पहिलो होइन । ‘उपचारमा ढिलाइ गरियो’, ‘लापरबाही भयो’ जस्ता आरोप लगाउँदै मुलुकका विभिन्न अस्पतालमा डाक्टरमाथि पटक–पटक आक्रमण भएका छन् । कार्यस्थलमा सुरक्षाको माग गर्दै डाक्टरहरूले पटक–पटक आन्दोलन पनि गरेका छन् । यस्ता घटनापछि समाजका सबै पक्षको ध्यानाकर्षण हुने गरेको छ । तर, यस्ता हर्कत दोहोरिनु चिन्ताको विषय हो । कार्यस्थललाई भयरहित बनाउन सरकार र स्वयं अस्पताल व्यवस्थापन पक्ष गम्भीर बन्नुपर्छ । दण्डहीनताका कारण पनि यस्ता घटना बारम्बार भइरहेका हुन सक्छन् । स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई कुनै पनि बहानामा कारबाहीबाट उन्मुक्ति दिनु हुँदैन । आक्रमणका घटनाले चिकित्सकलाई भौतिक रूपमा असुरक्षित बनाउने मात्र होइन, मानसिक रूपमा समेत कमजोर बनाउँछ ।
उपचारबाट ज्यान बचाइदिने भएका कारण डाक्टरलाई आम मानिसले भगवान्कै रूपमा समेत लिइरहेका हुन्छन् । डाक्टरहरू भगवान् होइनन्, उनीहरू अध्ययन र सीप आर्जन गरेका दक्ष जनशक्ति हुन् । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्ने हुन्, कसैलाई पनि अमर बनाउने होइनन् । उनीहरूलाई भगवान् भन्नु जति अतिशयोक्ति हो, उपचार प्रयास असफल हुनासाथ आक्रमण गर्नु उत्तिकै निन्दनीय हो । संसारका सबैभन्दा ठूला अस्पतालका डाक्टरहरूले अत्याधुनिक प्रविधि प्रयोग गरेर उपचार गर्दा पनि सबै बिरामीलाई बचाउन सक्दैनन् । तर अस्पताल पुगेको मान्छेको मृत्यु किन भयो भनेर आक्रमण गर्ने हो भने उपचार गर्न कोही पनि अग्रसर हुनेछैन । अझ, डाक्टरहरूले जटिल प्रकृतिका रोगको उपचार पनि गर्नुपर्छ जसमा जीवन बाँच्ने सम्भावना नहुन सक्छ । त्यस्तोमा उपचारका लागि अघि सर्न पनि डाक्टर डराउने पर्ने स्थिति आयो भने सबैभन्दा बढी क्षति सेवाग्राहीलाई नै हुनेछ । त्यसैले डाक्टरहरूले पेसागत सीप, दक्षता र साहसका साथ उपचारमा सक्रिय हुन पाउने वातावरण सिर्जना हुनुपर्छ ।
डाक्टरले बिरामीलाई निको पार्न सकेसम्म प्रयास गरिरहेका हुन्छन् । कतिपय अवस्थामा मानवीय कमजोरी पनि हुन सक्छ । त्यस्तो लागे गुनासो गर्ने, उजुरी दिने निकाय छन् । ती निकायले उजुरी–गुनासोलाई बेलैमा सम्बोधन गरे कतिपय समस्या नचर्किन सक्छ । अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने, पहुँचवालाले पालो मिचिदिने र डाक्टरले पनि पर्याप्त समय नदिने अवस्था पनि छ । यस्तै, सरकारी अस्पतालमा एकै डाक्टरले लगातार धेरै बिरामी हेर्नुपर्ने र एकै दिन विभिन्न अस्पताल/क्लिनिक भ्याउनेजस्ता कारणले डाक्टरहरू थकित र हतारमा हुने गरेको पनि देखिन्छ । अर्कातिर नक्कली प्रमाणपत्रवाला डाक्टर र उपचारमा साँच्चिकै लापरबाही भएकाबारे समाचार बेला–बेला आइरहने हुनाले सेवाग्राहीले कहिलेकाहीँ डाक्टरको दक्षतामा संशय गरेका पनि हुन सक्छन् । जनशक्तिलगायतका पूर्वाधार व्यवस्थापन र सेवा प्रभावकारी बनाउने विषयमा अस्पतालले विशेष ध्यान दिनुपर्छ । सरकारले पनि नियमन–अनुगमन गरिरहनुपर्छ । कुनै अप्रिय घटना भइहाले कारबाहीमा तदारुकता अपनाउनुपर्छ । अहिलेकै घटनापछि पनि डाक्टरहरूको माग जायज छ र त्यसलाई सम्बन्धित पक्षले जतिसक्दो छिटो सुनुवाइ गर्नुपर्छ । तर माग सुनुवाइका लागि दबाब दिन विकल्प अनेक हुन सक्छन्, उपचार सेवा बन्द पार्ने माध्यमले मर्कामा पर्ने सर्वसाधारण नै हुन् । डाक्टर समाजको बौद्धिक वर्ग पनि हो, भीडले विवेक गुमाउँदैमा पेसाकर्मी आफ्नो आधारभूत दायित्वबाट पन्छिनु युक्तिसंगत हुँदैन ।
डाक्टरले उपचार गर्ने हुन्, कसैलाई अमर बनाउने होइनन्
डाक्टरले उपचार गर्ने हुन्, कसैलाई अमर बनाउने होइनन्
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

