यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को अस्तित्व संकटमा परेको देखेर कवि रुडयार्ड किपलिंगको आत्मा छटपटाइ रहेको होला।
किपलिंगको जमाना आदर्शवादी थियो। सत्य-निष्ठालाई डग्न नदिइ पत्रकारितामा लागेका मानिसलाई साहूजीहरू तलब दिन्थे। पत्रकारहरू साहूजीको वहीखाता हेर्दैनथे। बजार सानो थियो। उत्पादनमा विविधता थिएन। त्यसैले लोभको प्रकोप कमै थियो।
अहिले आर्थिक जगतले खुला र उदार बाटो अपनाइसकेको छ। यो अवस्थामा पत्रकारिताका स्थापित मान्यता पनि बदलिन थालेका छन्। आजको पत्रकारले जनताका जिज्ञासाका जवाफ खोज्ने कष्ट गर्नुपर्दैन। लगानीकर्ताको आवश्यकता र मांगप्रति जिज्ञासा राखे पुग्छ। यस्तोमा कवि किपलिंगको सम्झनाको खासै उत्प्रेरक मूल्य छैन भने, मेरो विचारमा, यो निकृष्ट सामाजिक व्यवहार हो।
सुन्दै अचम्म लाग्दो कुरा। उनले प्रतिनिधित्व गर्ने नेपाल सरकारले वैदेशिक रोजगारीमा गएर कतारको कुनै गोठमा वा होटेलमा काम गरी रहेको नेपालीको तलब बढाउन कुन मालिकसँग कुरा गर्ने हो? विश्वमा एकातिर सम्पत्तिको थुप्रो लाग्दैछ भने अर्कोतिर गरिबीको बढ्दो भेलले संसार निस्सासिँदैछ। यस्तोमा कसले कसको रक्षा गर्न सक्दछ?
विश्व मानचित्रवाट अलग भू–भाग होइन नेपाल। तर, नेपालीले राजनीति वा अर्थशास्त्रका विषयमा विश्वव्यापी मान्यताको पालन गर्नुपर्दैन। हाम्रा त हरेक नीति नियमहरू विलक्षणका छन्। पत्रकारिताको पनि आफ्नै अनौठो नीति र नियम छ। यो नीति र नियम अनुसार, कुनै व्यापारीले कर नतिरेको पोल खोल्न जुटेको पत्रकार आफ्ना मालिकका लागि कर छूट दिने हाकिमको खोजीमा रहेको हुन्छ।
प्रेस लेखेको गाडी चढ्नेबित्तिकै सडक कर उठाउने कर्मचारीले सडकमा तेस्र्याएको तगारो खोली दिनैपर्ने परिपाटी छ। राज्यले राजनीतिका नाममा गुण्डागर्दी गर्ने व्यक्तिहरूलाई जुन–जुन सुविधा उपलव्ध गराएको हुन्छ, पत्रकारलाई ती सबै सुविधा चाहिएको हुन्छ।अहिले हाम्रो समाजको पत्रकारितामा यो प्रवृत्ति सबभन्दा बढी हावी भएको छ। पत्रकारिताका लागि यो घातक प्रवृत्ति हो र पनि यसलाई साना र गरीब मुलुकहरूमा देखिने स्वाभाविक प्रवृत्ति भनेर छाड्ने गरिएको छ। भारतजस्तो स्वतन्त्र पत्रकारिताको लामो इतिहास भएको देशका पत्रकारहरू समेत प्रलोभनमा फसेका छन्।
केही वर्षअघि ‘इण्डिया टुडे’का सम्पादक प्रभु चावला र सीएनएन–आइवीएनकी वर्षादत्त जस्ता पत्रकार समेत दलाली रकमको मोहमा परेर पेशाबाट टाढिन बाध्य भएका थिए। अहिले पनि भारतमा त्यो अवस्था विद्यमान छ। हामीकहाँ त टिकटक, युट्यूब र अन्य सामाजिक सञ्जालमा कराउने पत्रकारिता चलेको छ।
भारतमा एकदमै भिन्न अवस्था छ। त्यहाँका एकथरि पत्रकारहरूले कराउँदै लखेट्दै गर्ने शैलीमा पत्रकारिता गर्न थालेका छन्। भारतमा अपहरणको मुद्दा लागेका पत्रकारलाई र पत्रकार कुट्ने राजनीतिक कार्यकर्तालाई त्यहाँका स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारले एकैसाथ सम्मान र संरक्षण दिन्छ।
यतिबेला नेपाली पत्रकारिता सानातिना प्रलोभन भन्दा धेरै नै विकृत र घातक प्रवृत्तिको दलदलमा नेपाली पत्रकारिता फसिसकेको छ। सामान्य उपचारले यो दलदलबाट नेपाली पत्रकारितालाई उतार्नु अब सम्भव नहुन पनि सक्छ। किनभने पत्रकारिता अहिले अपराधीहरूको जन्जाल र सन्जालबाट घेरिन थालेको छ।
दक्षिण एशियाका देशहरूमा राजनीतिज्ञ र पत्रकारबीचको घनिष्ठ सम्बन्ध नौलो होइन। यस्तो सम्बन्धले समाचारको एकरसता हटाएर त्यसलाई जीवन्त बनाउन ठूलो भूमिका खेल्ने गर्दछ। नेपालमा पनि राजनीतिज्ञ र पत्रकारबीचको सम्बन्ध सधैँ प्रगाढ रहने गरेको छ।नेपाल गणतान्त्रिक राष्ट्रमा रूपान्तरित भै सकेपछिको समयमा यो सम्बन्ध बढी नै गाढा भएको छ। पत्रकारिता गर्नेहरूका लागि स्थानीय तहका वडा कार्यालयदेखि संघीय तहका मन्त्रालयसम्म वृत्ति विकासको बाटो खुलेको छ। पत्रकारको रूप-रङ फेरिन थालेको छ।
स्वभावैले रोमान्चकता रुचाउने देशभरका टाठा-बाठा पत्रकारहरू सिध्दान्त र राजनीतिक मर्यादाका कुरा गर्ने राजनीतिज्ञहरूको आदर्शबाट होइन, राजनीतिक दलका लागि आर्थिक स्रोत जुटाउनसक्ने बाहुबलीहरूको भातृ प्रेमको अंगालोको गर्मीमा बढी रमाउन थालेका छन्। कुन बाहुबली नेताको पछि लाग्दा कति फाइदा लिन सकिन्छ भन्ने चिन्ताले पत्रकारिताको करङ छेड्न थालेको छ।
राजनीतिक प्रभाव र प्रलोभन पत्रकारिताको आकर्षक पक्ष बनेको छ। तस्कर, पुलिस र भन्सारका समाचारहरू केन्द्रीय महत्वमा नरहे पनि समाचार संकलनका प्रमुख क्षेत्र बनेका छन्। यो क्रममा पिटिने र मारिने पत्रकारहरूको संख्या पनि ह्वात्तै बढेको छ।
पत्रकारको परिचय–पत्र बोकेपछि पत्रकारिताबाहेकका अन्य जुनसुकै कारणले पिटिएका वा मारिएका भए पनि उनीहरूको पहिचान पत्रकारिताका पीडितका रूपमा स्थापित हुने गरेको छ। यो राम्रो वा नराम्रो प्रचलन के हो? विवेकशील व्यक्तिहरूले आफैँ छुट्याउने कुरा हो।नेपालका गणतान्त्रिक पत्रकारहरू संस्थागत हिसाबले नै राजनीतिज्ञहरूका ‘डार्लिंग’ बन्न थालेका छन्। पत्रकारहरूका लागि राजनीतिक दलका प्रचार विभाग अन्तर्गत खोलिएका साना समूहहरू भीमकाय भ्रातृ संगठनका रूपमा विकसित हुन थालेका छन्।
पहिले आफू कांग्रेस, माओवादी, एमाले, मधेशी इत्यादिको सदस्य भएको गर्व ओकली सकेपछि मात्रै पत्रकार हूँ भन्ने व्यवसायीको संख्या बढ्दै गएको छ। पार्टीसम्बद्ध संगठनहरूको विवाद र सक्रियताका कारण निरन्तर घर झगडामा अल्झिएको पत्रकारहरूको मूल संस्था नेपाल पत्रकार महासंघले पत्रकारहरूको आचार विधिलाई तिलगंगामा बहाइदिएको छ।
जुन पार्टीको प्यानेलले चुनाव जितेको छ, महासंघ त्यही प्यानलको पेवा हुने भएपछि आचार विधिको आवश्यकता पर्दैन। अब यो संस्था पत्रकारहरूको महासंघ नभएर राजनीतिक दलहरूको प्रत्यक्ष निर्देशनमा चल्ने ‘नौटंकी अखाडा’मा रूपान्तरित हुने क्रममा रहेको छ।
कतै केही चुइँक्क भयो कि पत्रकारहरू चरणबद्ध आन्दोलनमा उत्रिन्छन्। आन्दोलनका संयोजकहरू पत्रकारहरू मारिने र पिटिने अवस्थाको अन्त्यका लागि होइन, मारिएपछि दिइने क्षतिपूर्ति र हर्जाना रकमको असूलीमा बढी चासो राख्दछन्। शान्तिपूर्ण, सुस्थीर, सुसंस्कृत र विधिको शासनको खोजीमा रहेका नेपाली जनता पत्रकारहरूवाट आजित हुन थालेका छन्।
पत्रकारितालाई धन्दा बनाएर आफ्नै भौतिक सम्पन्नताको खोजीमा लागेका पत्रकारहरू राजनीतिका गिनीपिग बन्दै गएका छन्। पत्रकारिता परिचयको संकटमा पर्दै गएको छ। यो राजनीतिक दल र तिनका नेताहरू, सयवटा मुसा खाएर तीर्थ हिँडेका बिराला जस्ता कर्मचारीहरू, व्यक्तिगत प्रशंसाको खोजीमा अलमलिएका उच्च पदाधिकारीहरू र आफूबाहेक अरू सबै बेठीक ठहर गर्दै आएका व्यापारीहरूको कुण्ठा ओकल्ने कोपरा हो कि राज्यको मजबूत चौथो अंग हो? व्यवसायका जिम्मेवार व्यक्तिहरूले सोच्नुपर्ने वेला आएको छ।यही सोचले अनुप्रेरित भएर हो कि अन्य कुनै कारणले हो नेपाल प्रेस काउन्सिलका ‘शीर्षस्थ व्यक्तित्व’ बालकृष्ण बस्नेतले सूर्य विनायकको मन्दिरबाट लामै उकालो चढेपछि आउने भिलेज हाइल्याण्ड रिसोर्ट, रानीकोटमा सोमबार अपरान्ह ०१ः३० बजे सम्पादक–संवादको आयोजना गरेका थिए।
त्यहाँ, बस्नेतका अनुसार, ‘जनताले पत्याएका जन–प्रतिनिधि’ (अर्थात पत्रकारहरू) तथा ‘जनताले छानेका जन–प्रतिनिधि’ (अर्थात सञ्चारमन्त्री रेखा शर्मा)को उपस्थिति थियो। उपस्थित सम्पादकहरूमा पछिल्लो समयमा बहुचर्चित अमीत ढकाल तथा प्रतीक प्रधान थिए। त्यो भेला, जमघट वा सभाले के निर्णय गर्यो? त्यो समाचारमा आएको छैन। यो स्तम्भकार आधा समयमात्र त्यहाँ उपस्थित भएकोले थाह पाउन पनि सकिएन।
सञ्चार मन्त्रीको शालीन वक्तव्यपछि त्यो सभा टुंगिनपर्ने हो। तर, सायंकालीन समारोहलाई मध्यनजर राखेर त्यस्तो अपेक्षा गर्नु ठीक थिएन।
सञ्चार विज्ञान र प्रविधिमा भएको व्यापक विकासले यतिबेला संसारकै पत्रकारिता भ्रम र सत्यको दोबाटोमा उभिएको छ। कुन भ्रम हो र कुन सत्य हो? ठम्याउन सकेको छैन। हाम्रो जस्तो भ्रष्ट राजनीति र निर्धन जनता भएको देश अलमलिनु अस्वाभाविक होइन। यद्यपि, सरकार आफैँले पनि अहिलेको अवस्थालाई पर्गेल्न सकेको छैन।
सरकारका नेता, जन–प्रतिनिधि र विभिन्न पेशामा लागेका व्यक्तिहरू रनभुल्लमा परेका छन्। सञ्चार मन्त्री शर्माले यो स्थिति बुझ्नुभएकै होला। यस्तो अवस्थामा सञ्चार मन्त्री आफैँले सबैले सबैको विचारलाई महत्व दिएर सुन्ने र छलफल गर्ने वातावरण बनाइ दिनुभयो भने त्यसले अहिलेको वातावरणलाई प्रदूषणमुक्त बनाउन मद्दत गर्नेछ। साभार : उकेरा डट कम

