ॐ भूर्भुव : स्व तत्सवितुर्वरेण्य भर्गो दिवस्य धीमहि ।
धियो यो न : प्रचोदयात ।।
गायत्री एउटा छन्द हो । अर्थात चौबिस अक्षरबाट निर्मित छन्दलाई गायत्री छन्द भन्छन् । यसमा तीन पाद छन् । प्रत्येक पादमा आठ अक्षर छन् । यसमा गायत्री छन्दको प्रयोग भएकोले यसलाई गायत्री मन्त्र भनिन्छ । गायत्री महामन्त्र अगाध समुद्र हो । जसको गर्भमा छिपेका रत्नलाई खोज्न अत्यन्त कठिन छ । गायत्रि मन्त्रमा ज्ञान विज्ञानको भण्डार छ ।
गायत्री मन्त्रमा २४ अक्षर छन् । पहिला पादमा (तत्सवितुर्वरेण्यं) छ । यसमा ७ अक्षर मात्र छन् । यसकारण शास्त्रानुसार गायत्री मन्त्र जप गर्दा वरेण्यंको स्थानमा वरेणीय उच्चारण गर्नु पर्दछ ।
ॐ : ब्रम्हा, विण्णु र महेश्वर भन्ने जनाउँछ ।
भूर्भुवः स्वर्ग, मत्र्य र पाताल (तीनै लोक)लाई जनाउँछ । भू भनेको पृथ्वीलोक हो । भुवर्लोक भन्नाले अन्तरिक्ष मानिन्छ । स्वः भन्नाले स्वर्गलोक हो । शास्त्रअनुसार, चौदह भुवन छन् । गायत्री मन्त्र सूर्यपरक मानिन्छ । त्यसैेले सूर्य उद्घाटित हुन्छ । तीन लोक भूः भूवः स्वः लाई मात्र लिएको पाइन्छ ।
तत् : गायत्री मन्त्र तत् शब्दबाट प्रारम्भ हुन्छ । यसमा तत् शब्दले तेज अर्थात सूर्यदेवलाई संकेत गर्दछ ।
वितुर्वरेण्य : वरण गर्न योग्य भन्ने बुझ्नु पर्दछ ।
भर्ग : तेज, प्रकाश । गायत्री मन्त्रमा भर्गको अर्थ हुन्छ, सूर्य मण्डलभित्र उपस्थित ईश्वरीय तेज । स्थूलरुपमा भर्गको अर्थ अन्धकारको नाशक हो । सुक्ष्म दृष्टिमा भर्ग अन्धकारको नाशक हो भन्ने बुझाउँछ । अज्ञानरुपी अन्धकारलाई नाश गर्ने परमात्माको शक्तिलाई भर्ग भनिन्छ ।
देवश्य : देव शब्द दिव्यताको अर्थमा प्रयुक्त हुन्छ । देव भन्नाले दिव्य अलौकिक, असामान्य ।
धीमहि : सबैले ध्यान गर्छौ भन्ने हो ।
धी : सद्बुद्धि भन्ने बुझाउँछ ।
प्रचोदयात : यो क्रियापद हो । प्रचोदयात प्रेरणाको बोध हो । आत्मगौरवको सम्पूर्ण रक्षा हो ।
गायत्री मन्त्रका प्रत्येक अक्षरमा दार्शनिक तत्व ज्ञान समाहित छ । जसको पूर्ण ज्ञान गर्न अत्यन्त कठिन छ । मन्त्रमा शक्ति हुन्छ । मन्त्रका अक्षरलाई वीज भनिन्छ । गायत्री मन्त्रमा गूढ महाविधा समाहित छ । महाविद्याको अनुसन्धान गर्नु विशिष्ट व्यक्तिको कार्य हो ।
पृथ्वी, अन्तरिक्ष एवं स्वर्गलोकलाई जाज्वल्य बनाउने सूर्यदेवको वरण गर्न योग्य तेजलाई हामी ध्यान गर्दछौं । सूर्यदेवले हामीसबैलाई सद्बुद्धि प्राप्त गर्न प्रेरित गरुन भन्ने नै गायत्री मन्त्रको शाब्दिक अर्थ हो ।

