मुलुकमा कोरोना संक्रमितको संख्या क्रमशः उकालो लाग्दैछ।चैत १७ गते एकैदिन १ सय ४२ जनामा संक्रमण पुष्टि भयो।कोरोना संक्रमणको वृद्धिले धेरैजनालाई झस्काएको छ।हाल केही दिनयता संक्रमितको संख्या औसतमा दुई अंकमा सीमित रहेको पाइएको छ।संक्रमण सक्रिय भएसँगै सबैमा केही प्रश्नहरू भने उब्जिएका छन्।यो भाइरस कति घातक हो ? जोगिन के गर्नुपर्छ ? भन्ने जिज्ञासा पैदा भएका छन् ।
संक्रमण सक्रिय देखिन थालेपछि नयाँ स्वरूपको भाइरसको आगमन भएको अनुमान गर्ने गरिन्छ।भाइरसमा निरन्तर स्वरूपमा परिवर्तन (जेनेटिक परिवर्तन) देखिनु स्वाभाविक र प्राकृतिक पनि मानिन्छ।सन् २०२२ को अन्त्यमा कोरोनाको जिन सिक्वेन्सिङ गर्दा कम्तीमा ओमिक्रोनको १७ सब–टाइप देखिएका थिए।तत्पश्चात के कस्ता सब–टाइपहरू आयातित वा विकास भए भन्ने परीक्षण भने भएनन।तर, केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नयाँ कोरोना विशेषतः भारतबाट आयातित भएको हुन सक्ने धेरैको अनुमान थियो।मुलुकमा देखिएका ओमिक्रोनका १७ सब–टाइपमध्येमा म्युटेसन भएर वा यी सब–टाइपहरूबीच हाइब्रिड भएर नयाँ भाइरसको विकास भएको हुनसक्ने सम्भावना छ।तेस्रो मुलुकमा देखिएका नयाँ भाइरसको पनि आयात हुनसक्छ।
गत चैत २० गते स्वास्थ तथा जनसंख्या मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा नेपालमा ओमिक्रोनका ९ वटा सब–टाइपरू देखिएको सार्वजनिक गरेको थियो।यसमा ४२ प्रतिशत संक्रमितमध्ये सबैभन्दा धेरै जनामा ओमिक्रोनको नयाँ भाइरस एक्सबीबी १.१६ पुष्टि भएको छ।यो भाइरस भारतमा संक्रमण भइरहेको छ।तीन महिना अगाडि देखिएको १७ सब–टाइपहरूबाट घटेर ९ वटामा सीमित हुन पुगेको थियो।तर, पनि अधिकांश भाइरसहरू नेपालका लागि भने नौलो देखिन्छन्।आगामी दिनमा ओमिक्रोनका ९ सब–टाइपहरूमध्ये हाल बढी संक्रामक देखिएको एक्सबीबी १.१६ ले नै अग्रता लिन्छ वा अरू सब–टाइपहरूले प्रतिस्थापन गर्नेछ भन्नेमा आगामी दिनमा प्रस्ट हुँदै जानेछ।
समुदायमा कोरोना संक्रमितको संख्यामा बढोत्तरी देखिन सक्छ।मूल ओमिक्रोन र कमन कोल्ड वा मौसमी फ्लुमा देखिने लक्षणहरू लगभग एक अर्कासँग समान छन्।यस्तो अवस्थामा परीक्षण अनिवार्य नै गर्नुपर्दछ। तर, ओमिक्रोन देखिनु अघि डेल्टा भेरियन्टमा स्वाद र गन्ध थाहा नपाउने प्रमुख लक्षणहरू थिए। ओमिक्रोन देखिए लगत्तै भने यी लक्षणहरू प्रमुख मानिदैनथ्यो। तर, हाल कोरोना संक्रमितहरूमा स्वाद र गन्ध थाहा नपाउने देखिने गरेको पाइन्छ। जाडो लाग्नु, टाउको तथा शरीर र ढाड अत्यधिक दुख्नु, आँखा दुख्नु, अत्यधिक थकान महसुस गर्नु तथा खोकी लाग्नु जस्ता थप लक्षणहरू संक्रमण पुष्टि भएका व्यक्तिमा देखिएका छन्।तर, पनि हाल कोरोना भाइरस र मौसमी फ्लु सँगसँगै फैलिरहेकाले प्रयोगशाला परीक्षण गरेर पुष्टि गर्नु राम्रो हुनेछ।किनभने यी दुई भाइरसको फैलने तरिका र लक्षणहरूमा धेरै समानता देखिने गर्छ।तर, परामर्श वा उपचारमा भने फरक हुन्छ।
बिगतमा हामीले कोरोना भाइरसका विभिन्न लहरमा कठिन समयको सामना गर्नु परेको थियो। यसर्थ जबजब कोरोना सक्रिय हुने गर्छ, तब–तब यसले पार्न सक्ने जटिलताको अवस्थालाई लिएर चिन्ता बढ्छ।सर्वसाधारमा जिज्ञासा र उत्सुकता प्रकट हुन्छ। यो स्वाभाविक पनि छ।हाल देखिएको भाइरस ओमिक्रोनको नयाँ हाइब्रिड भाइरस भएकाले यो बारेमा अझै धेरै जानकारी आउन भने बाँकी नै छ।तसर्थ भारतमा कोरोना संक्रमणले कस्तो अवस्था सिर्जना वा प्रभाव पार्छ, नेपालमा त्यस्तै अवस्थाको अनुमान भने गर्न सकिन्छ।किनभने खोपको दुई मात्रा (पूर्णखोप) र बुस्टर लगाउनेको प्रतिशत भारत र नेपालमा लगभग उस्तै देखिन्छ।
भारतमा पनि संक्रमितको अनुपातमा अस्पताल भर्ना वा मृत्यु हुनेको संख्या उल्लेखनीय छैन।यद्यपि, सम्बन्धित निकाय चनाखो हुनुपर्ने खाँचो छ।कोरोना भाइरसको संक्रमणलाई विशेष निगरानी राख्न आवश्यक छ।कोरोनाको जटिलता विशेषतः दीर्घरोगी, ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवतीमा देखिन सक्छ।कोभिडविरुद्धको खोप नलगाएका वा पूर्णमात्रा खोप नलगाएका व्यक्तिले पूरा मात्रा खोप लगाउनुपर्छ।सार्वजनिक स्थानमा मास्क लगाउने, साबुन पानी र सेनिटाइजरले हात सफा गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा हातको बाहुलीले छोप्नेजस्ता सावधानीका उपायहरू अपनाउनु आवश्यक छ।सावधानिका यी उपायहरूले भाइरस फैलनबाट रोक्न धेरै हदसम्म मद्दत पुर्याउनेछ।
(डा. पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)

