नेपाली आमसञ्चारमाध्यमको भूमिका अहिले कस्तो छ? आलोचकको आँखामा यसले कहाँनिर बिझाइरहेछ? यसले आत्मसमीक्षा गर्न पर्ने हो कि होइन? यी प्रश्नहरू समय–समयमा उठिरहन्छन् र यिनलाई सम्बोधन गर्दा सूचना प्रवाहमा स्वस्थ स्थिति पैदा हुन्छ, प्रजातन्त्रका अनेक संस्थालाई, प्रक्रियालाई सुशासन अभ्यासमा परिचालित गर्न मद्दत पुग्छ।
आवश्यकता
देशले काँचुली फेर्न लागेको आजको अवस्थामा यसो गर्नु अनिवार्य पनि हुन्छ। आउँदो झन्डै पाँच वर्षका लागि जनादेशअनुरूप शासनकर्मीहरू गाउँ–नगर, प्रदेश र केन्द्रमा कार्यरत छन्।
संघीय अभ्यासको दोस्रो चरण–प्रारम्भमा ती कार्यलाई दिगो पार्नु छ, त्यसकै लागि राजनीतिक दलहरू विविध गठबन्धनको प्रयोग क्रममा व्यस्त छन्, युवा तथा नयाँ जनप्रतिनिधिहरूको जोड विशेष गरी स्थिरता र परिवर्तनमा छ। राष्ट्र निर्माणका अनेक कार्यको निरन्तरता, नयाँ प्रयासका थालनी तथा जनताले पाउनु पर्ने सेवा सुविधाको सरल उपलब्धता सबै नै त्यस क्रमको स्वस्थतामा निर्भर छन्। माध्यमकर्मीहरू त्यस दिशातर्फको यात्रालाई सहज गराउन सचेत भएर दौडिरहेका छन्।
स्थिति
सकारात्मक सोच लिने पत्रकारहरूले माध्यमलाई अप्ठ्यारो परिस्थिति, न्यूनतम सुविधा, सीमित संसाधन र कम प्रविधिका बीच पनि उत्साहका साथ गतिशील सूचना प्रवाहमा हेलिरहेका देख्छन्। नकारात्मक दृष्टिकोण पाल्नेहरू त्यसलाई स्विकार्न सक्दैनन्। माध्यमबाट आफ्नो मात्र सेवा, सुविधा खोज्नेहरू यसलाई सहन आनाकानी गरिरहेको स्पष्ट बुझिन्छ। अन्य अवलोकनकर्ताहरू माध्यमले एकातिर उल्लेखनीय फड्को मारेको र अर्कोतिर विविध झुकावका कारण अलि अलमलिएको, ठाउँ–ठाउँमा अल्झिएको मिश्रित अवस्था भएको महसुस गर्छन्।
समाज, संसद्, सरकार, सर्वोच्च अदालतजस्ता राष्ट्रका महत्त्वपूर्ण स्तम्भलाई निरन्तर अवलोकन गरी तिनका गतिविधि र ती अन्तर्गतका हर प्रश्न, सन्दर्भलाई सही ढंगमा जनसमक्ष लाने जिम्मा आमसञ्चारमाध्यमको हो। त्यही क्रममा विकसित सीप प्रयोग गरी आमसञ्चारमाध्यमले सूचना प्रवाह गर्ने भार बोकिरहेको दृश्य दिनरात देखिन्छ।
भूमिका
नेपाली आमसञ्चारमाध्यमको भूमिकालाई नियाल्न यसका प्रकाशित, प्रसारित, पोस्टिङ भएका सामग्री उपयोगी हुन्छन्। अनुसन्धान क्रममा तिनलाई संख्याको आधारमा वा गुणमा केन्द्रित भई विश्लेषण गर्दा खास वस्तुस्थिति स्पष्ट हुन्छ।
यस आलेखमा देशमा भएका केही बृहत् अभ्यास, घटना, वैचारिक मन्थन तथा निर्णय सम्बन्धमा माध्यम प्रस्तुति कस्तो रह्यो, त्यसको संख्याका आधारमा होइन, गुणको विहंगम अवलोकन गरी भूमिका पहिल्याउन प्रयत्न गरिएको छ। अवलोकनमा देखिएका सन्दर्भलाई माध्यम प्रयोगकर्ता र विज्ञसँगको अन्तर्वार्ताबाट पनि केलाइएको छ।
स्थानीय, प्रादेशिक तथा संघीय निर्वाचनका अनेक आयाम सम्बन्धमा भएको सूचना प्रवाह, बौद्धिक विश्लेषण, बहस तथा स्थलगत रिपोर्टिङले जनस्तरमा चुनाव प्रक्रियालाई सहज र सशक्त बनाई सम्पन्न गर्न योगदान दिएको पृष्ठभूमि ताजै छ। मिडियाले निर्वाचनपूर्व, मतदान हुँदा र त्यसपछिका दिनमा पुर्याएका सेवालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सर्वपक्षीय सराहना भएको बिर्सन मिल्दैन।
एक विश्लेषकको शब्दमा नेपाली आमसञ्चारमाध्यमले राजनीतिमा निरन्तरताका माझ पुस्तान्तरणको अनिवार्यतामा प्रकाश पारेको छ, परम्परागत नेतृत्व शैली र दलीय रणनीतिप्रतिको वितृष्णालाई औँल्याएको छ। साथै राजनीति निष्ठा, नैतिकता तथा सिद्धान्तबाट झरेर लेनदेनको तराजुमा भुलिरहेको सन्दर्भबारे झस्काइएको छ।
एक प्रयोगकर्ताको अवधारणामा माध्यमले युवाको प्रवेशमा साथ दिएको छ, संवैधानिक व्यवस्थाभित्र सुधार गर्ने, नयाँ प्रयोगबाट विकल्प दिएर परिवर्तन ल्याउने हुटहुटीको औचित्यलाई व्याख्या गरेको छ, नवीन दलहरूप्रतिको झुकाव, प्रतिनिधित्व र सहभागितालाई स्पष्ट बनाएको छ, सामान्यतः बहुतता र विविधतामा आधारित विषयवस्तु प्रस्तुत गरेको छ। निर्वाचनको सन्देशलाई राम्ररी पस्केकै हो।
एक विज्ञको अनुभव छ: मताधिकार, त्यसको अभ्यास, उम्मेदवार, प्रतिनिधित्वमा समावेशिता, विविधता, स्थानीय, प्रादेशिक संघीय मुद्दा, आवश्यकता, घोषणापत्र आदिलाई जोडका साथ जनसमक्ष राखिएकैले पनि निर्वाचन प्रक्रिया निर्बाध सम्पन्न भएको हो भन्न मिल्छ।
चुनावमा रोजिएका उम्मेदवार एवं दल र तिनले प्रतिनिधित्व गर्ने विविध विचारधारा अहिले तीन तहका सरकार, प्रादेशिक सभा र संसद्मा क्रियाशील छन्। तिनलाई माध्यमले दिनदिनै पानामा, रेडियो तरंगमा, टेलिभिजन पर्दामा र अनलाइन पोस्टिङमा समय र स्थान दिइरहेकै छन्।
अर्का विज्ञको ठम्याइ छ: जनमतले किनारामा सारिएकाहरू अर्को अवसरको खोजीमा छन् वा सुधारतिर उन्मुख छन्। तिनमा रहेका विरोधाभास, विविधता, द्वन्द्व, मतमतान्तर, चुनौती र सम्भावना पनि माध्यमबाट मुखरित भएकै छन्। यसबाट चुनावजस्तो प्रजातान्त्रिक अभ्यासलाई सुदृढ पार्न मद्दत मिलेको अनुभव हुन्छ र यसले माध्यमको उचाइ बढाएको छ भन्न हिचकिचाउन पर्दैन।
केही समयअघि कोभिड १९ भाइरसले देश विदेश सर्वत्र त्रास, बन्द, हाहाकार फैलाउँदा नेपाली मिडियाले गरेको सूचना प्रवाहले सबैलाई चेतनापूर्ण सतर्कतामा रहन सहजीकरण गरेको देखिन्छ। त्योबेला शक्तिमा रहेकाले भ्याक्सिन, अस्पताल, बजार, यातायात व्यवस्थापन आदिमा गरेका कार्य/’अकार्य’, निर्णय/अनिर्णयलाई सूक्ष्म रूपमा गरेको अन्वेषणलाई भुक्तभोगी मिडिया प्रयोगकर्ता बिर्सन सक्दैनन्।
सार्वजनिक यातायात नचल्दा राजधानी र अन्य स्थानबाट टाढा टाढाको पैदल यात्रामा निस्किन बाध्य भएकाको समाचार दिन होस् वा छाक टार्न नसक्नेको यथार्थ कथा भन्न होस्, कोभिडले मसानमा पुर्याएकाको वा अस्पतालमा अलपत्र पारेकाको र तिनका परिवारको विवशताको विवरण शब्दमा, चित्रमा तथा अन्य माध्यममा उतार्न मिडियाकर्मीले अँगालेको जोखिम र गरेको साहस कसले बिर्सन सक्छ र! के ती विगत र वर्तमानमा स्वतन्त्रता तथा परिवर्तनका लागि नेपाली पत्रकारिताबाट भएको संघर्ष र योगदानसरह छैनन् र?
देशको अति नै मूल्यवान् प्राकृतिक संसाधनको दोहन भइरहेको, देश निर्माणमा जुट्नु पर्ने युवा श्रमको निर्यात भइरहेको, रेमिट्यान्समाथिको निर्भरता अति भएको, व्यवहारमा लैंगिक समताको अभाव, शिक्षामा, कृषिमा, सार्वजनिक सडकमा उचित ध्यान नपुगेको, राजनीति र अर्थ क्षेत्र सर्वसाधारणबाट टाढिएको प्रसंगमा पनि मिडियाको बहस उल्लेखनीय नै छ।
भ्रष्टाचार, दण्डहीनता बढ्ने क्रम, सदाचार हराउने प्रवृत्ति, अख्तियार दुरुपयोग मौलाउने, र संवैधानिक र अन्य प्रजातान्त्रिक संस्था सिंहदरबारको बोलवालामा कमजोर हुने क्रमको निरन्तरतामा पनि मिडियाले प्रकाश पारेकै हो। तिनमा सम्बद्धले ध्यान दिएर समाधान खोजेको भए समाजले लाभ पाउँथ्यो नै।
माध्यम चुकेको क्षेत्र पनि प्रयोगकर्ता औँल्याउँछन्, अनेक विषयवस्तुमा मौन रहेका स्थिति पनि देख्छन्, नचाहिँदो रूपले कसैको विशेषगरी राजनीतिक र आर्थिक व्यापारिक शक्ति सम्पन्नको मुखपत्रझैँ कार्य गरेको कथा पनि फेला पार्छन्। तिनलाई विज्ञहरू पनि महसुस गर्छन्।
सार्वजनिक रूपमा उल्लेख गर्न पर्ने र जनचासोका सन्दर्भलाई प्राथमिकतामा नपारेका कुरा चिन्ताको विषय हो। देखिने/नदेखिने बेरोजगारीमा होस् वा धनी बढी धनी र गरिब झनझनै गरिब हुने अनिवार्यतामा होस् वा सामाजिक परिवर्तनका लागि कलम, बोली र क्यामेरा कमै चलेको हो। देशमा दिनदिनै विविध क्षेत्रमा बढेको असमानता, अन्याय र अपराधमा न्यायोचित ध्यान नपुगेकै हो। विकास कार्यमा बेवास्ता, सुशासनको अभावमा सार्वजनिक सेवा उपलब्धता हराउँदै गएको र दिगो विकासका अन्तर्यजस्ता अजेन्डा बिर्सिएको प्रसंग विशेष रूपमै पर्छन्।
सँगै, मानव निर्मित वा प्राकृतिक विपद्मा शुरूमा सूचना राम्ररी दिने, तर पछि त्यससँगै गाँसिएका मानवअधिकार तथा उद्धार तथा पुनर्वासका मुद्दालाई त्यति ध्यान नदिने माध्यमको भूमिकामा सुधार हुनु पर्ने देखिन्छ।
माध्यममा पठनशीलता, श्रवणशीलताको स्तर उकास्न, दर्शनीयता, ग्रहणशीलता प्रवर्द्धन गर्न, प्रस्तुतिलाई आकर्षक पार्न र आचारसंहिताको पालनामा उपयुक्त ध्यान नपुगेको सन्दर्भ बेलाबेलामा खड्केको पनि बोध हुन्छ। सूचना प्रवाहमा रम्ने वा मनोरञ्जनमा जम्ने वा सतही बहसमा, पातपातमा बत्तिने वा गम्भीर सामयिक चिन्तन मननमा झाँगिने भन्नेमा माध्यम अलमलमा देखिन्छ।
आत्मसमीक्षा
उपरोक्त बल र कमजोरीको पृष्ठभूमिमा आत्मसमीक्षा गर्दा सुधार मार्ग खुल्छ। प्रगति चाहने, निरन्तर स्वस्थ, उपयोगी र सान्दर्भिक रहन खोज्ने हो भने समय समयमा आत्मसमीक्षा गर्नु नै पर्छ। यसले गन्तव्य स्पष्ट हुन जान्छ र त्यहाँ पुग्ने सहज बाटो बन्छ।
जान्नेहरूले राम्ररी अनुभव गरेर दिएको सो राय आमसञ्चारमाध्यमका लागि अनिवार्य पोषणसरह छ भन्नु अतिशयोक्ति हो/ओइन। हो, नकारात्मक र आत्मपरक आलोचनालाई भने यसले मात्र सम्हाल्न सक्दैन।
आफ्नो आलोचनालाई सुन्ने, सहने, बुझ्ने, बेवास्ता गर्दै नगर्ने, त्यसप्रति अति नै आवश्यकता नभई प्रतिक्रिया पनि नजनाउने, तर आलोचनमा उठाइएका विषयलाई प्रत्यक्ष सम्बोधन गर्ने बानी विकसित गर्नुपर्छ। यसले पत्रकारिताको स्तर उकास्न टेवा पुग्छ। आमसञ्चार अभ्यासको अनुभवले पनि यही माग गर्छ।
प्रविधिका कारणले माध्यम परिसरमा आएका अनेक परिवर्तन विशेष गरी ‘कन्भर्जेन्स’ पत्रकारिता, सूचना दिने, प्रयोग गर्नेले प्रेस सामग्री उत्पादन गर्ने र परिवर्तित डिजिटल शैली एवं प्रवृत्तिले पनि त्यही अपेक्षा गर्छ।
के विषयमा आत्मसमीक्षा? यसका लागि बृहत् र पूर्ण सूची संक्षिप्त लेखमा बनाउन सम्भव छैन। तर मूलभूत ५ मध्ये —रिपोर्टिङ, सम्पादन, स्वामित्व, प्रविधि, एवं व्यवस्थापन —कुनै एकलाई पनि ओझेलमा पार्नु हुन्न।
पत्रकारिता तीमध्ये प्रत्येकको–व्यक्ति व्यक्तिको–सक्रियतासहित अनेकको सामूहिक सहभागितामा चल्छ। त्यसको अभावमा सही अर्थमा न प्रकाशन, न प्रसारण, न पोस्टिङ नै पूर्ण हुन्छ।
आमसञ्चारगृहमा ती पाँच एकै लक्ष्यतिर अग्रसर हुने स्थिति छ/छैन, तिनमा सहकार्यको बोध छ/छैन वा तीबीचको सम्बन्धमा सद्भाव, सहयोगी प्रवृत्ति र आत्मसम्मान छ/छैन, त्यसको सिंहावलोकन जरुरी छ। तीबीचको समान प्रवृत्ति र चालले नै पत्रकारितालाई सेवामुखी बनाउन सक्छ, समन्वय, असमझदारीले दिशाहीन तुल्याइदिन्छ।
स्वामित्व लिनेले आफैँलाई सोध्नु छ; कतै संसार देखाउने झ्याल–माध्यम—स्वामित्वको नाफा मोहमा आधा मात्र खुल्यो वा बन्द पो हुन गयो कि? वा त्यो कसैको स्वार्थ पूर्तिका लागि जानी-नजानी ठेक्कामा लाग्यो कि? कतै त्यो शक्तिशालीको अपारदर्शी पेवासरह भयो कि? वा सर्वसाधारणलाई अलमलमा राख्ने बहाना पो भयो कि?
सम्पादनमा कार्यरत रहनेले मनमा राखिराख्नु पर्छ, आफ्नो दायित्वको बहुतता —समाजप्रति, समाचार वा सामग्री उत्पादनप्रति, विविधताप्रति, सही तथ्यप्रति आमसञ्चारगृहप्रति, भाषाप्रति, शैलीप्रति होस्। सबै किसिमका माध्यम सामग्रीमा गुणस्तर कायम गर्न, आमसञ्चारको मूल्य मान्यतालाई—सत्य, तथ्य सार्वजनिक हित, निष्पक्षता, सन्तुलन, सर्वसाधारणको ‘प्राइभेसी’ रक्षा आदिलाई अभ्यासमा उतार्ने सक्रियता राखियो राखिएन? भूल हुन जाँदा उचित स्थान र समयमा सुधार गरियो गरिएन? समग्र समाजलाई निर्धक्क भएर निष्पक्षताका साथ सुसूचित पार्नतिर लम्कन सकियो सकिएन?
माध्यमको जगमा रहेको रिपोर्टिङमा संलग्नले आफैँलाई सोधिराख्नु पर्छ: कतै सूचना स्थलगत रूपमा संकलन भएन कि, एकोहोरो रूपमा पो जम्मा गरियो कि, उचित श्रोतकहाँ पुग्न आलस्य गरियो वा माध्यमले माध्यमलाई नै उल्लेख नगरी हुबहु उतार्ने काम भयो कि? पीडित र पीडकलाई चिन्न सकिएन कि? समाचारमा आवश्यक गुणप्रति बेवास्ता गरियो कि? पूर्वाग्रहका कारण समाचारमा दृष्टि दोष पर्यो कि?
रिपोर्टिङको नाममा मत वा अभिव्यक्ति व्यक्त गर्ने वा मुद्दा लगाइदिने वा वकालत गर्ने वा फैसला नै गरिदिने वा अन्ध पुनर्लेखन गर्ने वा विज्ञापन गरिदिने वा बजार चलाउने वा छिद्रान्वेषण गर्ने कार्य पो भयो कि? कतै निगाहको आसमा बगियो कि? वा भयमा ‘सेल्फ सेन्सर’को चक्रमा फसियो कि?
व्यवस्थापन र प्रविधि फाँटमा पनि पत्रकारले सिंहावलोकन गर्नुपर्छ : आफ्नो तर्फबाट स्वामित्व, सम्पादन र रिपोर्टिङलाई आवश्यक परेको बेलामा आवश्यक स्तरीय सहजीकरण भयो, भएन? तिनको गतिसँगै आफू चल्न सकियो या सकिएन?
उपरोक्त समीक्षा प्रश्नमा सम्बद्धले सकारात्मक उत्तर भए त्यसलाई संवर्द्धन गर्ने र नकारात्मक भए सुधार गर्ने बानी बसाल्नु उचित छ, यसबाट अगाडिका पाइला प्रगतिशील हुन जान्छन्।
चिन्ता
समाचार कक्ष र उत्पादन कोठामा अहिले एक स्वाभाविक चिन्ता छ: सबै प्रयोगकर्ताले सामाजिक माध्यम अपनाएका कारण आफू शून्य भएर बिलाइने हो कि? नयाँ वा पहिलो सूचना त्यतैबाट पोखिने अनि लोभलाग्दो रूपमा जनजनको आँखा, कान र दिमागमा मिनेटमै सर्वत्र भाइरल हुने, अति जनप्रिय पनि भइदिने! त्यहाँ सामग्री उत्पादनका न प्रक्रिया, न ‘ढोकारक्षक’, न ‘प्रोसेसिङ’, न स्रोतको आवश्यकता, न औचित्य पुष्टि, न सत्यता परीक्षण वा ‘भेरिफिकेसन’का चरण, न भाषागत विवेक न त पत्रकारिताका मूल्यमान्यताका संवेदनशीलता। ‘पोस्ट’ गर्न चाहनेको मात्र सोच, भाव वा इच्छा र अभिव्यक्तिको बोलवाला !
सोसल मिडिया आजको वास्तविकता हो, यसमा रहेको व्यक्तिपरक तथा अभिव्यक्तिप्रधान, दूरतालाई अति छिटो पार गरी अक्षर, चित्र, वाणी वा तिनको मिश्रणलाई एकैपल्ट सर्वत्र फिँजाउन सक्ने क्षमता अतुलनीय छ। यसलाई आमसञ्चारमाध्यम र यसका प्रक्रियामार्फत सार्वजनिक हुने सामग्रीसँग दाँज्न मिल्दैन। सञ्चार र सूचना प्रवाहका दृष्टिले सोसल मिडिया पनि आमसञ्चारमाध्यमजस्तै देखिन्छ, तर यी दुईबीच अनेक आयामिक अन्तर छन्।
यसैले आमसञ्चार माध्यमले यसका संकेत हर समय पछ्याउनु पर्छ, तर सोसल मिडियाजस्तै हुन सकिएन भनी अप्ठेरो मान्न पर्दैन। त्यसलाई छापा, रेडियो र टेलिभिजन, अनलाइनको सूचना प्रोसेसिङ, तहतहका स्तरीय, सत्यता-परीक्षण विधि अनुरूप प्रयोग गर्ने रीति स्थापित गर्नुपर्छ।
आमसञ्चार माध्यमका आधारभूत मूल्य मान्यता छन्: तिनले स्वतन्त्रतालाई प्रयोग गर्दा सार्वजनिक मञ्चप्रति (पब्लिक स्फेर) प्रति उत्तरदायित्व लिनु पर्ने, सूचना प्रवाह वा विश्लेषण गर्दा सकेसम्म सबै पक्ष, नभए अर्को वा विरोधी आवाज वा अडानलाई स्थान दिनै पर्ने हुन्छ। तथ्य, सत्य, न्यायोचिततामा उपयुक्त ध्यान पुर्याउनु पर्छ। जनमत सिर्जनामा, शैक्षिक वा मनोरञ्जनात्मक सामग्री उत्पादनमा पनि त्यही विवेक लगाउनु आवश्यक छ, लहड वा उत्तेजनामा, सनसनीपूर्ण गफ वा अनुमानमा, ‘रे र वाउ वा वाहवाह’मा चिप्लन मिल्दैन।
कुनै पनि विषय पोस्ट भयो कि ‘सत्य भइहाल्यो’ भन्ने मानिने युगमा मूलतः चार धारका सूचना सन्देश फेला पर्छन्: व्यक्तिको मनोभावमा आधारित, खास अवधारणामा केन्द्रित, ठोस प्रभाव सिर्जना गर्न उद्यत, तथा माध्यम परीक्षित। त्यस पृष्ठभूमिमा माध्यमीय चयन, परीक्षण, स्रोतको संकेत, अवलोकन निष्पक्षता, इमानदारी आदि झन् अनिवार्य हुन गएको छ।
विविध स्थानबाट भावना, विचार, तथा तात्कालिक सोचका आधारमा व्यक्ति व्यक्तिले गर्ने पोस्टरूपी सूचनाको आँधीमा खास सूचनालाई अर्थ दिन, पृष्ठभूमिमा अड्याउन र तर्कपूर्ण विश्लेषणले विश्वसनीय पार्न चुनौती छ, तर माध्यमले त्यसलाई कायम गर्नुपर्छ।
त्यसो नभएमा टिप्पणी उठिरहन्छ : माध्यमको सूचनाबाट नागरिकी सशक्तता कसरी संवर्द्धन भयो त?
२०७९ फाल्गुन १६, मंगलबार

