के ही महिनाअघि सरकार प्रमुखले नै हिमालयको हावा वा बेसार पानीले कोभिड महामारी भगाउँछ भनेर भाषण गरे । सायद सरकारी संयन्त्रहरूले यस्तो भ्रममा विश्वास गरेकाले पर्याप्त तयारीमा ध्यान दिएनन्, त्यसैले कोरोनाको दोस्रो लहरको केन्द्रविन्दु नेपाल भयो । गलत अनुमान र पूर्वतयारीको अभावले हजारौंको ज्यान गयो । परिवाजनले आईसीयू, भेन्टिलेटर र अक्सिजन नपाएर तड्पिनुपरेका अत्यासलाग्दा दिनहरू सम्झनुस् त १ अस्पतालका पेटीहरू संक्रमितले भरिएका थिए । विभिन्न समूहले बनाएका अस्थायी कोभिड वार्डहरूमा पनि बेड पाइएको थिएन । उपचार नपाएर धेरैको मृत्यु भयो । अक्सिजन, मास्क वा प्यारा सिटामोलको कालोबजारी हामी कसरी बिर्सन सक्छौं र ?
अहिले पनि बेलैमा तयारी गरेनौं भने त्यस्ता दिनहरू दोहोरिन सक्छन् । ओमिक्रोन भेरिएन्ट जंगलको आगोसरि संसारभरि फैलिरहेको छ । अहिलेसम्म अन्त फैलिएको केही महिनापछि मात्र नेपाल आएको छ, यसको मतलब हो— हामीले पूर्वतयारीका लागि पर्याप्त समय पाएका छौं । ओमिक्रोन अहिले संसारभरि फैलँदा पनि नेपालमा यसका केस, तुलनात्मक रूपमा कम देखिएका छन् । यसले पूर्वतयारीका लागि समय पनि दिएको छ तर पहिलेकै जस्तो गल्ती दोहोर्याउने हो भने फेरि हजारौंको ज्यान जान सक्छ ।
ओमिक्रोन छिटो दरमा फैलिएको तथ्यलाई हाम्रा नीति–निर्माताले ध्यानमा राख्नु जरुरी छ । गम्भीर बिरामीहरूको प्रतिशत कम भए पनि संक्रमित संख्या उच्च हुने भएकाले ओमिक्रोन खतरनाक छ । नेपालजस्तो सघन जनसंख्या भएको मुलुकमा यसलाई कम आकलन गर्न मिल्दैन । र, ओमिक्रोनको रोकथाम र नियन्त्रणका लागि आगामी दिनहरूमा नीतिनिर्माता र सर्वसाधारण दुवैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुनेछ ।
नेपालमा कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढीलाई खोपको पूर्ण मात्रा लगाइएको छैन । संसारभरिको अनुभवबाट थाहा हुन्छ, अब बुस्टर डोजको जोहो गर्नु पनि अत्यावश्यक भइसक्यो । पूर्ण रूपमा खोप नलगाई पूरै जनसंख्याका लागि बुस्टर डोज सुरक्षित गर्न नेपाललाई अझै कठिन छ । यस्तोमा सुसमाचार नै भन्नुपर्छ, हामीले सम्पूर्ण जनसंख्याका लागि पूर्ण खोप र बुस्टरहरू लगाउन नसके पनि, क्लिनिकल अनुभवले देखाउँछ, खोप लगाएकाहरू प्रायः सिकिस्त भएका छैनन् । ओमिक्रोनबाट मृत्यु हुने सम्भावना पनि धेरै कम छ ।
नेपालमा डेल्टा भेरियन्टको लहर भारतमा सुरु भएको केही हप्तापछि आएको थियो । धेरै हदसम्म दक्षिणी सिमानाबाट भाइरस फैलिएको देखिन्छ । दक्षिणी सीमानाका पालिकाहरूमा स्वास्थ्य डेस्कको व्यवस्था गरी सीमा वारपार गर्दा कडा निगरानी गरे ओमिक्रोन नियन्त्रण गर्न सहज हुन्छ । निःसन्देह, यसका लागि थप कोष र अन्य स्रोत आवश्यक पर्छ, जसको जोहो सरकारले गरिदिनुपर्छ । डेल्टा फैलिरहँदा हामीले क्वारेन्टिन र आइसोलेसन केन्द्रहरूमा संक्रमितहरूलाई राख्न र हेरचाह गर्न सकेका थिएनौं । ओमिक्रोनको लहर आउनुअघि यी सुविधाहरू पुनःस्थापना गर्नुपर्छ । फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र स्थानीय सरकारलाई पनि तालिम दिने समय छ । भेरिएन्टहरूको प्रकृतिको जानकारी दिएर स्वास्थ्यकर्मीहरूलाई सशक्त बनाउनु आवश्यक छ । डेल्टा लहरमा अक्सिजनको अभावले गर्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको थियो । नेपालमा अक्सिजन प्लान्टको उपलब्धता विस्तार गर्न स्वास्थ्य मन्त्रालय विदेशी सहायतामा धेरै निर्भर छ र देशभरि केही नयाँ अक्सिजन प्लान्टहरू बनाएको पनि छ । आसन्न ओमिक्रोन लहरमा अक्सिजनको अभावमा कुनै पनि नेपालीले ज्यान गुमाउन नपरोस् भन्नका लागि अक्सिजन प्लान्ट बढाउन तीव्रता दिनुपर्छ ।
नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समुदायस्तरमा निकै राम्रो काम गरेका छन् । यसअघिको कोरोना लहर ग्रामीण भेगमा फैलिँदा यिनै महिला स्वयंसेविकाहरूको सञ्जाल पूर्ण रूपमा प्रयोग भएको थिएन । यस पटक, हामी यस सञ्जाललाई खोप बारे जानकारी दिन, भाइरसको स्थानीय फैलावटलाई कम गर्न र संक्रमितहरूको घरमै हेरचाह गर्न खटाउन सक्छौं । यी स्वयंसेविकाहरूलाई उचित तलब, सुरक्षा सामग्री र तालिम दिने पक्ष महत्त्वपूर्ण छ । उनीहरूलाई परिचालन र सशक्तीकरण गर्नु स्थानीय स्वास्थ्य प्रणाली मजबुत बनाउने र ग्रामीण समुदायलाई सहयोग गर्ने सबैभन्दा छिटो र प्रभावकारी तरिका हो । यसले राष्ट्रिय स्वास्थ्य प्रणालीमा प्रभाव पार्नेछ । यी कार्य सफल बनाउन सरकार र निजी स्वास्थ्य संस्थाहरूको भूमिका हुन्छ ।
यसबाहेक पनि, व्यक्ति आफैं सतर्क भए, ओमिक्रोन फैलनबाट रोक्न सकिन्छ । हामीले कोरोनाबाट जोगिन पहिले अपनाएको स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न छाड्नु हुन्न । मास्क लगाउन झिँजो मान्नु हुन्न । सार्वजनिक स्थानहरूमा र जोखिममा रहेका जनसंख्यासँग सम्पर्कमा हुँदा मास्कले नै जोगाउने हो । दुइटा मास्क लगाउनु झनै राम्रो । हातले अनुहार छुनु हुन्न । छुनै आवश्यक छ भने पहिला हात साबुन र पानीले २० सेकेन्डसम्म मिचीमिची धुनुपर्छ । त्यस्तै सार्वजनिक जमघट कम गर्नुपर्छ । यदि भीडभाडमा जानैपर्छ भने कम्तीमा एक मिटरको दूरी अनिवार्य कायम गर्नुपर्छ । स्थानीय सरकारका प्रोटोकल र नियमहरू पालना गर्नुपर्छ ।
डेल्टाको समयमा देश–विदेशका नेपालीले आइसोलेसन सेन्टरहरू बनाउन, अक्सिजन सिलिन्डरको आपूर्ति गरिदिन सहयोग गरेका थियो । सरकारको भूमिका चित्तबुझ्दो थिएन । डेल्टा लहरले हामीलाई आफैं कोभिडसँग संघर्ष गरेर अगाडि बढ्नुपर्छ भन्ने सिकाएको छ । हामीसँग आपत् परेका बेला परिवारबाहेक अरू कोही हुनेछैनन् ।
खरेल अमेरिकामा कार्यरत चिकित्सक हुन् ।
ओमिक्रोनबाट जोगिने तयारी अत्यावश्यक
ओमिक्रोनबाट जोगिने तयारी अत्यावश्यक
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

