डेल्टा र ओमिक्रोन प्रजातिका कोरोना भाइरसहरू एकसाथ फैलिँदा पछिल्लो समय विश्वभर संक्रमणको पारो ह्वात्तै बढिरहेको छ । अमेरिका र कतिपय युरोपेली मुलुकहरूमा दिनदिनै संक्रमित थपिने संख्याले नयाँ उचाइ छोइरहेको छ । नेपालसित खुला सीमा रहेको भारतमा पछिल्ला दिनमा महामारी फेरि उकालो लाग्दै छ, जुन हाम्रा लागि निकै चिन्ताको विषय हो । भारतभर पछिल्लो २४ घण्टामा २२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्, शनिबारको यो तथ्यांक शुक्रबारका तुलनामा करिब ६ हजारले बढी हो । केही दिनअघिसम्म ६–७ हजारआसपास रहेको यो संख्या एक्कासि अकासिन थालेपछि त्यहाँका
संघ र प्रान्त सरकारहरू चिन्तित बनेका छन्, उनीहरूले रोकथामका उपायहरू अपनाउनुका अतिरिक्त अस्पतालहरूलाई तयारी अवस्थामा
राख्नसमेत थालिसकेका छन् । त्यसैले, भारतमा संक्रमण फैलिएपछि बिस्तारै नेपाललाई पनि महामारीले गाँज्ने गरेको विगतका लहरहरूबाट पाठ सिकेर सरकारले रोकथाम र नियन्त्रणका प्रभावकारी उपायहरू अपनाउन कत्ति पनि ढिलाइ गर्नु हुन्न ।
पहिलो त, सरकारले खोप अभियानलाई तीव्र बनाउनुपर्छ । ओमिक्रोन प्रजातिको भाइरसको संक्रमण दर डेल्टाका तुलनामा दुई–तीन गुणा बढी भएको बताइएकाले पनि सरकारले सकेसम्म चाँडो लक्षित सबै नागरिकलाई खोप लगाइसक्न आवश्यक छ । एकातिर, अहिलेसम्म खोप नलगाएकालाई शीघ्रातिशीघ्र पहिलो मात्रा र पालो आएकालाई दोस्रो मात्रा लगाउनुपर्छ भने अर्कातिर दुवै मात्रा खोप लगाएर छ महिना नाघिसकेकाहरूको संख्या पनि ठूलो भएकाले तिनका निम्ति बुस्टर डोजको तारतम्य पनि अविलम्ब मिलाउनुपर्छ ।
अहिलेसम्म जनसंख्याको करिब ३४ प्रतिशतले दुवै मात्रा र ४६ प्रतिशतले मात्र पहिलो मात्रा खोप लगाएका छन् । १८ वर्षमाथिको मात्रै हिसाब गर्दा पनि अहिलेसम्म ३० प्रतिशतले एक मात्रा पनि खोप लगाउन पाएका छैनन्, दुई मात्रा नलगाउने त आधाआधी नै छन् । कथं संक्रमणले भयावह रूप लिइहाल्यो भने यति धेरै नागरिक खोपविहीन अवस्थामा रहनु घातक हुन सक्छ । तसर्थ सरकारले जसरी हुन्छ, खोप अभियानको गति बढाउनु अपरिहार्य छ । सरकारले दिनकै ५ लाखलाई खोप लगाउने योजना अघि सारे पनि यो लक्ष्य पछ्याउने गरी अभियान चलाउन सकेको छैन, शुक्रबार १ लाख ३९ हजारले खोप लगाए भने बिहीबार त ५६ हजारले मात्र । बीचमा एक पटक त सिरिन्ज अभाव भएर समेत अभियान प्रभावित भएको थियो । यस्तो व्यवस्थापकीय लापरबाही फेरि नदोहोरिने गरी सरकारले अभियान चलाउनुपर्छ । यससँगै खोप अभियानका बारेमा सर्वसाधारणले सहज ढंगबाट जानकारी पाउने गरी प्रचार–प्रसारको व्यवस्था मिलाउन जरुरी छ ।
दोस्रो, संक्रमणको खतरा कम गर्न र सिकिस्त बिरामी बन्नबाट जोगिन खोपको भूमिका हुने भए पनि महामारी अन्त्य नभएसम्म नागरिकहरूले स्वास्थ्य सावधानीका उपायहरू अवलम्बन गर्न छाड्नु हुन्न । संक्रमणको जोखिम बढेका बेला यस्तो उपाय अपनाउन अझ जरुरी पर्छ । पछिल्लो समय जुन रूपमा सरकार निर्धक्क र नागरिक निस्फिक्री देखिइरहेका छन्, यो प्रवृत्ति घातक हुन सक्छ । घरबाहिर निस्कँदा अर्थात् भीडभाडमा जाँदा सबैले अनिवार्य रूपमा मास्क लगाउने, व्यक्तिगत दूरी कायम गर्ने र समय–समयमा हात धुने वा ‘स्यानिटाइजर’ प्रयोग गर्ने नियमको हरदम हेक्का राख्नुपर्छ । सरकारले सार्वजनिक यातायातदेखि अरू सार्वजनिक स्थलमा यो नियम पालना गराउन र यस्ता स्थलहरूमा हुने भीडभाड कम गराउन पनि उपाय सोच्नुपर्छ । संक्रमण फैलिएर कडा खालका प्रतिबन्धात्मक उपायहरू अपनाउनुपर्ने अप्रिय अवस्थामा मुलुकलाई नपुर्याउन समय छँदै सरकार र नागरिक दुवै सतर्क रहनुपर्छ । खास गरी सरकारले अन्तर्राष्ट्रिय नाकाबाट नेपाल भित्रिनेहरूका निम्ति परीक्षण, ‘क्वारेन्टिन’ लगायतका पक्षमा पनि यथेष्ट ध्यान पुर्याउनुपर्छ ।
तेस्रो, केही गरी संक्रमण निकै फैलियो भने अस्पताल पुग्ने बिरामीको संख्या पनि अकासिनेछ, त्यस्तो बेला यसअघिको जस्तो दुरवस्था ननिम्तियोस् भनेर पनि सरकारले यथोचित सम्पूर्ण तयारी गर्नुपर्छ । संक्रमितको संख्या बढ्दै जाँदा भारतले यस्तो तयारी गर्न थालिसकेको छ । विगतको प्रवृत्ति हेर्दा नेपालमा पनि ढिलो–चाँडो प्रकोप बढ्ने अवश्यम्भावी छ, विज्ञहरू यही भन्दै छन् । त्यसैले सरकारले अहिलेदेखि नै अस्पतालहरूमा बेड, अक्सिजन, भेन्टिलेटर, सघन उपचार कक्ष र सम्बन्धित जनशक्तिहरूलाई तयारी र व्यवस्थित हालतमा राख्नुपर्छ । पहिलेजस्तो अस्पताल पुर्याइएका बिरामीले समेत उपचारै पाउन नसक्ने अवस्था दोहोरिन नदिन समय नघर्कंदै आवश्यक कार्य गर्नुपर्छ । सरकार र नागरिकले आ–आफ्नो कर्तव्य र दायित्व निर्वाह गरेर सम्भावित महामारीको उचित रोकथाम र नियन्त्रण गर्नुपर्छ ।

