एक्काईशौं शताब्दीमा कोभिड १९ (कोरोना भाईरस)ले विश्वलाई त्रसित पारे झैं प्राचीनकालमा स्वास्थ्य सम्बन्धि समस्याले आमजनतालाई पिरोलेको थियो । १५०० बिसि भन्दा पहिलेको समयमा न त पर्याप्त विज्ञ एवं स्वास्थ्य जनशक्ति थियो, न त पूर्वाधार नै व्यवस्थित थियो । त्यो बेला जनताको जीवन कसरी जोगाउने ? यो प्रश्न पेचिलो थियो ।
ऋषिमुनिहरुको भेला बस्यो । निकै लामो छलफलले अश्विनीकुमार नामक ऋषिलाई जनताको उपचार व्यवस्थापनको जिम्मेवारी सुम्पियो । त्यसपछि अश्विनीकुमारसँग धन्वन्तरिको प्रसङ्ग जोडिन्छ । तत्कालीन परिस्थिति र सन्दर्भलाई अहिलेको परिस्थितिसँग तुलना गर्दा अहिलेको स्वास्थ्य मन्त्रालय जस्तो इन्स्टिच्युटको रुपमा लिइयो । धन्वन्तरिलाई भनियो । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बहन गर्ने व्यक्ति नै स्वास्थ्य मन्त्री भए झैं अश्विनीकुमार नै धन्वन्तरिकारुपमा रहेको अनुमान गर्न सकिन्छ । त्यो बेला स्वास्थ्य क्षेत्र हेर्न धन्वन्तरिलाई सुम्पने कार्य गरिन्थ्यो । जसरी अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागलाई जिम्मेवारी दिने गरिन्छ । धन्वन्तरिको प्रमुख नै अश्विनीकुमार थिए । ऋषिमुनिकारुपमा रहेका अश्विनीकुमार नै स्वास्थ्य उपचारका महत्वपूर्ण जिम्मेवारी लिने धन्वन्तरि भए ।
धन्वन्तरिमा महामारि नियन्त्रणकालागि चारवटा रणनीति बनाइयो । त्यो रणनीति सफल पार्न थप कार्यनीति बनाइयो । पहिलो रणनीति आयुर्विज्ञान सम्बन्धी सचेतना थियो । त्यसकालागि स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने, सरसफाईमा ध्यान दिने, लक्षित समूहमा जानकारीमुलक सन्देश प्रवाह गर्ने कार्यनीति लागू गरियो । पहिलो कार्यनीति सफल भए पछि रोगसँग लड्ने क्षमता अभिवृद्धिकोलागि औषधि वितरण गर्ने कार्य गरियो । त्यसपछि चिराईतो, कुट्की लगायत जडिबुटीहरुबाट निर्मित औषधि वितरण गरियो । रोगले अंगभंग भएका व्यक्तिकोलागि शल्यचिकित्सा पनि गरियो ।
स्वास्थ्य उपचार र आयुर्वेदको सन्दर्भमा धन्वन्तरिको चर्चा र महत्व गरिन्छ । रणनीति र कार्यनीति बनाउने कार्य धन्वन्तरिबाट भएको हो । अहिले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) वा स्वास्थ्य मन्त्रालयलयले आह्वान गरे झैं त्यो बेला धन्वन्तरिले भनेको वा सल्लाह दिएको कुराहरु महत्वपूर्ण मानियो । त्यसैले अश्विनीकुमारलाई प्रथम धन्वन्तरिकारुपमा लिइन्छ । धन्वन्तरिले जीवन बचाएकै कारण समाज चल्दै आएको मानिन्छ ।
१५०० बिसिको आसपासमा पनि ठूलो संक्रामक रोग फैलियो । सबैभन्दा राम्रोसँग इलाज गर्ने व्यक्तिको रुपमा द्धिवुदास चर्चामा आए । भारत वर्ष खण्डमा बसोबास गर्ने ती स्वास्थ्यकर्मीले बिरामीलाई नयाँ जीवन दिए । प्रथम धन्वन्तरिले झैं उपचार गरेको हुनाले द्धिवुदासलाई उपनाम दिइयो । उनलाई पनि धन्वन्तरि भनियो । पुरस्कारका रुपमा धन्वन्तरि द्धितियका रुपमा चिनिन थालियो । पहिलो र दोस्रो धन्वन्तरिले समाजलाई दिएको योगदान अतुलनीय छ ।
जनतालाई नयाँ जीवन दिएको र समाज र राष्ट्रलाई योगदान दिएका कारण नै धन्वन्तरिको योगदानको स्मरण गर्दै जन्मजयन्ति मनाउन कार्यको थालनि भएको हो । धन्वन्तरि जयन्ति मनाउनुको सार सेवा भावको स्मरण हो । सेवा भावको प्रतिबद्धता हो । स्वास्थ्यकर्मीद्धारा सेवाभाव र सेवाकर्मप्रतिको सपथ (प्रतिबद्धता) लिने दिनका रुपमा धन्वन्तरि जयन्ति लिन सकिन्छ ।
अहिले मुलुकको स्वास्थ्य सेवा एवं उपचार प्रणालीमा समस्या आउनुको मुख्य कारण धन्वन्तरिको जस्तो सेवा भाव र प्रतिबद्धताको अभाव हो । कोभिड होस वा डेंगु संक्रमण पछि बिरामीले पर्याप्त सिटामोल समेत नपाएको गुनासो छ । संक्रमण सम्बन्धि चेतनाको कमीले गर्दा भ्रमहरु फैलिरहेका छन् । अहिले स्वास्थ्यमा व्यापारिकरण भएको छ । सेवा भाव भन्दा लोभ हावि भइरहेको छ । भौतिक सुखसयलमा रमाउन चाहने व्यक्तिबाट सेवा भाव हुन सक्दैन । त्यसैले स्वास्थ्यकर्मीमा शुद्ध सेवाभाव हुनु पर्ने सन्देश धन्वन्तरिबाट पाइन्छ ।
अहिले पढ्ने आयुर्विज्ञान अर्थात धन्वन्तरि विद्या, सोंचाई र सपना राख्ने धनवान । यो दुई पक्षबीच तालमेल नमिल्दा स्वास्थ्यकर्मीप्रतिको आम जनताको सोंच सकारात्मक हुन सकेको छैन । धन्वन्तरिको सम्मान गर्ने हो भने सरल जीवनशैली हुनु पर्छ । सेवा भावप्रति प्रतिबद्धता र निष्ठावान हुनु पर्छ । निष्ठा, त्याग र निस्वार्थ सेवाभाव अवलम्बन गर्नु नै धन्वन्तरिप्रतिको सच्चा सम्मान हो ।

