सन् १८९५ मा विल्हेल्म रोन्टजनले एक्स–रे आविष्कार गरेको दिनको सम्झनामा चिकित्सा विज्ञानमा नोभेम्बर ८ लाई अन्तर्राष्ट्रिय रेडियोलोजी दिवसको रूपमा मनाउने गरिन्छ । विकिरणको प्रयोगद्वारा शरीर भित्रका अङ्गहरूको जानकारी पाउन सक्ने भएकाले एक्स–रेले चिकित्सा विधामा नयाँ युगको सुरुवात गरेको थियो । रोग पत्ता लगाउन मद्दत गर्ने विधाको रूपमा सुरु भएको रेडियोलोजी अहिले विभिन्न नयाँ प्रविधि र आविष्कारसँगै अत्यन्त परिष्कृत र आधुनिक चिकित्सा विधि बनेको छ र रोग पत्ता लगाउनेसँगै सामान्य घाउमात्र बनाएर रोग निदान गर्नसमेत टेवा पुर्याएको छ ।
छैठौं संस्करणको अन्तर्राष्ट्रिय रेडियोलोजी दिवसले आकस्मिक अवस्थामा रेडियोलोजीले पुर्याएको टेवा र गर्नसक्ने विभिन्न उपचार प्रविधिको प्रसङ्ग जोडेको छ । आकस्मिक अवस्थामा भएका बिरामीको उपचारको प्रमुख उद्देश्य जीवनरक्षा हो । बिरामीको रोग पत्ता लगाउन र उपचार गर्न जति कम समय लाग्छ, जीवनको जोखिम त्यति नै न्यूनीकरण हुन्छ । आकस्मिक उपचार विभिन्न विभाग बीचको समन्वयबाट हुने गर्छ । रेडियोलोजीले शरीर भित्रका विभिन्न अङ्गमा लागेका चोट तथा रोग पत्ता लगाउने र आवश्यकता अनुसार त्यसको निदानसमेत गर्छ ।
रेडियोलोजी अन्तर्गत विकिरणयुक्त एक्स–रे, फ्लुरोस्कोपी, म्यामोग्राम, सिटिस्क्यान तथा विकिरणरहित अल्ट्रासाउन्ड, एमआरआई लगायत प्रविधिहरू पर्छन् । कम समयको प्रयोग गरेर धेरैभन्दा धेरै शरीरका भित्री अङ्गहरूमा भएका समस्याको जानकारी दिनसक्नु रेडियोलोजीको प्रमुख चुनौती हो ।
पक्षाघात भएर आएको बिरामीको मस्तिष्कको सिटिस्क्यान गरेर कस्तो उपचार गर्ने भन्ने निर्णय गर्नसके मस्तिष्कको क्षति न्यूनीकरण गर्न सकिन्छ । महिनावारी बन्द भएर पेट दुख्दै आएको महिलामा गर्भ पाठेघर भन्दा बाहिर बसेको हो कि भन्ने सम्भावना केलाउन अल्ट्रासाउन्ड गर्न सकिन्छ । कुनै दुर्घटनामा परेका बिरामीको हड्डी तथा शरीर भित्रका अङ्गहरूमा कुनै चोट लागेको हो कि भनी जाँच्न अवस्था हेरेर एक्स–रे, अल्ट्रासाउन्ड तथा सिटिस्क्यान गर्ने गरिन्छ । विभिन्न कारणले खोक्दा खकारमा धेरै रगत आउने भएमा रेडियोलोजीको प्रयोग गरेर रक्तनलीमा पातलो पाइप हालेर रक्तस्राव गराउने फोक्सोको रक्तनलीलाई बन्द गर्न सकिन्छ । त्यस्तै खुट्टा धेरै सुन्निने भएमा त्यसमा रगत जमेर फोक्सोमा सर्ने खतरा छ कि भनी जाँच गर्न अल्ट्रासाउन्ड तथा सिटिस्क्यान गर्ने गरिन्छ । एक्कासि रुन थालेको बच्चाको दिसामा रगत देखापर्दा आन्द्रा बटारिएको हो कि भनी अल्ट्रासाउन्डबाट पत्ता लगाउन सकिन्छ । अल्ट्रासाउन्ड र फ्लुरोस्कोपीको निगरानीमा दिसा गर्ने ठाउँबाट पानी हालेर बटारिएको आन्द्रा ठीक पार्न सकिन्छ । पेटका विभिन्न भागमा असह्य पीडा हुँदा एपेन्डिसाइटिस, प्यान्क्रियाटाइटिस लागयतका रोग हुन् कि भनी जाँच गर्न अल्ट्रासाउन्ड तथा सिटिस्क्यान गर्न सकिन्छ । मृगौलामा पिप जम्मा भएर सुन्निँदै गएमा त्यसबाट ज्यानलाई नै जोखिम हुने हुँदा फ्लुरोस्कोपी तथा अल्ट्रासाउन्डको प्रयोग गरेर मृगौलामा पाइप हालेर पिप बाहिर जम्मा पार्न सकिन्छ ।
आकस्मिक कक्षमा रेडियोलोजीको प्रयोग अत्यन्त बहुआयामिक छ । रेडियोलोजी समयसँगै विकसित हुँदै गइरहेको र नयाँ–नयाँ प्रविधि र कम्प्युटर प्रविधिले अनुसन्धान गर्न लाग्ने समय कम गरेको छ । तर नेपालको परिप्रेक्ष्यमा रेडियोलोजीको प्रयोग अत्यन्त सीमित छ । एक्स–रे र अल्ट्रासाउन्डको प्रयोग रोग अनुसन्धानका लागि देशभरि फैलिन थाले पनि सिटिस्क्यान, एमआरआई तथा निदानात्मक रेडियोलोजीको प्रयोग अझै सीमित छ । रोग पत्ता लगाउन तथा उपचार गर्न रेडियोलोजीको सहकार्य अन्य चिकित्सा विधासँग हुने गर्छ ।
रोग समयमै पहिचान गर्न आकस्मिक विभागमा रेडियोलोजी टोली रहनु अपरिहार्य छ । पाश्चात्य मुलुकहरूमा ठूलै फड्को मारिसकेको यो विधा नेपालमा समेत विस्तारित हुँदै गइरहेको र अझै फस्टाउन बाँकी छ । महँगा उपकरण, प्रविधि र यसमा प्रयोग हुने सामान तथा औषधीहरूले गर्दा रेडियोलोजीका जाँच महँगो हुने भएकाले सरकारले विभिन्न सरकारी निकायमा यस्ता उपकरण र सुविधाको सर्वसुलभतामा ध्यान दिनु जरुरी छ । तर औसत अस्पतालको बसाइ छोट्टिने, बेहोस पार्न नपर्ने र अन्य शल्यक्रियामा लाग्ने खर्च कम हुने हुँदा औसतमा विभिन्न इन्टरभेन्सन शल्यक्रिया समेत सस्तो हुन्छ ।
लोहनी र झा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा कार्यरत छन् ।
आकस्मिक उपचारमा रेडियोलोजी
आकस्मिक उपचारमा रेडियोलोजी
"सन्दर्भ : अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

