सेनेटरी प्याडको महिला स्वास्थ्य तथा सशक्तीकरणमा ठूलो भूमिका छ। हरेक महिलाको महिनावारीमा यस्को प्रयोग हुन्छ। तसर्थ, सेनेटरी प्याड सहजता र आत्मविश्वासका साथ महिलालाई रोजगार, पढाइ तथा यात्रा सजिलो पार्ने माध्यम बनेको छ। साथै महिनावारी व्यवस्थापनका लागि लोकप्रिय माध्यम बनेको छ। यद्यपि महिनावारी व्यवस्थापनका लागि कपडा, मेन्स्टुअल कप, टेम्पोन पनि बजारमा उपलब्ध छन्। महिलाले आफ्नो रोजाइ र सहजताका आधारमा महिनावारी व्यवस्थापनमा चाहिने सामग्रीको चयन गर्छन्। नेपालमा सेनेटरी प्याड लोकप्रिय छन्।
२०७५/०७६ मा सरकारले सेनेटरी प्याड उत्पादनमा लाग्ने कच्चा पदार्थमा भन्सार महसुललाई घटाएर ५ प्रतिशत बनाएपश्चात् स्वदेशी उद्योग थपिने क्रम बढेको छ। साथै २०७७/०७८ को बजेटबाट नयाँ उद्योगले पाँच वर्षसम्ममा कर छुटको व्यवस्था पाएदेखि सेनेटरी प्याड उत्पादन गर्ने उद्योगको स्थापना थप सहज बनेको छ। नेपालमा ३०–३५ सेनेटरी प्याड उत्पादन गर्ने उद्योग छन् । जुन माग धान्न पर्याप्त छन् । नेपाली उद्योगको उत्पादन क्षमता ७० करोड थान छ। माग भने ३० करोड थान छ। तर, पनि आयातीत प्याडले नै ५० प्रतिशत बजार ओगटेको छ।
नेपाल गुणस्तर तथा नापतौल विभागले सेनेटरी प्याडको गुणस्तर व्याख्या गरेर नेपाल गुणस्तर चिह्न नं. ५८७ पनि अध्यावधिक गरिसकेको छ। सेनेटरी प्याडको महत्त्व बुझेर सरकारले तीन वर्ष अगाडि सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख छात्रालाई निःशुल्क वितरणको योजना कार्यान्वयनमा ल्याइसकेको छ। सरकारले २०७६ मा सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि नै लागू गरेको छ। कार्यविधिमा ठूला उद्योग र आयातीत प्याडको मापदण्ड र स्थानीयस्तरमा उत्पादित सेनेटरी प्याडको न्यूनतम मापदण्ड छुट्टाछुट्टै लेखिएको छ।
नेपालको गुणस्तर चिह्न नं. ५८७ मा प्याडका हुनुपर्ने लम्बाइ, चौडाइ, सोस्ने क्षमता पीएच भ्यालु, सूक्ष्मजीवी कीटाणुहरूको उपस्थिति आदिबारे आवश्यक मापदण्ड उल्लेख छ। स्थानीयस्तरमा उत्पादित सेनेटरी प्याडमा सेतो रङको सुती र मलमलको कपडा प्रयोग गर्नुपर्ने, कपडाको लम्बाइ कम्तीमा दुई हात र चौडाइ आधा हात हुनुपर्छ। प्याडको गुणस्तर सुनिश्चितताका लागि ९५ प्रतिशत सुती कपडा प्रयोग गर्नैपर्छ। यो कार्यक्रमले गर्दा सेनेटरी प्याडको पहुँच पनि व्यापक तरिकाले बढिरहेको छ भने स्वदेशी उद्योगका लागि उत्पादन क्षमताको प्रयोग बढाउने अवसर पनि प्रदान गरेको छ।
सेनेटरी प्याडको उत्पादनमा लाग्ने कच्चा पदार्थ भने आयातमै निर्भर रहेको अवस्था छ। कच्चापदार्थ नन्ओभन, ग्लु, कास्ट पीई फिल्म तथा रिलिज पेपर भारत तथा चीनबाट आयात हुने गरेको छ। फ्लफ पल्प र सुपर अवजर्वेन्ट पोलिमर भने अमेरिका तथा जापानबाट ल्याइन्छ। यीमध्ये नन्ओभन, कास्ट पीई फिल्म तथा रिलिज पेपर नेपालमै उत्पादन हुने सम्भावना छ। तर यी उत्पादन नेपाली सेनेटरी प्याड उद्योगले पर्याप्त मात्रामा खपत गर्न नसक्ने हुँदा यो परिस्थिति अनुकूल भएपछि ती कच्चापदार्थको उत्पादन पनि नेपालमै गर्न सकिनेछ।
सेनेटरी प्याड ‘युज एन्ड थ्रो’को अवधारणाले बनेको उत्पादन हो। तर हालको चुनौती भने वातावरणमैत्री सेनेटरी प्याड बनाउनु नै रहेको छ। विश्व बजारमा समेत बायोडिग्रिडेबल सेनेटरी प्याडको बहस चलिरहेको छ भने नेपालमा पनि जैविक प्याड बनाउन थालिएको छ। अर्को ठूलो चुनौती भने आयातीत उत्पादनबाट रहेको छ। पर्याप्त उत्पादन क्षमता भइसकेकाले अर्बांैको आयात प्रतिस्थापन गर्ने ठूलो अवसर पनि स्वदेशी उद्योग सामु छ। आयातीत उत्पादन प्रायः बहुराष्ट्रिय कम्पनीका चर्चित ब्रान्ड रहेका छन्। यी ब्रान्ड नेपालमा पहिलादेखि नै लोकप्रिय छन्। जबकि गुणस्तरका हिसाबले नेपाली ब्रान्डका उत्पादन पनि कम नभएको र नेपाली उत्पादन निकै सस्तो रहेको छ। आयात हुने प्याड केजी गोटामा समेत आउने गर्छ। २०७७/०७८ मा १.१७ अर्बको आयातमध्ये ३.५८ करोड पिस र १७३८ टन सेनेटरी प्याड आयात भएको छ।
चालू आवको ८ महिनामा ९.९० करोड पिस आयात भएको छ। किलोमा आयात हुने प्याड पिसमा बिक्री हुन्छ। विदेशका उद्योगमा बिग्रेको, म्याद सकेको तथा पुरानो नबिक्ने ती प्याड किलोमै बिक्री हुने विभिन्न वेभसाइटले अफर दिएको पाइन्छ। सेनेटरी प्याड संवेदनशील सामग्री हो र सो को गुणस्तर जाँच न भन्सारले माग्छ, न स्वास्थ्य विभागले। जोखिम जति उपभोक्ता माथि थुपारिएको छ। नेपाल भित्रिने पहिलो नाकामा नै प्याडको गुणस्तर हेरिनु पर्ने हो। तर भन्सार कार्यालयले गुणस्तर खुल्ने कागजपत्र माग्ने नियम नै छैन। ल्याबमा लगेर गुणस्तर परीक्षण गर्नु त टाढाको कुरा। अधिकांश आयातकर्तासँग प्याडको गुणस्तर खुल्ने कागजपत्र प्रमाणित गर्ने कागजपत्र पनि हुँदैनन्। प्याडको गुणस्तर परीक्षण गर्न ल्याब छैनन्। खाद्यान्न, कृषि र जिउँदो पशुपन्छीको मात्र परीक्षण हुन्छ। आयातीत प्याडको गुणस्तर परीक्षण नहँुदा महिलाको स्वास्थ्य जोखिममा छ। गुणस्तरहीन प्याड परेको अवस्थामा महिनावारीका बेलामा बग्ने रगत योनी वरिपरि लाग्ने र संक्रमण हुन्छ। गुणस्तरहीन प्याडको प्रयोगले चिलाउने र सेतो पानी बग्ने समस्या हुन्छ, दीर्घकालसम्म संक्रमण रहिरह्यो भने पाठेघरको मुखमा घाउ हुन सक्छ।
आयातीत उत्पादनसँग स्वदेशी उत्पादनले असमानताको लडाइँ लड्नु परिरहेको अवस्था छ। धेरै आयातीत उत्पादनहरूमा एमआरपीसमेत उल्लेख गरिएको हुँदैन। आयातकर्ताको नाम, ठेगाना, आदि केही लेखेको पनि हुँदैन। कुनै समस्या आए गुनासो गर्नु परेमा जाने ठाउँ पनि छैन। एमआरपी लेखेकामा पनि धेरैजसो भारतीय रुपैयाँमा लेखिएको हुन्छ। यसलाई प्रायः बिक्रेताले आफूखुसी दुई गुणा गरेर उपभोक्तालाई बेच्ने गर्छन्। मनोमानी हिसाबले दाम तोक्दा उपभोक्तालाई ठूलो मार पर्न गएको अवस्था छ। राज्यले योसम्बन्धी स्पष्ट नीति ल्याउन आवश्यक छ। उपभोक्ता हित संरक्षण गर्नुपर्ने दायित्व सरकारको नै हो। सेनेटरी प्याडमा मात्रै हैन, प्रायःजसो आयातीत उत्पादनमा यस्तै समस्या रहेको छ। नेपाली उत्पादनमा यी जानकारी स्पष्ट रूपमा लेखिन्छ, भने आयातीत उत्पादनलाई यो छुट दिनुपर्ने कारण राज्यको ध्यान नपुगेकैले हो त ?
गत केही महिनादेखि सेनेटरी प्याडमा कर हटाउने माग पनि बढेको छ। यो कर मूलतः पैठारी भन्सार महसुल तथा मूल्य अभिवृद्धि करसम्बन्धी रहेको छ। कर किन हटाउनेभन्दा सेनेटरी प्याड आवश्यक वस्तु भएकाले यसको करको मारमा महिला परेका छन्, भन्ने दाबी आइरहेको छ। यसलाई रातो कर पनि भन्ने गरिएको छ। सेनेटरी प्याड उत्पादकले यो विषयमा कच्चा पदार्थमा आयात गर्दा पैठारी भन्सार महसुल तथा मूल्य अभिवृद्ध कर दुवै लाग्ने तथा उद्योग चलाउन प्रयोग हुने प्रायः जस्तै वस्तुमा मूल्य अभिवृद्धि कर लाग्ने भएकाले पनि तयारी वस्तुमा मूल्य अभिवृद्धि कर हटाउँदा उद्योगको लागत खर्च बढ्ने र उद्योग नै धराशायी हुने भन्ने दाबी पेस गरेका छन्।
साथै तयारी वस्तु आयातमा पैठारी भन्सार महसुल हटाउँदा आयातीत वस्तुको लागत मूल्य कम भई आयात सस्तिन्छ र झनै बढ्न जान्छ। भारत सरकारले सेनेटरी प्याडमा यस्तै कर छुट दिएको थियो। यसले उपभोक्तालाई केही फाइदा नभएको बरु उल्टै त्यहाँको उद्योगलाई सास्ती परेको देखिएको छ। महिलाले सहज र सुलभ रूपमा महिनावारी व्यवस्थापन गर्न पाउनु पर्छ। प्रयोग भइसकेको सेनेटरी प्याडको व्यवस्थापन अर्को ठूलो चनौती हो। सेनेटरी प्याड प्रयोग भइसकेपछि बायोहाजार्ड वेस्टमा परिणत हुन्छ। अस्पतालबाट निस्केका चिकित्सकीय फोहोरझै प्रयोग भइसकेको सेनेटरी प्याडको पनि उचित व्यवस्थापन नभए यसले वातावरणलाई संक्रमित बनाई सबै जीवजन्तुलाई प्रतिकूल असर पार्छ।
यी सबै चुनौतीहरूका बाबजुद नेपाल सेनेटरी प्याड जस्तो अहम् उत्पादनमा आत्मनिर्भर रहेको कुराले ठूलो महत्त्व बोकेको छ। सेनेटरी प्याडमा आत्मनिर्भरता तर्फको पाइला मुख्यतः निजी क्षेत्रको सक्रियतामा अघि बढ्दैछ। ती उद्योगमा ४–५ अर्बको लगानी पनि भएको छ। नेपाल सेनेटरी प्याड उत्पादकको भनाइमा सेनेटरी प्याड उद्योगले पाँच हजार मानिसलाई रोजगारी दिएका छन्। जसमा अधिकांश महिला नै छन्। प्रत्यक्ष/अप्रत्यक्ष कर र कर्मचारीले तिर्ने आयकरले देशको अर्थतन्त्रमा खेल्ने भूमिका महत्त्वपूर्ण छ। सेनेटरी प्याडको बजार वार्षिक ३० प्रतिशतले वृद्धि भइरहेको प्रक्षेपण छ। यसले आउने दिनमा यस क्षेत्रमा लगानी र रोजगारीको अवसर अझै बढ्ने देखिन्छ। जनस्वास्थ्यसँग जोडिएको सेनेटरी प्याड उत्पादनले राष्ट्रिय स्वाधीनताको मात्रात्मक र गुणात्मक दुवै प्रकारको महत्त्व हुन्छ। यस्तो अरू उत्पादनमा पनि देशको परनिर्भरता घटे अर्थतन्त्रको अहिलेको जटिलता र संकट समाधान हुनाका साथै जनपलायनताको क्रम पनि रोकिनेछ। (सारडा ज्यास्मिन हाइजिन प्रोडक्सन प्रालिका प्रबन्ध निर्देशक हुन्।)

