विश्व क्षयरोग दिवस २०७८ को उपलक्ष्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सन्देश
गरिव, अल्पविकासित र विकासशील राष्ट्रका लागि क्षयरोग जनस्वास्थ्यको एक प्रमुख समस्याको रुपमा हालसम्म पनि रही रहेको छ । नेपाल सरकारले यस रोगलाई अन्त्य गर्न उच्च प्राथमिकतामा राखी एकीकृत स्वास्थ्य सेवाको माध्मबाट समुदायस्तर सम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
विश्व स्वास्थ्य संगठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्र संघको उच्चस्तरीय बैठकले त्यस रणनीतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकोमा नेपाल सरकारले समेत त्यसमा थप प्रतिवद्धता जनाई सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याइसकेको छ । यसलाई प्रभावकारी बनाइ प्रत्येक नागरिकको पहुँचमा पु¥याउन हामी सबैले आ–आफ्नो ठाउँ तथा क्षमता अनुसार कार्य गर्न आवश्यक रहेको छ । त्यसैले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विश्व भरी ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं” भन्ने नाराका साथ क्षयरोग दिवस मनाईरहेका छ । यस सन्दर्भमा क्षयरोग निवारणका लागि नीति निर्माता देखि बिरामी तथा यसको निवारणमा आ आफ्नो समुदाय स्तरसम्म सबैले सक्दो सहयोग गरी दिनुहुन हार्दिक अनुरोध गर्दछु ।
क्षयरोग स्वास्थ्य समस्या मात्र नभई सामाजिक समस्या समेत हो । त्यसैले यसलाई सम्बोधन गर्न सरकारी, निजी र गैह्रसरकारी निकायहरुसंगको समन्वय र सहकार्यबाट मात्र सम्भव हुने भएकोले नेपाल सरकारले यसलाई प्राथमिकतामा राखी कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लगिने सरकारको लक्ष्य छ । क्षयरोगका बिरामीलाई सामाजिक सुरक्षा कार्यक्रममा समाहित गरी क्षयरोगबाट हुने अधिक आर्थिक भार हुन नदिने व्यवस्था गरिने छ । यसका लागि हाल औषधी प्रतिरोधी क्षयरोगका बिरामीलाई दिइरहेको निःशुल्क स्वास्थ्य बीमाको सुविधालाई थप विस्तार गरी आगामी आर्थिक वर्ष देखि सबै प्रकारका क्षयरोगका बिरामीहरुलाई उपचार अवधिभरका लागि निःशुल्क स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराइने छ ।
राष्ट्रिय क्षयरोग प्रिभालेन्स सर्वेक्षणको तथ्यले देखाए अनुसार अझै पनि क्षयरोगका धेरै बिरामीहरु उपचारको दायरामा आउन नसकेको तथ्यलाई हृदयङ्गम गरी स्थानीय सरकारकै स्वामित्व र नेतृत्वमा एकद्वार प्रणाली मार्फत क्षयरोगमुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई क्रमशः विस्तार गर्दै आगामी ४ वर्षभित्र ७ सय ५३ वटै स्थानीय तहमा कार्यान्वयनमा ल्याइने छ । यसका लागि आवश्यक पर्ने थप नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई आवश्यक निर्देशन तथा सहयोग गर्नेछ । क्षयरोग निवारण कार्यक्रमलाई थप प्रभावकारी बनाई रोग निवारण गर्ने उदेश्यले गुणस्तरीय क्षयरोग सेवामा बृद्धि गर्ने, बिरामी र तिनका परिवार एवं समुदायलाई सशक्तिकरण गर्ने काममा राष्ट्रिय क्षयरोग कार्यक्रमले जोड दिई रहेको छ । यस कार्यक्रमसँग प्रत्यक्ष वा परोक्ष सरोकार राख्नु हुने सबै व्यक्ति, संस्था एवं समुदायलाई धन्यवाद दिदै आगामी दिनमा पनि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पु¥याउनुहुनेछ भन्ने आशा एवं विश्वास लिएको छु ।
धन्यवाद

