ती महिलाहरू समाजका श्रद्धेय पात्र हुन्, जसले पुरुषभन्दा दुई कदम अघि बढेर मिर्गौला दान गरेका छन् । तथ्यांक स्वयम्ले मुटु छुन्छ— यो संवेदनशील अंग दान गर्नेमा दुईतिहाइभन्दा बढी महिला छन्, र पाउने २२ प्रतिशत मात्र । निश्चय पनि यो महिलामा रहेको असीम संवेदनाको एउटा सूचक हो, र मानवता तथा करुणाको अनुपम उदाहरण पनि । आफ्नो अंगमार्फत पारिवारिक सदस्य वा आफन्तलाई अमूल्य जीवन दिने यो सत्कार्य नमनयोग्य छ ।
देशभर अहिलेसम्म करिब १७ सय मिर्गौला प्रत्यारोपण भएका छन्, जसमध्ये १२ सयजतिका दाता महिला छन् । साढे ३ सय महिला मात्र ग्रहणकर्ता छन् । यसको अर्थ, महिलाले पुरुषलाई मात्र होइन, महिलाकै लागि पनि यो अंग दान गरेका छन् । महिला संवेदनाको पाटो छाडेर अरू आयामबाट गहिरिएर हेर्दा यो तथ्यांक हाम्रो समाजको एउटा दुःखदायी चित्र हो । लैंगिक विषमताको एउटा छुट्टै अध्याय हो ।
मिर्गौलारोगीको लैंगिक अनुपात पनि यही रूपमा हुन्थ्यो भने पक्कै यो सम्पूर्ण समाजले उत्सव मनाउने विषय बन्थ्यो । तर अवस्था त्यस्तो होइन । रोगले पुरुष र महिला छुट्याउँदैन, छुट्याएको पनि छैन । तर, पुरुषलाई मिर्गौला दिन आमा, श्रीमती, दिदीबहिनी र फुपूसमेत अघि सर्छन् । महिलाको मिर्गौला प्रत्यारोपण गर्दा अघि सर्ने बाबु, दाजुभाइ, श्रीमान् र छोरा निकै कम छन् । परिणामतः महिलाको प्रत्यारोपण नै रोकिने गरेको छ; पुरुष मिर्गौलामार्फत महिलाले नयाँ जीवन पाउन सकस छ ।
महिला पनि सहजै ग्रहणकर्ता बन्न मिर्गौला लेनदेनको यो लैंगिक असन्तुलन हटाउनुपर्छ । यसका निम्ति आफ्नो परिवारको सदस्य वा आफन्तको जीवन बचाउन महिलासँगसँगै पुरुष पनि अघि सर्नुपर्छ । महिलाले मिर्गौला दान गरेका उदाहरणीय कथाबाट सम्पूर्ण समाजले उत्प्रेरणा लिनुपर्छ, खास गरी मिर्गौला प्रत्यारोपण गर्नुपर्ने समस्यासित जुधिरहेका महिलाका घरपरिवारका पुरुष सदस्यले यो संवेदना सिक्नुपर्छ ।
यो असन्तुलित तथ्यांकका पछाडि महिला संवेदना आफ्नो ठाउँमा छ, तर आर्थिक लगायतका मनोसामाजिक कारणहरू पनि उत्तिकै जबर्जस्त छन् । छोरीको भन्दा छोराको जीवन ‘खास’ ठानेर हुन सक्छ, आमा पनि छोरीको तुलनामा छोरालाई मिर्गौला दिन अघि सर्छन् । दाजुभाइको दाँजोमा दिदीबहिनीहरू बढी दान गर्छन् । यसको देखिने कारण हो— समाज र परिवारले पुरुषलाई घरमूली ठानेर बढी महत्त्व दिनु र बचाउन आवश्यक ठान्नु । यही कारण, रोगी महिलाले दाता नपाउने समस्याअघि नै अनेक कठिनाइ भोग्नुपर्छ; प्रत्यारोपण वा उपचारका लागि अस्पतालसम्म उनीहरूको पहुँच नै तुलनात्मक रूपले कमजोर छ ।
समाजमा पुरुषलाई घरव्यवहार चलाउने र कमाउने व्यक्तिका रूपमा लिइनाले पनि उनीहरूले दाता पाइरहेका छन् । र, अंग दान गरे क्षमता घट्दै जाने धारणाका कारण पुरुषहरू आफैं भने यसका निम्ति पछि हट्छन् । अतः यो असन्तुलनलाई घटाउन एकातिर घरपरिवारको पितृसत्तात्मक सोचमा परिवर्तन ल्याउनुपर्छ भने अर्कातिर महिलालाई आत्मनिर्भर बनाउने उपाय सोच्नुपर्छ । यसो भएमा आर्थिक दायित्वको बोझ सम्झेर पुरुष सदस्य अंग दान गर्नबाट हच्किने अवस्थामा कमी आउन सक्छ । यसमा घरपरिवारका साथै समाज र राज्यको सक्रिय भूमिकाको खाँचो छ ।
मिर्गौला प्रत्यारोपणको लैंगिक पक्षका विभिन्न आयाममाथि सरकारले गहिरो अध्ययन नै गर्नुपर्छ, यसका निम्ति उसले विश्वविद्यालय लगायतका प्राज्ञिक संस्थाहरूलाई उत्प्रेरित गर्न सक्छ । यसबाट पुरुषहरू मिर्गौला दान गर्न अघि नसर्नुका जेजति कारणहरू पत्ता लाग्छन्, तिनमा सुधारका उपायहरू पहिल्याउनुपर्छ । प्रत्यारोपणका लागि मिर्गौला नपाएर रोगसित संघर्षरत तमाम महिलाहरूलाई नयाँ जीवनको अवसर प्रदान गर्न पुरुषहरू अघि सर्ने वातावरण बनाउनुपर्छ ।
अर्को, मस्तिष्क मृत्युपछि मिर्गौला लगायत अंग प्राप्त गर्ने प्रक्रियालाई सहज र व्यापक बनाउन सकेमा पनि पारिवारिक सदस्यले नै अंग दिनुपर्ने बाध्यतामा कमी आउँछ र यसबाट स्वाभाविक रूपमा धेरै बिरामीको जीवन जोगिन्छ । कुनै जीवित व्यक्तिले स्वेच्छाले मृत्युपछि आफ्नो अंगदान गर्ने मन्जुरी दिन सक्छ, वा मस्तिष्क मृत्यु भएको व्यक्तिका आफन्तले मन्जुरी दिएमा पनि तिनको मिर्गौला उपयुक्त बिरामीलाई प्रत्यारोपण गर्न सकिन्छ । कुनै व्यक्तिले मृत्युअघि नै आफ्नो अंगदान नगर्ने लिखित इच्छा व्यक्त गरेमा बाहेक मस्तिष्क मृत्यु भएकाको अंगबाट अरूलाई बचाउन सकिन्छ । त्यसैले सकारले यस कार्यलाई व्यापक बनाउन सकेमा न महिलाले बाध्य भएर मिर्गौला दान गर्नुपर्छ न मिर्गौला ग्रहण गर्नबाट महिला वञ्चित नै हुनुपर्छ ।
मिर्गौला प्रत्यारोपणबाट रोगीको जीवन बच्नु चिकित्सा विज्ञानको एउटा वरदान हो । यसको लाभ हरेक लिंग, समुदाय र वर्गसमक्ष पुर्याउने वातावरण तयार पार्नु राज्यको दायित्व हो । जनचेतना जगाएर हुन्छ कि सम्बन्धित परिवारको आर्थिक पाटोमा हेरविचार गरेर, या मस्तिष्क मृत्युपछिको मिर्गौला दान र प्रत्यारोपणलाई व्यापक बनाएर सरकारले रोगीको जीवन बचाउन हर उपाय अपनाउनुपर्छ । साभार ः कान्तिपुर
प्रकाशित : फाल्गुन २७, २०७८

