काठमाडौँ,कान्तिपुर दैनिकका पूर्वप्रधानसम्पादक सधीर शर्माले नेपाली पत्रकारिता क्षेत्रले प्रविधिको विकाससँगै विकसित भएको परिस्थितिअनुसार चल्नका लागि आत्ममूल्यांकन गरेर जानुपर्ने बेला आएको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ अन्तर्गत ‘कलम र शक्ति : नेपाली लोकतन्त्र र पत्रकारिताका तीन दशक’ विषयक सत्रमा शर्माले पत्रकारिता क्षेत्रमा परिवर्तित अवस्था अंगाल्न आत्ममूल्यांकन गर्नुपर्ने बताएका हुन् ।
राज्य, राजनीतिक दल, प्रतिपक्ष र समाजमा देखा परेका विषयहरूलाई गम्भीरतापूर्वक हेरेर समसामयिक पत्रकारिता गर्नुपर्ने शर्माको भनाइ थियो ।
पत्रकारिताको गुणात्मक पक्षमा अहिले कमजोर भइरहेका बेला सचेत बनेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
‘यसअघि लडाइँ सबै जित्नुको पछाडि हाम्रो कामले मात्रै गरेको थिएन, आम सहमति, जनताको तहबाट सोलिडारिटी, विभिन्न संघसंस्था, पत्रकारिताका संघसंस्थाहरूको सोलिडारिटी र मिडिया समुदायको सहयोगले त्यो काम भएका थिए । जहिले पनि यो खालको कुराहरूमा स्ट्यान्ड लिँदा जनताले साथ दिएको कुरा थियो र सत्तासँग लड्नलाई सजिलो भएको थियो, त्यतिबेला एउटा मात्रै कित्ता थियो, अहिले धेरै कित्ता भइसके,’ आगामी पत्रकारिता कस्तो हुनुपर्ने भन्ने विषयमा शर्माले भने, ‘कताकता जनता पनि विभाजित भएजस्तो देखिन्छ, हामी मिडिया पनि कोसँग लड्ने ? को के हो ? कुन सत्ता हो ? कुन सडक हो ? सत्ता र सडकको बीचमा ब्लर भएजस्तो देखिन्छ, यसले गर्दाखेरि यो विगतबाट सिकेर अहिलेको टर्मोइल छ । गुणात्मक हिसाबले हामी कमजोर भइरहेका छौं, हामी सबैले आत्ममूल्यांकन गर्ने बेला आयोजस्तो छ ।’
शर्माले तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको शासनसत्ता हातमा लिएपछि राजनीतिक दलहरूले दरबारलाई नै बिस्थापन गरेको तर त्यसरी सत्तामा आएका दलहरूले पनि दरबारको प्रवृत्ति भने नछोडेको बताए ।
‘दरबारलाई बिस्थापित गरेर राजनीतिक दलहरूले सत्ता सम्हाले, त्योपछि पनि त्यो प्रवृति पनि निरन्तर रह्यो । सरकारहरूले त्यस्तै व्यवहार गरे, त्यो प्रवृत्ति परिवर्तन नहुँदो रहेछ । त्यसको निरन्तरतामा दुईजना पात्र आएका थिए लोकमानसि्ह कार्की र गोपाल पराजुली । कार्कीलाई पार्टीले नै उकासेर अख्तियार प्रमुख बनाएका हुन, उनी हिजोको राजाको शासनको दाहिने हातका रूपमा काम गरेका थिए । उनलाई तोकिएका जति कार्यअधिकार बाहिर गएर काम गरे । गोपाल पराजुलीले न्यायालयको प्रमुखको रूपमा भूमिका निर्वाह गर्ने भन्दा व्यक्तिगत प्रतिशोध साँध्ने काम गरे,’ उनले भने ।
त्यतिबेला पत्रकारिताले आफ्नो काम गर्दा कार्की र पराजुलीजस्ता राज्यका महत्त्वपूर्ण अंगको नेतृत्व सम्हालेकाहरू प्रतिशोध साँध्न आएको उनको भनाइ थियो ।
नेपाली मिडियाले पछिल्लो समय वास्तविकता बुझ्नबाट चुकिरहेको हो कि भन्ने आफूलाई लागेको शर्माको भनाइ थियो ।
‘हामी रियालिटी बुझ्न अलिकति चुकिरहेका छौं कि नेपाली मिडिया भन्ने पनि लाग्छ । यथार्थ के हो भन्ने कुरालाई बुझ्यौं भने सुध्रिएर, अहिलेको परिस्थितिसँग जुधेर अझै खारिएर अगाडि जाने बाटो खुल्छ जस्तो लाग्छ,’ उनले भने । सामाजिक संजालको लहर आउँदा सञ्चारमाध्यमका पाठक र स्रोता/दर्शक पनि सामाजिक संजालबाटै आइरहेको शर्माको भनाइ थियो । त्यसका लागि सञ्चारमाध्यमका व्यवस्थापक र पत्रकारले आफूलाई समसामयिक रूपमा परिवर्तन गर्नुपर्नेमा त्यसो गर्न नसकिएको हो कि भन्ने लागेको उनले बताए ।
मुलुकमा सबैखालका संस्थापनविरुद्ध स्वर उठिरहेको बेला पत्रकारिताको संस्थापनविरुद्ध पनि आवाज उठेको हो कि भन्ने आफूलाई लागेको शर्माको भनाइ थियो । ‘कुन सत्ता हो र कुन सडक हो भन्ने छुट्याउन सक्दैनौं होला । सबैखालको संस्थापनविरुद्ध स्वर उठिरहेका छन् । यसको सही पक्ष कसरी लिने भन्ने चुनौतीपूर्ण बेला आएको छ,’ उनले भने । पत्रकारितामा नयाँ पुस्ताले राम्रो काम गरिरहेको पनि उनले बताए ।

