प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्। बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले ७२ विभिन्न बुँदामा राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।
हेर्नुहोस् सम्बोधनको पूर्ण पाठ
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन
१४ जेठ २०७८
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
१. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको बताएको थिएँ। सङ्क्रमणको साङ्लो चुँडाउन निषेध आदेशको पालना गर्न र महामारी नियन्त्रणका लागि सरकारले चालेका कदममा साथ दिन आग्रह गरेको थिएँ।
२. त्यस यताका पच्चीस दिन हाम्रा लागि निकै कष्टकर रहे। यस अवधिमा थप दुई लाख व्यक्ति सङ्क्रमित हुनुभयो। तीन हजारभन्दा बढीले ज्यान गुमाउनु भयो। अक्सिजन र शय्या व्यवस्थापनका लागि यो समय निकै चुनौतीपूर्ण रह्यो। लिक्विड अक्सिजन आयातमा समस्या पैदा भयो। अक्सिजन सिलिण्डरको अभाव खट्कियो।
३. समाधानका लागि हामीले सम्पूर्ण शक्ति केन्द्रित गर्यौं। त्यसले गर्दा अहिले स्थितिमा सुधार आएको छ। भारतबाट लिक्विड अक्सिजनको नियमित र थप मात्रा आपूर्ति हुन थालेको छ। अन्य उद्योगमा रहेका हजारौं अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पतालहरूमा पठाइएको छ। अक्सिजन प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ। अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छुट दिने व्यवस्था गरिएको छ। नागरिकको जीवनरक्षाका लागि विदेशबाट एयरलिफ्ट गरेर समेत सिलिण्डर ल्याइएको छ। अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्न पर्याप्त रकम पठाइएको छ। मित्रराष्ट्रहरूको सहयोगमा उल्लेख्य सङ्ख्यामा भेण्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री भित्रिएका छन्।
४. कोभिडविरुद्धको हाम्रो लडार्इँमा महत्वपूर्ण सहयोग गर्ने भारत, चीन र यसका सिचुवान तथा तिब्बत प्रान्तीय सरकारहरू, अमेरिका, स्पेन, बेलायत, जापान, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड, जर्मनी, थाइल्याण्ड, सिङ्गापुर, न्यूजिल्याण्ड, फिनल्याण्ड लगायत मित्र राष्ट्रहरूप्रति हामी आभारी छौं। चिनियाँ रेडक्रस, तेमासेक फाउण्डेशन सिङ्गापुर, डाइरेक्ट रिलिफ अमेरिका, रोयल थाई मोनास्ट्री लगायत परोपकारी संस्थाबाट पनि सहयोग प्राप्त भएको छ। आफ्नो गाँस कटाएर अक्सिजन सिलिण्डर पठाउने खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्न चाहन्छु । गैरआवासीय नेपाली सङ्घ र देशका उद्यमी, व्यवसायी र समाजसेवी लगायत सबै सहयोगीहरू धन्यवादका पात्र हुनुहुन्छ।
५. कोभिड १९ जस्तो ठूलो महामारीको सामना गर्न एकीकृत, समन्वयात्मक र “समग्र राष्ट्र” रणनीति आवश्यक पर्दछ। यसै खाँचोलाई पूर्ति गर्न “कोभिड सङ्कट व्यवस्थापन अध्यादेश २०७८” जारी गरिएको छ। यसबाट राज्यको सम्पूर्ण शक्ति कोभिड विरुद्ध परिचालित गर्ने बाटो सहज भएको छ। अध्यादेशको व्यवस्था बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति र यस मातहत चौबिसै घण्टा खटिने गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्थापना भएको छ। वीर अस्पताललाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल तोकिएको छ। यहाँबाट कोभिड बिरामीहरूले स्क्रिनिङ, डायग्नोस्टिक, उपचार र अन्य सेवा पाउनुहुनेछ। वीर अस्पतालले जुनसुकै अस्पताल, संस्थान र मेडिकल कलेजहरूलाई कोभिडको उपचारमा समन्वयात्मक ढङ्गले परिचालन गर्नेछ। आवश्यकता अनुसार स्वास्थ्य सङ्कटकाल लगाउन सकिने व्यवस्था गरिएको छ।
६. कोभिड उपचारका लागि १५७ अस्पतालहरू सूचीकृत भएका छन्। कोभिडको नि:शुल्क उपचारका लागि ४५ निजी अस्पतालसँग सम्झौता गरिएको छ। महामारी सुरु भएको एक वर्षको अवधिमा भेण्टिलेटरको सङ्ख्या ३२७ बाट ९०४, आइसियु बेड २६०० बाट ३००० पुर्याइएको छ। अस्पतालमा २८५३ हाइडिपेन्डेन्सी युनिट (एचडियु) थप भएका छन्। ९०० अक्सिजन कन्सन्ट्रेटर थपिएका छन्। छिटै १८० भेन्टिलेटर, ६३० आइसियु, १४०० एचडियु र १९ अक्सिजन प्लान्ट थपिनेछन्।
७. कोभिड महामारीमाथि निर्णायक विजयका लागि खोप अनिवार्य छ। हालसम्म हामीलाई अनुदानबाट प्राप्त ३२ लाख २८ हजार डोज र खरिदबाट उपलब्ध १० लाख डोजबाट खोप अभियान अगाडि बढाएका छौं। पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु। थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरी छाडने विश्वास दिलाउन चाहन्छु।
८. कोरोना महामारीको आक्रमणबाट विकसित र विकासशील, सम्पन्न र साधनस्रोत विहीन, ठूला र साना कुनै पनि देश बँच्न सकेका छैनन्। तर विकासशील देशहरूमाथि यसको मार बढी परेको छ। दिगो विकास लक्ष्य हासिल गर्ने उनीहरूको प्रयासलाई महामारीले झनै चुनौती खडा गरेको छ। खोपलगायत अत्यावश्यक जीवनरक्षक औषधीहरूको अभाव हुँदै जाँदा विकासशील देशहरू झनै पछाडि पर्नेछन्। आज खोपको असमान वितरण विश्वव्यापी बहसको विषय बनेको छ। खोप उत्पादक कम्पनीहरूले प्रतिबद्धता अनुसारको खोप उपलब्ध नगराउँदा विकासशील देशहरूका लागि खडा गरिएको कोभ्याक्स एलायन्सको समग्र योजना नै प्रभावित भएको छ। त्यसैले महामारीविरुद्धको विश्वव्यापी सहकार्यमा म पुनः जोड दिन चाहन्छु। जी-७ र जी-२० लगायत विकसित मुलुकहरूले अन्तर्राष्ट्रिय उत्तरदायित्व वहन गर्न आवश्यक छ। सबै सुरक्षित नहुँदासम्म हामी कोही पनि सुरक्षित हुन सक्दैनौं भन्ने यथार्थलाई मनन गर्न सबैसँग आग्रह गर्न चाहन्छु।
९. यस लडाइँको अग्रमोर्चामा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी चालक तथा सफाइकर्मी र निजामति सेवाका राष्ट्रसेवकहरू हुनुहुन्छ। तीनै तहमा निर्वाचित जनप्रतिनिधिहरू र देशभरि नै स्वयंसेवीहरू परिचालित हुनुहुन्छ। आफ्नो निजी जीवन र पारिवारिक जिम्मेवारीलाई समेत पञ्छाएर सङ्क्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने उहाँहरू हामी सबैका आदर र सम्मानका हकदार हुनुहुन्छ। महामारीविरुद्ध लडिरहेका जनशक्तिको सुरक्षामा सरकारले कुनै कसर बाँकी राख्दैन। अग्रपंक्तिमा डटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य तहका कामदार तथा राष्ट्रसेवक कर्मचारीमाथि कुनै पनि बहानामा हुने भौतिक वा कुनै पनि प्रकारको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि भएको आक्रमण सरह नै दण्डनीय मानिनेछ।
१०. अस्पतालमा उपचार गराइरहनु भएका र घरमै आइसोलेसनमा बसी स्वास्थ्यलाभ गरिरहनुभएका १ लाख १६ हजार ४७६ दिदीबहिनी तथा दाजुभाइहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। ६ हजार ९५१ नागरिकहरूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।
११. कोभिडसँग मुकाबिला गर्न “जीवन पहिला” हाम्रो नीति हो। जनताको जीवन रक्षा सरकारको प्रमुख दायित्व हो। हामीलाई थाहै छ, महामारी नियन्त्रणको पहिलो र प्रभावकारी उपाय भनेको यसको रोकथाम हो, महामारी फैलिन नदिनु हो। यसका लागि जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्न पुनः सबै दिदीबहिनी तथा दाजुभाइहरूमा आग्रह गर्दछु। अहिले लागू गरिएका निषेध र अन्य उपायहरू जनताको जीवन रक्षाकै लागि हुन्। जीविका अर्थात् अर्थतन्त्रको रक्षाको दायित्वप्रति पनि सरकार उत्तिकै सचेत रहेको विश्वास दिलाउन चाहन्छु।
३२. तीन वर्षको अवधिमा नेपालीको औसत प्रतिव्यक्ति आय २५ प्रतिशतले वृद्धि भएको छ। मानव विकास विकास सूचकाङ्कमा ५ प्रतिशत बिन्दुको सुधार भएको छ। कोभिड-१९ को महामारीका बीच पनि निरपेक्ष गरिबी उल्लेख्य वृद्धि हुन पाएको छैन।
३९. हरेक नेपाली व्यवस्थित ओत भएको सुरक्षित घरमा बस्न पाउनुपर्छ भन्ने सरकारको प्रतिबद्धता अनुरूप तीन वर्षको अवधिमा १३ हजारभन्दा बढी जनता आवास निर्माण भएका छन्। ७ हजार फुस तथा खरका छाना जस्तापाताले प्रतिस्थापन गरिएका छन्। कसैले पनि सडकमा जीवन गुजारा गर्न नपरोस् भन्ने उद्देश्यले सडक मानवरहित सहर र वस्तीको अवधारणा कार्यान्वयनमा ल्याइएको छ। टोर्नाडोबाट घरबारविहीन बन्न पुगेका नागरिकहरूका लागि छोटो समयमै ८६९ सुरक्षित घर निर्माण गरेर हस्तान्तरण गरिएको छ। बाढी, पहिरो, डुबान, आगलागी, चट्याङ आदिबाट घरबारविहीन हुन पुगेका नागरिकलाई सुरक्षित आवास उपलव्ध गराउने प्रक्रिया सुरु गरिएको छ।
४२. तीन वर्षको अवधिमा ६ वर्षभन्दा माथि उमेर समूहको साक्षरता दर ७ प्रतिशत बिन्दुले बढेको छ। सरदर भर्नादर ८६ प्रतिशत पुगेको छ। कुल ४ सय ८४ प्राविधिक धारका विद्यालय स्थापना भएका छन् भने ५ सय ७२ सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा उपलब्ध भएको छ। देशभरका ३ सय ८३ स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको पहुँच पुगेको छ।
४३. एक वर्षको अवधिमा विभिन्न अस्पतालहरूमा ७ हजार ६ सय ४५ शैया थप भएका छन्। सबै स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने लक्ष्यअनुरूप ३ सय ९६ स्थानीय तहमा निर्माण कार्य सुरु गरिएको छ। एक वर्ष अगाडि कोभिडलगायत केही जटिल परीक्षण स्वदेशमा हुन नसक्ने अवस्था रहेकोमा हाल स्वदेशमै ८७ प्रयोगशालामा कोभिड-१९ को परीक्षण हुने गरेको छ। कडा रोग लागेका कुल ३८ हजार ९ सय ९ जनालाई निःशुल्क स्वास्थ्य उपचार गरिएको छ।
४४. ७५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरिएको छ। सामाजिक सुरक्षा कार्यक्रममा ३२ लाख ५९ हजार नागरिक आबद्ध भएका छन। सामाजिक सुरक्षा कोषमा १३ हजार ७ सय प्रतिष्ठान र २ लाख श्रमिक आबद्ध भएका छन। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको छ। १ सय ३८ स्थानीय तहमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट महिलाहरूको जीविकोपार्जन सुधार कार्य सुरु भएको छ। जोखिममा परेका १५० भन्दा बढी सुत्केरीको हवाई उद्धार गरिएको छ। महिलाविरुद्ध हुने हिंसालाई दण्डित गर्न एसिड अपराध र बलात्कार नियन्त्रणसम्बन्धी कडा कानुनी व्यवस्था गरिएको छ।
५८. निरोगी नेपाल निर्माणका लागि सरल, सुलभ, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने गरी स्वास्थ्य पूर्वाधार र जनशक्ति विकास गरिनेछ।
६०. अनाथ बालबालिकालगायत असहाय र सहाराविहीन नागरिकलाई अभिभावकत्व प्रदान गरिनेछ। सबै नागरिकलाई मानवोचित जीवनयापन सुनिश्चित गरिनेछ। योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरा विस्तार गर्दै लगिनेछ। लैङ्गिक उत्तरदायी शासन व्यवस्थालाई संस्थागत गर्दै लगिनेछ।
६१. ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गरिनेछ। अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकार संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, रोजगारलगायतका अन्य सेवा सुविधालाई अपाङ्गतामैत्री बनाइनेछ।
६२. युवाशक्तिलाई सदैव उत्साही, परिवर्तनका संवाहक र भविष्यप्रति आशावादी शक्तिका रूपमा परिचालन गर्ने नीति लिइनेछ। युवाहरूमा स्वयंसेवी संस्कृतिको विकास गरी मानवीय सेवा, विपद् व्यवस्थापन र आपत्कालीन अवस्थामा परिचालन गरिनेछ। आम नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद, शारीरिक व्यायाम, योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिनेछ।
७०. आगामी आर्थिक वर्षमा गरिने कामहरू यिनै नीतिहरूका आधारमा अर्थमन्त्रीको बजेट वक्तव्य मार्फत सार्वजनिक गरिनेछ।
७२. कोरोना महामारी लगायत आज हामीले झेलिरहेको कठिन समय अवश्य अन्त्य हुनेछ।
धन्यवाद।

