विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको आनुवांशिकीमा उत्परिवर्तन भएका नयाँ स्वरूपका संक्रामक एवं खतरनाक भाइरसका कारण अहिले नेपालमा संक्रमणको दोस्रो लहर चरम उत्कर्षमा देखिँदै छ । यो लहरले नेपालको जनस्वास्थ्यका साथै आर्थिक, शैक्षिक, सामाजिकलगायतका सबै क्षेत्रमा व्यापक र गम्भीर प्रभाव पार्दै लगेको छ । समग्र मुलुक अहिले कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट आक्रान्त छ ।
नेपालमा कोरोना संक्रमणको पछिल्ला १० दिनको आधिकारिक तथ्यांकलाई विश्लेषण गर्दा दैनिक सरदर दुई सय मानिसको कोभिड–१९ बाट ज्यान गइरहेको छ । कोभिड–१९ को मृत्युको आधिकारिक तथ्यांकमा गणना नहुनेको संख्या कति छ, अहिले भन्न सकिने अवस्था छैन । नेपालमा जारी दोस्रो लहरमा हरेक सात मिनेटमा एक संक्रमितको जीवन गुमिरहेको छ । संक्रमणको तीव्र वृद्घिले नेपालको मौजुदा स्वास्थ्य प्रणाली अस्तव्यस्त बनेको छ । दिनदिनै संक्रमण र मृत्यु–संख्याका कीर्तिमानहरू भत्कँदै नयाँ–नयाँ कीर्तिमान कायम भइरहेका छन् । मानिसहरू अस्पतालमा बेड, अक्सिजन र उपचार नपाएर छटपटाइरहेका कारुणिक दृश्य आम भएका छन् । त्यसैले जनता र सरकार दुवैलाई झकझक्याउन नेपालमा कोरोनाको दोस्रो लहर पहिलोभन्दा तुलनात्मक रूपले कति गम्भीर छ भन्ने देखाउन उमेरसमूह, लिंग र दीर्घरोगका आधारमा सूक्ष्म विश्लेषणसहित तथ्य र निचोड प्रस्तुत गर्न खोजिएको हो । यी तथ्य र प्रमाणले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनमा रणनीतिक कार्ययोजनासहितका उचित कदम यथाशीघ्र चाल्न सहयोग गर्ने अपेक्षा पनि गरिएको छ ।
०७६ माघ ९ गते नेपालमा कोरोनाको पहिलो केस चीनबाट अएका व्यक्तिमा पुष्टि भएको थियो । तर, पहिलो लहरको प्रसारण र संक्रमण ०७७ वैशाख २६ गतेबाट सुरु भएको मान्नुपर्ने हुन्छ । त्यसअगाडि नेपालमा आयातीत केसहरू मात्रै पाइएका थिए, २६ वैशाखपछि स्थानीय रूपमै संक्रमितको संख्या क्रमिक रूपमा बढ्न थालेको हो । कोरोनाको पहिलो लहर ३०९ दिन चल्यो । तथ्यांकअनुसार यस अवधिमा २२ लाख १० हजार ४३४ नमुना परीक्षण गरिएको थियो, जसमध्ये दुई लाख ७५ हजार ११८ जनामा कोरोना संक्रमण पुष्टि भयो । यी ३०९ दिनमा ३,०१२ जनाको मृत्यु भयो । मृत्युको त्यो संख्या कुल संक्रमितको लगभग १ प्रतिशत हुन आउँछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जन्मेको पाँच दिनदेखि १०८ वर्ष उमेरसम्मका नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पहिलो लहरको चरम उत्कर्षमा पुगेर घट्ने क्रमको सबैभन्दा कम संक्रमित पुष्टि भएको दिन ०७७ फागुन २८ लाई पहिलो लहरको अन्तिम दिन मानेर डाटाको विश्लेषण गरिएको छ । उक्त दिन पहिलो लहरको संक्रमित सबैभन्दा कम ४८ जना र मृत्यु शून्य रहेको थियो । २९ फागुनबाट संक्रमण र मृत्यु पुनः बढ्न थाल्यो । सोही दिनलाई दोस्रोे लहरको सुरुआत मानेर विश्लेषण गरिएको छ ।
०७८ जेठ ५ गते दोस्रो लहर सुरु भएको ६८ दिन पुग्यो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यी ६८ दिनमा ६ लाख ४५ हजार ८४७ नमुना परीक्षण गरिएको छ र सो परीक्षणबाट दुई लाख पाँच हजार ५७५ जना संक्रमित पुष्टि भएका छन् । यसबीचमा २६ सय ४५ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितमा करिब १.३ प्रतिशत हो । यस अवधिको मृत्युको संख्या औसत दैनिक ३९ जना रहेको छ भने कुल परीक्षणमा संक्रमण दर करिब ३२ प्रतिशत रहेको छ । तथ्यांकले दोस्रो लहरको दैनिक मृत्युको संख्या पहिलो लहरको भन्दा तेब्बर बढी रहेको देखाउँछ । पहिलो लहरमा दैनिक मृत्युसंख्या औसतमा १० जना थियो, दोस्रो लहरमा ३९ जना रहेको छ ।
परीक्षण गरिएकामध्ये संक्रमण दर पनि दोस्रोे लहरमा धेरै उच्च छ । पहिलो लहरमा १२ प्रतिशत रहेको संक्रमण दर दोस्रो लहरमा झन्डै तीन गुणाले बढेर ३२ प्रतिशत पुगेको छ । संक्रमण दर ३ प्रतिशतभन्दा तल गए मात्र त्यसलाई नियन्त्रणको संकेतको रूपमा लिन सकिन्छ ।
नेपालमा संक्रमणको पहिलो लहर चलेको गत असोज–कात्तिकमा कोरोनाको उच्च संक्रमण मापन गरिएको थियो । ५ कात्तिकमा सबैभन्दा धेरै पाँच हजार सात सयभन्दा बढी संक्रमित निदान भएका थिए, अर्थात् संक्रमण दर करिब २९ प्रतिशत थियो । सो दिन २६ जनाको मृत्यु भएको थियो, जुन करिब ०.४५ प्रतिशत हो । १९ कात्तिकमा तीन हजार तीन सय नयाँ कोरोना संक्रमित निदान भएका थिए र ३० जनाको मृत्यु भएको थियो, जुन पहिलो लहरको सबैभन्दा धेरै मृत्युको घटना हो । उक्त दिन पनि संक्रमणमा मृत्युदर १ प्रतिशतभन्दा कम नै थियो ।
५ जेठमा नयाँ कोरोना संक्रिमतको संख्या आठ हजार १७३ पहिचान भएकोमा २४६ जनाको रेकर्ड–मृत्यु पुष्टि भएको छ । मृत्युको यो संख्या सो दिन पाइएका कुल संक्रमितको करिब ३ प्रतिशत हुन जान्छ । दोस्रो लहरको एकल दिनको मृत्युको रेकर्ड–संख्या पहिलो लहरको एकल दिनको मृत्युको रेकर्ड–संख्याभन्दा आठ गुणा र मृत्युदर तीन गुणाले बढी छ । यसले कोरोना कहर अनियन्त्रित बनेको र जनस्वास्थ्य गम्भीर मोडमा पुगेको देखाउँछ । दोस्रो लहर जनस्वास्थ्यका दृष्टिकोणले धेरै नै घातक छ ।
कोभिड–१९ ले दोस्रो लहरको संक्रमणमा केवल ६८ दिनको अवधिमा २६ सयभन्दा बढीको ज्यान लिएको छ । यसले पनि कोरोनाको नयाँ भेरियन्ट एकदमै संक्रामक र घातक भएको पुष्टि गर्छ । ०७७ फागुन २९ देखि ०७८ जेठ १ सम्मको तथ्यांकको विश्लेषण गर्दा दोस्रो लहरमा ५० वर्षभन्दा कम उमेरसमूहका ३८ प्रतिशत मानिसको मृत्यु भएको देखिन्छ । पहिलो लहरमा मृत्यु भएकामध्ये यो समूहका २३ प्रतिशत थिए । दोस्रो लहरमा मृत्यु हुनेहरूमा ५० वर्षभन्दा माथिकाको संख्या ६२ प्रतिशत छ, पहिलो लहरमा भने यस्तो संख्या ७७ प्रतिशत थियो । पहिलो लहरमा वृद्ध र दीर्घरोगीहरूमा उच्च जोखिम र गम्भीरता देखिएको थियो, तर दोस्रो लहरमा भने सबै उमेरसमूह तुलनात्मक हिसाबले उच्च जोखिममा रहेको देखिएको छ ।
नेपालमा कोरोनाबाट मृत्युको जोखिम महिलामा भन्दा पुरुषमा दुई गुणाले बढी देखिएको छ । पुरुषहरू प्रायः कामको सिलसिलामा घरबाहिर जाने हुँदा कोरोना संक्रमणको बढी जोखिममा देखिएको हुन सक्छ । साथै, परीक्षणको दायरामा संक्रमित भएका महिलाहरू पुरुषको तुलनामा नपुगेको वा आधिकारिक तथ्यांकमा प्रवेश नभएकाले पनि महिलाको तुलनामा पुरुष बढी संक्रमित देखिएको वा पुरुषको मृत्यु बढी भएको पनि हुन सक्छ ।
यहाँ ०७८ जेठ १ गतेसम्मको मात्र आधिकारिक तथ्यांकको अध्ययन र विश्लेषणको रिपोर्ट प्रस्तुत गरिएको छ । तर, त्यसपछिका दिनमा अझै परीक्षण, मृत्यु र संक्रमितको तथ्यांक बढेको छ । दोस्रो लहरको जेठ १ गतेसम्मको ६५ दिनमा मृत्यु हुनेको संख्यामा ५० वर्षभन्दा मुनिका ६१८ र ५० वर्षमाथिकाको संख्या १,०२५ रहेको छ, जुन क्रमशः ३८ र ६२ प्रतिशत हो । तथ्यांकअनुसार महिलाभन्दा पुरुषको मृत्यु १.८ गुणा अर्थात् झन्डै दोब्बर बढी भएको देखिन्छ । दोस्रो लहरमा मृत्यु हुने उमेरसमूह पहिलो लहरको भन्दा निकै कम उमेरको छ । दोस्रो लहरमा मृत्युको औसत उमेर ५७ वर्ष छ भने अधिकांश ४१–७३ वर्ष उमेरसमूहका मानिसको मृत्यु भएको छ । पहिलो लहरमा मृत्युको औसत उमेर ६३ वर्ष थियो । मर्नेहरू अधिकांश ४६ देखि ८० वर्ष उमेरसमूहका थिए । यसले दोस्रो लहरमा मर्नेहरू पहिलो लहरमा मर्नेहरूभन्दा कम उमेरका बढी रहेको देखाउँछ । कोभिडबाट मृत्यु भएकामा करिब १ प्रतिशतको हाराहारीमा १८ वर्षभन्दा कम उमेरसमूहका छन् ।
पहिलो लहरको ३०९ दिनमा २२ लाख १० हजार ४३४ परीक्षण भएको थियो । जसमध्ये २ लाख ७५ हजार ११८ संक्रमित पाइएका थिए । सो अवधिमा ३,०१२ को मृत्यु भएको थियो । मृत्युदर १ प्रतिशत, प्रतिदिन औसत मृत्यु १० जना र परीक्षण संक्रमण दर १२ प्रतिशत रहेको थियो । पहिलो लहरको अवधिमा मृत्यु हुनेहरू १८ वर्षभन्दा कम उमेरका १.२६ प्रतिशत, १९–४० वर्षका ११.७८ प्रतिशत, ४१–५० वर्षका २२.९९ प्रतिशत र ५१–१०८ वर्षका ७७ प्रतिशत छन् । दोस्रो लहर (फागुन २९–जेठ १)मा मृत्यु हुनेहरूमा १८ वर्षभन्दा कम उमेरका ०.७३ प्रतिशत, १९–४० वर्षका १७.७७ प्रतिशत, ४१–५० वर्षका ३७.३९ प्रतिशत र ५१–१०८ वर्षका ६२.३९ प्रतिशत छन् ।
दीर्घरोगले कोभिड–१९ जन्य मृत्युमा कस्तो भूमिका खेलेको छ भनेर हेर्दा कुनै दीर्घरोग नभएका ५० वर्षमुनिका व्यक्तिमा पनि दोस्रो लहरको नयाँ स्वरूपका कोरोना भाइरसको उच्च जोखिम देखिएको छ । दोस्रो लहरको कोरोना संक्रमणले ५० वर्षमुनिका दीर्घरोग भएका ९५ जनाको मृत्यु भएको छ, जुन दोस्रो लहरको जम्मा मृत्युको ६ प्रतिशत हो । त्यस्तै, ५० वर्षमाथिका दीर्घरोग भएका २६८ जनाको मृत्यु भएको छ, जुन दोस्रो लहरको जम्मा मृत्युसंख्याको १६ प्रतिशत हो । कुनै पनि दीर्घरोग नभएका ५० वर्षमुनिका ५२३ जनाको कोभिड–१९ को संक्रमणले ज्यान लिएको छ, जुन दोस्रो लहरको जम्मा मृत्युसंख्याको ३२ प्रतिशत हो । दोस्रो लहरको जम्मा मृत्युसंख्याको ४६ प्रतिशत अथवा ७५७ जना कुनै पनि दीर्घरोग नभएका ५० वर्षमाथिको समूहका छन् ।
पहिलो लहरमा मृत्यु–संख्यामा ३२७ जना वा ११ प्रतिशत दीर्घरोग भएका ५० वर्षमुनिका थिए । त्यसैगरी, पहिलो लहरमा ५० वर्षमाथिका दीर्घरोग भएका १२ सयजनाको मृत्यु भएको थियो, जुन पहिलो लहरको मृत्युको ४० प्रतिशत हो । सो अवधिमा कुनै पनि दीर्घरोग नभएका ५० वर्षमुनिका ३६४ जनाको कोभिड–१९ संक्रमणले जीवन लिएको देखिन्छ । यो पहिलो लहरको कुल मृत्युको १२ प्रतिशत हो । सो अवधिमा दीर्घरोग नभएका ५० वर्षमाथिका ११ सय १५ जना मरेका थिए, जुन ३७ प्रतिशत हो । कुनै पनि दीर्घरोग नभएका र ५० वर्षमुनिका व्यक्तिमा कोभिड–१९ को मृत्युको जोखिम पहिलो लहरको तुलनामा अहिलेको लहरमा पाँच गुणा बढी भएको तथ्यांकको विश्लेषणले पुष्टि गर्छ । त्यस्तै, दीर्घरोग नभएका ५० वर्षमाथिका व्यक्तिमा कोभिड–१९ को मृत्युको जोखिम पहिलो लहरको तुलनामा दोस्रो लहरमा दोब्बर बढी छ ।
पहिलो लहरमा संक्रमण गराएका कोभिड–१९ सार्स–कोरोना भाइरस–२ का एल, एस, भी र जी भेरियन्टहरूभन्दा दोस्रो लहरको संक्रमणका वर्तमानका आनुवंशिक उत्परिवर्तन भएका भेरियन्ट बढी संक्रामक र घातक छन् । हाल दोस्रो लहरको कोभिड–१९ संक्रमणको नेपालका विभिन्न ठाउँबाट संकलन गरिएका ३५ नमुनाको जेनेटिक्स अध्ययनले यो भाइरस शतप्रतिशत भारतको ‘डबल म्युटेन्ट बी.१.६१७’ भएको पुष्टि गरेको छ । जेनेटिक अध्ययन गरिएका ९७ प्रतिशत नमुनामा बी.१.६१७.२ डबल म्युटेन्ट कोरोना भाइरसको बाहिरी सतहमा रहेको स्पाइक प्रोटिनमा रहेको १२७३ एमिनो एसिड (प्रोटिनका एकाइ)मध्ये सातवटा उत्परिवर्तन भएको देखिएका छन् । त्यस्तै, तीन प्रतिशत नमुनामा बी.१.६१७.१ डबल म्युटेन्टको स्पाइक प्रोटिनमा पाँचवटा एमिनो एसिडमा उत्परिवर्तन पाइएको छ ।
आनुवंशिक उत्परिवर्तनले भाइरसमा जेनेटिक संरचना परिमार्जित भई मानिसको कोषिकामा बाँधिने र भित्र छिर्ने क्षमता वृद्घि हुने भएकाले अधिक संक्रमण गराउन, मानिसको प्रतिरक्षा प्रणाली छल्न र स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने प्रारम्भिक वैज्ञानिक प्रमाण उजागर भएका छन् । नेपालको कोभिड–१९ को पहिलो र दोस्रो लहरको तथ्यांकको विश्लेषणबाट पनि हामी यही निचोडमा पुग्छौँ । यी तथ्य र आधारहरू नियाल्दै अझै नयाँ कोरोना भाइरसका भेरियन्टहरूको चुनौती कसरी सामना गर्ने, यसलाई पूर्ण नियन्त्रणमा कसरी लिने र कसरी कोभिड–१९ का गम्भीर बिरामीको उपचार र व्यवस्थापन गर्ने भन्ने रणनीतिक चाल नै आजको तात्कालिक तथा व्यग्र आवश्यकता बनेको छ । यसका लागि राज्य र राज्यका निकायका साथै अन्य सबैले पनि सम्पूर्ण ऊर्जा, प्रयास, समय खर्चनु अपरिहार्य भएको छ । नयाँ पत्रिकामा प्रकाशित, २०७८ जेठ ७ शुक्रबार (दुलाल अनुसन्धान वैज्ञानिक तथा जिवाणुविज्ञ हुन्)

