संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिअन्तर्गत कोरोना नियन्त्रण सम्बन्धमा काम गर्न बनेको उपसमितिले भविष्यमा संक्रामक रोग नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सबै प्रदेशमा सुविधा सम्पन्न संरचना आवश्यक छ भन्ने रायसहितको प्रतिवेदन बुझाएको छ । जीवनराम श्रेष्ठ नेतृत्वको उपसमितिले प्रादेशिक अस्पतालमा संक्रामक रोगका लागि अलग युनिटको व्यवस्था गर्नुपर्नेसमेत सुझाब दिएको छ । उपसमितिको प्रतिवेदनले नेपालमा संक्रामक रोगको उपचारका लागि काठमाडौंस्थित टेकु अस्पतालजस्तै थप अस्पतालको आवश्यकता रहेकोतिर संकेत गरेको भए पनि यसले समग्र स्वास्थ्य उपचारका क्षेत्रमा विशिष्टीकृत सेवा विस्तारको आवश्यकताबारे भने खासै केही बोलेको छैन ।
वास्तवमा नेपालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन अब ध्यान दिनुपर्ने एउटा महत्वपूर्ण काम भनेको विशिष्टीकृत सेवाको विस्तार नै हो । हालै सरकारले तीन सयभन्दा बढी स्थानीय तहमा एकैपटक १५ शøयाका अस्पताल बनाउने या भइरहेका स्वास्थ्य केन्द्र र उपकेन्द्रको स्तरोन्नति गर्ने गरी योजना अघि सारेर कामसमेत आरम्भ गरेको छ । यो व्यवस्थाले नेपालमा आधारभूत स्वास्थ्य सेवालाई तल्लो तहसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ । यस्तो आधारभूत स्वास्थ्य सेवाको विस्तार स्वास्थ्य सेवामाथिको पहुँचलाई समुदायस्तरसम्म लैजान नभई नहुने विषय हो । सरकारको कामले सामान्य रोगका लागि टाढा पुगेर धेरै खर्च गर्नुपर्ने बाध्यताबाट साधारण परिवार मुक्त हुनेछन् भन्ने आशा गर्न सकिन्छ । यो अत्यावश्यक सेवाको विस्तारसँगै नेपालले स्वास्थ्य सेवा विस्तारका क्षेत्रमा दिनुपर्ने प्राथमिकता भनेको नै विशिष्टीकृत सेवाको क्षेत्रमा हो ।
यसमा संक्रामक रोगका लागि अलग संरचना बनाउने जस्ता धेरै महत्वपूर्ण काम गर्नुपर्ने देखिन्छ । नेपालले अहिले पनि प्राथमिकतामा आधारभूत स्वास्थ्य सेवालाई नै राखेको कुरा जिल्ला तथा प्रदेश अस्पतालले दिने सेवाको स्तरबाट थाहा हुन्छ । अहिले पनि सबै प्रदेशबाट जटिल रोगको उपचारका लागि काठमाडौं अथवा भारतसम्म धाउनुपर्ने बाध्यता छ । क्यान्सरका लागि भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल, मुटु रोगका लागि काठमाडौंस्थित गंगालाल हृदयरोग अस्पताल र सबैजसो रोगको रिफर अस्पतालका रूपमा वीर अस्पताल, दुर्घटनाबाट हुने अंगभंगका लागि नेसनल ट्रमा सेन्टर र बालबालिकासम्बन्धी रोगका लागि कान्ती बाल अस्पताल धाउनुपर्ने बाध्यता छ ।
यसबाहेक केही निजी क्षेत्रका अस्पतालले केही विषयमा विशिष्टीकृत सेवा दिए पनि तिनको महँगो खर्च धान्न र सेवा लिन आमनागरिकका लागि असम्भव प्रायः नै छ । यसैले हरेक प्रदेशमा सबैखाले मुख्य रोगहरूको उपचारका लागि विशिष्टीकृत अस्पताल बनाउन नितान्त जरुरी भइसकेको छ । बरु तत्कालका लागि केही रोगविशेषको उपचारका लागि दुई प्रदेशको बीचमा पर्ने गरी अस्पताल बनाउन पनि सकिन्छ । तर, सबै प्रकारको रोगको उपचार कमसेकम प्रदेश राजधानीमा बनाउँदा मात्र जटिल खालका रोगको उपचार गर्न नसकेर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता वा महँगोमा स्वास्थ्य सेवा खरिद गर्नुपर्दा घरबार गुमाएर टाट पल्टिनुपर्ने अवस्थाबाट मुक्ति मिल्नेछ । २०७७ चैत १२ गतेको नयाँ पत्रिकाको सम्पादकीय

