स्वास्थ्य सेवा भन्नेबित्तिकै बिमारी उपचारका लागि गरिने सम्पूर्ण सेवा हो भन्ने बुझाइ सबैको भए पनि ‘प्रशामक स्वास्थ्य सेवा’ बारेमा धेरैलाई अन्योल छ। स्वास्थ्य सेवामा भएको प्रगति र आधुनिक चिकित्सा पद्धति अनि स्वास्थ्य सेवाले मानिसको आयु पक्कै लम्बिएको छ। रोग र उमेरसँग लड्दै जीवनको अन्तिम अवस्थामा पुग्दा पनि शान्ति अनि पीडारहित मृत्युको कल्पना गर्छौं। वर्तमान चिकित्सा प्रणालीले हाम्रो कल्पनालाई केही सार्थक बनाएको छ। विशेषतः दीर्घरोग तथा क्यान्सरबाट पीडित वृद्धहरू शारीरिक तथा मानसिक रूपमा कमजोर भएका हुन्छन्। यस्ता पीडितहरू आफ्ना बाँकी जीवन सहज अनि पीडारहित भएर बिताउन चाहन्छन्। उनीहरूको रोग पूर्णरूपले निको बनाउन सक्ने अवस्थामा हुँदैन र मृत्युलाई पर्खिनुबाहेक विकल्प रहेको हुँदैन। यस अवस्थामा अति नै विचलित मानिसलाई बाँकी रहेका जीवनका केही दिन सजिलो बनाउँदै पीडा कम गराउन सक्ने किसिमले उपचारात्मक, पुनःस्थापनात्मक एवम् भावनात्मक तवरले पारिवारिक वातावरणमा दिइने स्वास्थ्य सेवालाई प्रशामक सेवा भनिन्छ। सामान्यतः यस्ता प्रशामक स्वास्थ्य सेवा अर्थात् पालिएटिभ केयर अस्पतालमा नदिएर विशेष केन्द्र स्थापना गरेर दिनुपर्छ भन्ने मान्यता छ।
विश्वमा हरेक वर्ष औसत ६ करोड मानिसको मृत्यु हुने गर्छ। गर्भ रहेपछि जन्म निश्चित छैन तर मृत्यु निश्चित छ, यो एक तीतो यथार्थ हो। सबल आर्थिक अवस्था र उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध भए पनि मृत्युलाई केही पर धकेल्न सकिएला तर पराजित गर्न सकिन्न। विकसित मुलुकमा जहाँ आधुनिक स्वास्थ्य सेवा उपलब्ध छन्, ती मुलुकमा पनि मृत्यु हुने गरेको छ। तर रोगले थचारिएपछि पनि भन्नेबित्तिकै मृत्यु हुँदैन र पीडा भइरहन्छ। यस्ता रोगले पीडितलाई प्रशामक सेवाले जीवनको अन्तिम अवस्थामा हुने कष्ट र पीडा कम गराउने हुन्छ। विकसित मुलुकमा प्रशामक स्यहार केन्द्र धेरै व्यवस्थित हुने गरेको छ। यस्ता केन्द्रमा निको बनाउन नसकिने पीडामा रहेका बिमारी रहने गरेका हुन्छन्। रोगले हुने पीडा कम गराउनु नै प्रमुख सेवा रहेका यस्ता केन्द्रमा स्वास्थ्य सेवा दिन धेरै विज्ञ नचाहिने र जटिल स्वास्थ्य उपकरण कम चाहिने भएकाले अस्पतालभन्दा कम खर्चिलो हुने गर्छन्।
एक्काईसौं शताब्दीको सुरुवातसँगै विभिन्न महामारी आए। यस्ता महामारी तथा सर्ने किसिमका अर्थात् संक्रामक रोगले धेरै मानिसको ज्यान गयो। यसको नियन्त्रण र राम्रो उपचारको विकाससँगै नसर्ने किसिमका रोगको प्रकोप बढ्दै गयो। विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनअनुसार कूल मृत्युको ७१ प्रतिशत अर्थात् करिब चार करोड मानिस नसर्ने रोगका कारणले मर्ने गरेका छन्। यी नसर्ने रोगमा मुख्यतः क्यान्सर, पुरानो फोक्सोको समस्या, मुटुका रोग तथा मधुमेह रहने गरेका छन्। यी नसर्ने रोग पनि मुख्यतः न्यून तथा मध्यम आय भएका राष्ट्रमा बढी हुने गरेको सो तथ्यांकले देखाएको छ। सर्ने अर्थात् संक्रामक रोग विभिन्न किसिमका सूक्ष्म जीवाणुहरूको संक्रमणले गर्दा हुने हुन्छ र महामारीको रूप लिने गर्छन्। तर नसर्ने रोगहरू मुख्यतः मानिसको आनीबानी, आहार–विहार तथा शारीरिक सक्रियता आदि उचित नभएकाले हुने गर्छन्। वातावरण तथा जलवायु परिवर्तन, खानपानमा हुने अखाद्य वस्तुको मिसावट, जैविक तथा कीटनाशक औषधिहरूको अनियन्त्रित प्रयोगले क्यान्सर, मुटुरोग तथा मधुमेहजस्ता रोगहरूलाई जन्म दिने र मानिसलाई पीडा दिने गरेको पाइन्छ।सन् २०२५ सम्ममा वार्षिक दुई करोड नयाँ क्यान्सरका बिरामी देखा पर्न सक्ने डरलाग्दो तथ्यांक अध्ययनले देखाएको छ। क्यान्सर नेपालको मृत्युको कारणमा पाँचौं स्थानमा रहेको छ। सन् २०१८ मा गरिएको एक अध्ययनअनुसार नेपालमा ११,५२५ जना क्यान्सरबाट मृत्यु भएको देखिन्छ। क्यान्सरलगायतका दीर्घ रोगहरूले मानिसलाई लामो समयसम्म शारीरिक एवं मानसिक रूपमा पनि कमजोर बनाएको हुन्छ। एकातिर त्यस्ता रोगले बिमारी थाकिसकेको हुन्छ र मृत्युको पर्खाइमा हुन्छ भने विशेषतः क्यान्सरजस्ता रोगले दुखाइ पनि धेरै दिइरहेको हुन्छ। यस अवस्थामा आइपुग्दा बिरामीका परिवारका सदस्यसमेत आर्थिक, मानसिक एवं भावनात्मक दृष्टिकोणले कमजोर र थकित भइसकेका हुन्छन्। दीर्घरोगलगायत क्यान्सरबाट पीडित अधिकांश बिरामीको मृत्यु दुःखद, पीडादयक र छटपटाहटबाट हुने गरेको देखिन्छ। सो समस्या पूर्णरूपले समाधान गर्न त अहिलेको उपचार पद्धतिबाट सम्भव देखिएको छैन। यस्ता बिरामीलाई लामो समयसम्म अस्पतालमै भर्ना गरेर राख्दा अस्पतालको शय्या प्रयोग हुने तर समाधान नहुने भएकाले व्यावहारिक नहुने हुन्छ। तर यस्ता पीडामा रहेका बिमारीलाई घरमा पीडाले छट्पटाएको देख्न अवश्य सकिँदैन। यस्ता बिमारीलाई प्रशामक स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने आवश्यक हुन्छ र छुट्टै प्रशामक स्वास्थ्य सेवा केन्द्र अर्थात् पालिएटिभ केयर सेन्टर चाहिन्छ भन्दा फरक नपर्ला।
विश्व स्वास्थ्य संघको एक तथ्यांकअनुसार विश्व करिब चार करोड मानिसलाई प्रशामक सेवाको आवश्यकता पर्ने गरेको छ। यसको ७८ प्रतिशत अर्थात् करिब तीन करोड १२ लाख हाम्रोजस्तो न्यून तथा मध्यम आय भएका मुलुकमा रहेका छन्। तर विश्वमा हाल प्रशामक सेवा आवश्यक हुनेमध्ये १४ प्रतिशत मानिसले मात्र यो सेवाको उपभोग गर्न पाएका छन्। नेपालमा प्रशामक सेवा प्रदान गर्ने केही संस्थाले विगत लामो समयदेखि सेवा दिइरहेका छन्। तर यो अति न्यून छ र केन्द्रीय राजधानीमा मात्रै सीमित छन्। काठमाडौंबाहिर कुनै पनि स्थानमा प्रशामक स्वास्थ्य केन्द्रको स्थापना भएको पाइँदैन र बाहिरका पीडितहरू पूर्णरूपले यस सेवाबाट वञ्चित रहेका छन्।
संघीय गणतान्त्रिक नेपालको संविधान २०७४ ले स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा स्थापित गरको छ। यसका साथैै नेपाल सरकारको स्वास्थ्य नीति २०७६ अनुसार निजी तथा गैरसरकारी संस्थाहरूलाई समेत फिजियोथेरापी सेवासहितको पुनःस्थापना तथा प्रशामक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने नीति अगाडि सारेको देखिन्छ। तर यसअनुरूप अगाडि बढ्ने प्रयास पर्याप्त भएको देखिँदैन। विशेषतः लामो समयमा उपचारमा ठूलो रकम खर्चिएर आर्थिक रूपमा कमजोर भइसकेको परिवारका वृद्ध अनि रोगले कमजोर भएका दीर्घरोगी, क्यान्सरपीडित जनताका पीडा कम गर्न समाजका सबै वर्ग सक्रिय हुन आवश्यक छ। अझ राज्यस्तरबाट यस नीतिको अधिकतम कार्यान्वयन गर्न सके दीर्घ रोगलगायत क्यान्सरपीडित आम जनताले जीवनको अन्तिम क्षणमा पीडाबोध गर्नुपर्ने अवस्था न्यूनीकरण गर्न पक्कै सहज हुन्छ।
–पौडेल र डा. साह दुवै कोशी हेल्थ कलेज विराटनगरमा जनस्वास्थ्यका प्राध्यापक हुन्।

