विश्व जनमानस अहिले कोरोना महामारी (कोभिड–१९) को चपेटामा छ । हामीलाई अझै थाहा छैन, यो महामारी कहिलेसम्म लम्बिन्छ भनेर ।कोभिड–१९ ले हाम्रो परिवार र समाजमा के–कस्तो क्षति पुर्याउन सक्छ भन्ने पनि हामीलाई थाहा छैन ।
अर्कातिर, शैक्षिक क्यालेन्डरमा गडबडीका कारण विद्यार्थीहरू बेचैन छन् । लकडाउन समाप्त भइहाले पनि शैक्षिक संस्था पुनः पहिलेको अवस्थामा सुचारु हुने सम्भावना कमै छ । बालबालिकाले घरमै अड्किएर
यस्तो डर–त्रासमा बाँचिराखेकाले हाम्रो शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा अत्यन्त प्रतिकूल परिस्थिति सिर्जना भैराखेको छ । मानसिक स्वास्थ्यमा आएका विभिन्न समस्याका कारण आत्महत्याका घटनामा पनि वृद्धि भैराखेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।
कोभिड–१९ का कारण नेपालमा लकडाउनको पहिलो महिना ४८७ जनाले आत्महत्या गरेका थिए, जुन त्यसअघिको महिनाको तुलनामा २० प्रतिशतले बढी हो । लकडाउनको ७४ दिनको यो अवधिसम्म करिब १,२२७ जनाले आत्महत्या गरिसकेका छन् । अर्थात्, प्रतिदिन औसत १६.५ जनाले आत्महत्या गरिरहेका छन् । आत्महत्याको दर नेपालसहित विश्वभर अझ बढ्ने क्रममा छ । आत्महत्याका घटनामा वृद्धि कोरोना महामारीको सन्त्रास तथा कुनै न कुनै रूपमा लकडाउनसँग जोडिएको छ ।
एकातिर महामारीको त्रास, अर्कातिर लकडाउन । यस्तो अवस्थामा मानिसहरू उदासीनता, डर, अनिद्रा, नकारात्मक सोच, भविष्यको चिन्ताजस्ता मानसिक समस्याबाट ग्रस्त भएका छन् । त्यसमाथि बेरोजगारी, आर्थिक अभाव, आफन्तको बिछोडदेखि कोरोना संक्रमित हुनेसम्मको डरले मानिसहरूलाई अत्यन्त चिन्तित तुल्याइराखेको छ ।
अर्कातिर, शैक्षिक क्यालेन्डरमा गडबडीका कारण विद्यार्थीहरू बेचैन छन् । लकडाउन समाप्त भइहाले पनि शैक्षिक संस्था पुनः पहिलेको अवस्थामा सुचारु हुने सम्भावना कमै छ । बालबालिकाले घरमै अड्किएर बस्नुपर्ने बाध्यता छ । ज्येष्ठ नागरिकहरूले पुरानो दीर्घरोगको उपचारबाट वञ्चित हुनुपरेको छ । सन्तुलित आहार, व्यायाम, निद्रा/भोक खलबलिएको छ । कति व्यक्तिहरूले तनाव हटाउन भन्दै धूमपान, मद्यपानको मात्रा बढाएका छन् । दिनभरि कार्यालयमा हुनुपर्नेहरू घरमै थन्किएका छन् । युवाहरू भविष्यलाई लिएर अन्योलग्रस्त छन् । व्यापार–व्यवसायमा लागेकाहरू पनि अनिश्चिततामा रुमलिएका छन् ।
कोभिड–१९ ले सबैतिर आतंक फैलाएको छ ।विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका कारण डिप्रेसन, एन्जाइटी, डिसअर्डरजस्ता मानसिक स्वास्थ्य समस्या बढी मद्यपान तथा आत्महत्याको संख्यामा वृद्धि हुने भविष्यवाणी गरिसकेको छ । हाम्रो मुलुकमा भने मानसिक स्वास्थ्य समस्याबारे जनमानसमा नकारात्मक सोच/बुझाइ छ र सरकारले पनि मानसिक समस्याको रोकथाम र उपचारमा अपेक्षित प्राथमिकता दिन सकेको छैन । यस विषयमा बढी सचेतता किन अत्यावश्यक छ भने, कोरोना महामारी तथा लामो समयको लकडाउनले गर्दा आम मानिसको मनोविज्ञान, पारिवारिक जीवन, सामाजिक क्रियाकलाप, व्यवसाय, रोजगारी लगायतमा उब्जेको अत्यन्त प्रतिकूल परिस्थितिका कारण आउने दिनमा आत्महत्या दर वृद्धि हुँदै जान्छ ।
आत्महत्या मानसिक स्वास्थ्य समस्या हो । मानसिक तनाव सबैजसो व्यक्तिलाई हुने गर्छ, मात्रा घटीबढीको मात्र कुरा हो । कसैमा यो निदान भएको हुन्छ त कसैमा नभएको अवस्थामा । अहिलेको विषम परिस्थितिले सबैमा तनाव ह्वात्तै बढाइदिएको छ । बाहिरी वातावरणमा उत्पन्न तनावलाई वहन गर्न असमर्थ हुँदै गएपछि व्यक्तिविशेष आत्महत्यातर्फ उत्प्रेरित हुन थाल्छ । अनि योजनाबद्ध रूपमा अथवा आवेशमा आएर आत्महत्या गर्ने गर्छ । आत्महत्या बढीजसो युवा र पुरुषले गर्ने गरेका छन् ।
हाम्रो देशमा मानसिक स्वास्थ्यबाहेक गरिबी, बेरोजगारी, परीक्षामा असफलता, सम्बन्धविच्छेद, आर्थिक समस्या, सामाजिक विभेद, लैंगिक एवं यौनजन्य हिंसा, वैदेशिक रोजगारीको बाध्यताजस्ता सामाजिक समस्याहरूले पनि व्यक्तिविशेषमा तनाव बढाउने गरेका छन् । यसबारे समयमै परामर्श गर्न नसक्नाले र अहिले कोरोना त्रास थपिएकाले पनि आत्महत्याको जोखिम बढिरहेको हो ।
तनाव व्यवस्थापन
अहिलेको अप्ठ्यारो अवस्थामा हामीले आफ्नो तनावको व्यवस्थापन सकारात्मक तवरले गर्नु जरुरी छ । नकारात्मक समाचारहरूमा मन नलगाई आवश्यक जानकारी र अपडेटका लागि विश्वसनीय समाचार स्रोतहरू (जस्तै— विश्व स्वास्थ्य संगठन वा स्वास्थ्य मन्त्रालय) मा भर पर्नु उपयुक्त हुन्छ ।
पहिलेदेखि मानसिक स्वास्थ्य समस्या, विशेषतः डिप्रेसन, भएका व्यक्तिहरूले नियमित रूपमा चिकित्सक अथवा परामर्शविद्को सहयोग लिनुपर्छ । मृत्युबारे कुरा गर्ने, मर्न खोज्ने वा डोरी अथवा कीटनाशक औषधि साथमा राख्ने, अब आफू बाँच्नुको कुनै सार छैन भन्ने महसुस गर्नेजस्ता आत्महत्याको चेतावनीका संकेत भएकाहरूलाई परिवार वा आफन्तले सहयोग गरिरहनुपर्छ । सकिन्छ भने उनीहरूको आधारभूत आवश्यकतामा सघाउ पुर्याउनुपर्छ । उनीहरूलाई सक्रिय जीवनयापनका लागि सुझाव दिनुपर्छ । शारीरिक व्यायाम, मनोरञ्जनका लागि खेलकुद वा नाचगानमा प्रेरित गर्नुपर्छ । घरको सरसफाइमा व्यस्त राख्नुपर्छ ।
तालिका बनाएर नियमित दिनचर्यामा बस्न लगाउनुपर्छ । दिउँसो होइन, राति मात्र सुत्ने प्रेरणा दिनुपर्छ । अनलाइन पाठ्यक्रम, ट्युटोरियलजस्ता रचनात्मक क्रियाकलापमा व्यस्त राख्नुपर्छ । तनाव कम गर्न योगाभ्यास वा ध्यान गर्न लगाउनुपर्छ । युट्युबमा हेर्दै ‘रिल्याक्सेसन’ व्यायाम पनि गराउन सकिन्छ । अथवा, त्यस्ता व्यक्तिमा कुनै नयाँ रुचि जागेको भए पनि त्यसमा मद्दत गर्नुपर्छ । सामाजिक दूरी कायम राख्दै विभिन्न सञ्चारका माध्यमबाट आफन्त र साथीभाइसँग संवादमा रहन लगाउनुपर्छ ।
अत्यधिक तनाव वहन गर्न कठिनाइ परेको भए नेपालमै पनि उपलब्ध टेलिमेडिसिन, अनलाइन वा हटलाइनमार्फत सेवा उपलब्ध गराउनुपर्छ । सकिन्छ भने चिकित्सक, मनोचिकित्सक वा मनोविद्हरूबाट परामर्श दिलाउनुपर्छ ।वास्तवमा आत्महत्या रोकथामका लागि राज्यकै दायित्व महत्त्वपूर्ण हुन्छ । राज्यले आत्महत्याको कारण र रोकथामबारे जनचेतनामूलक कार्यक्रम र चौबीसै घण्टा हटलाइन तथा काउन्सेलिङ सेवा सुचारु गरी सातै प्रदेश तथा स्थानीय निकायसम्म सेवा दिन सके कोरोना महामारीका कारण कमजोर मनोविज्ञान विकसित भइराखेका दाजुभाइ–दिदीबहिनीलाई आत्महत्या गर्नबाट रोक्न सकिन्छ । यसका लागि आम नेपाली पनि सचेत हुनुपर्छ । हामीले आआफ्नो क्षेत्रबाट सकारात्मक भूमिका वहन गर्न सके आत्महत्याजस्तो अकाल मृत्युबाट अहिलेको युवा पिँढीलाई बचाउन सक्छौं । कोरोना महामारीपछि पनि हाम्रो शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य राम्रै रहोस् भन्नका लागि यो चुनौतीलाई डटेर सामाना गर्ने मनोविज्ञानको विकास गरौं । समग्रमा राष्ट्र र विश्वकै कल्याणमा योगदान पुर्याउन सक्ने कार्यमा जुटौं ।
मनोचिकित्सक प्रा. वझा त्रिवि शिक्षण अस्पतालको मानसिक स्वास्थ्य विभाग प्रमुख हुन् ।
प्रकाशित : असार ११, २०७७

