कान्तिपुरसंसारभर तीन दर्जनभन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरसको नयाँ प्रजाति ‘यूके भेरियन्ट’ (बी.१.१.७) नेपालमा पनि देखिइसकेको छ । पहिलेको तुलनामा ५० प्रतिशतसम्म बढी संक्रमण फैल्याउन सक्ने भनिएको यो भाइरसका कारण मुलुकमा कोभिड–१९ को दोस्रो लहर नफैलियोस् भनेर सरकार र नागरिक दुवै सचेत रहनुपर्छ ।सरकारले रोकथाम र नियन्त्रणका आफ्ना गतिविधिलाई चुस्त–दुरुस्त राख्नुपर्छ । र, नागरिकले पनि पहिलेझैं सम्पूर्ण रूपमा स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्छ ।
कोरोना ‘आरएनए भाइरस’ भएकाले यसमा आनुवंशिक परिवर्तन भइरहन्छ, जुन अनौठो होइन । अहिले नै पनि यसका ‘यूके भेरियन्ट’ (बी.१.१.७), ‘साउथ अफ्रिकन भेरियन्ट’ (५०१.भी२) र ‘ब्राजिलियन भेरियन्ट’ (पी.१) संसारभरि फैलिरहेका छन् । यीमध्ये यूके भेरियन्ट यहाँ पनि देखिएको हो । खासमा अनुवंशिक परिवर्तन भएका यस्ता भाइरसले कस्तो व्यवहार देखाउँछन् भन्ने सवाल मुख्य हो । अहिलेसम्म यो प्रजाति बढी फैलिने पुष्टि भए पनि पहिलेको तुलनामा घातक रहेको भने पाइएको छैन । तर जे नै भए पनि, योसँग डराउने वा यसलाई बेवास्ता गर्नेभन्दा जनस्वास्थ्यका नियमहरू पालना गरेर संक्रमणबाट जोगिने नै प्रभावकारी उपाय हो । उचित स्वास्थ्य सतर्कता अपनाइएको खण्डमा अहिलेसम्म पुष्टि भएका जुन भाइरसबाट पनि जोगिन सकिन्छ ।
सर्वप्रथम त, सरकारले यी प्रजातिहरू फैलिएका मुलुकबाट आएका नागरिकहरूलाई अनिवार्य ‘क्वारेन्टिन’ मा राख्ने वा घरमै पनि ‘आइसोलेसन’ मा बसे–नबसेको निगरानी गर्ने व्यवस्था गर्नुपर्छ । अहिलेसम्म सरकारले बेलायतबाट आएकाहरूलाई मात्र चासो दिइरहेको देखिन्छ । अरू देशमा पनि यी प्रजाति फैलिसकेकाले सम्बद्ध सबै मुलुकबाट आउनेहरूको हकमा निश्चित दिनसम्म अलग्गै बस्नुपर्ने नियमको पालना बाध्यकारी गरिनुपर्छ । नेपालसित खुला सीमा भएको दक्षिणी छिमेकी भारतमा पनि यो प्रजाति देखा परिसकेकाले सीमानाकामा थप सतर्कता अपनाउन जरुरी छ । कोरोना भाइरस फैलिएको सुरुआती चरणमा यस्तै सावधानी अपनाउन चुक्दा मुलुकभर संक्रमण विस्तार हुन पुगेको तथ्य यतिबेला भुल्नु हुँदैन ।अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या र संक्रमण दर मात्र होइन, मृत्यु दर पनि घटेको देखिन्छ । तर पछिल्लो समय बढेको राजनीतिक सरगर्मीसँगै सभा, समारोह र जुलुसका नाममा जुन रूपमा स्वास्थ्य मापदण्डको धज्जी उडाउने काम भैरहेको छ, यसले संक्रमणको दोस्रो लहर भयावह रूपमा नफैलिएला भन्न सकिने अवस्था छैन । त्यसैले, सरकार र नागरिक कसैले पनि लत्तो छाड्ने काम गर्नु हुँदैन । सत्ताको समर्थनमा गरिएको भेला–जुलुस होस् या विपक्षमा, सर्वत्र जनस्वास्थ्य नियमको पालना गर्नु–गराउनुपर्छ । यस्तो दायित्व सम्बन्धित कार्यक्रम आयोजकहरूको पनि हो । यसमा सरकारले पनि भूमिका खेल्नुपर्छ, त्यसको सुरुआत सत्ताको समर्थनमा गरिएका कार्यक्रममा व्यक्तिगत दूरी कायम गर्न लगाएरै गरियो भने बढी उदाहरणीय हुन सक्छ ।अहिलेसम्म मुलुकमा कोरोना भाइरसविरुद्धको खोप कहिलेसम्म आइपुग्छ भन्ने कुनै टुंगो लागेको छैन । खोप आइपुगिसकेपछि पनि सर्वसुलभ हुन कति समय लाग्छ, यसै भन्न सकिँदैन । र, नयाँ प्रजातिका भाइरसको हकमा खोपले कति काम गर्न सक्छ भन्ने पनि यकिन भैसकेको छैन । त्यसैले वर्तमान संक्रमणलाई थप फैलिनबाट रोक्न यथाशीघ्र खोप ल्याउने तदारुकता देखाउन जति जरुरी छ, त्यति नै अनिवार्य छ— स्वास्थ्य नियमहरूको निरन्तर पालनाको । यसका लागि, सरकारले दोस्रो लहर आउन नदिन हरसम्भव उपाय त अपनाउनुपर्छ नै, कथं संक्रमण फैलिइहाल्यो भने आवश्यक पर्ने उपचार व्यवस्था पनि मिलाइराख्नुपर्छ ।
यस्तो अवस्थामा हरेकले आफ्नो नागरिक दायित्व भुल्नु हुँदैन । खासगरी विदेशबाट आउनले आफ्ना कारण परिवार र समुदायमा संक्रमण नफैलियोस् भनेर आवश्यक सावधानी अपनाउनुपर्छ । र, अहिले सबैजसो स्थल खुलिसकेकाले देशभित्रै बसेकाले पनि घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्क पहिरिनेदेखि व्यक्तिगत दूरी कायम राख्ने र समय–समयमा हात धुने वा ‘स्यानिटाइजर’ प्रयोग गर्नेजस्ता नियमहरूको पालना गरिरहनुपर्छ । हरेक व्यक्ति सतर्क रहने हो भने, कसैमा संक्रमण रहेछ भने पनि अरूमा फैलिन पाउँदैन ।
सरकारले ध्यान दिनुपर्ने अर्को पक्ष भनेको कोरोना भाइरसको ‘जिनोम सिक्वेन्सिङ’ गरेर अध्ययन गर्नु पनि हो । कोरोना भाइरसले विश्वभर नै आफ्नो अनुवंशिक गुण परिवर्तन गरिरहेको सन्दर्भमा नेपालमा पनि छुट्टै प्रकारको भेरियन्ट विकास नभएको होला भन्न सकिने अवस्था छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको कोरोना संक्रमित बिरामीहरूको सार्स–कोभ–२ भाइरसको अनुवंशिक अनुक्रमीय व्याख्यासम्बन्धी अध्ययनमा यहाँ भेटिएका भाइरसमा पनि केही अनुवंशिक परिवर्तन भएको पाइएको थियो । यस्तोमा कोरोना भाइरसमा कस्तो प्रकारको परिवर्तन भइरहेको छ र मुलुकमा यसका कुन–कुन प्रजाति आइरहेका छन् भनेर अध्ययन गर्न यसको नमुना सधैं विदेश पठाएर सम्भव हुँदैन ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले उक्त अध्ययन गर्दा नेपालकै एक निजी प्रयोगशालामा नमुना परीक्षण गरी त्यसलाई थप प्रमाणित गर्न हङकङ प्रयोगशाला पठाइएको थियो । यस्तै पुसको पहिलो साता बेलायतबाट फर्किएका तीन जनामा बी.१.१.७ कोरोना भाइरसको संक्रमण रहे/नरहेको पुष्टि गर्नका लागि पनि संक्रमितहरूबाट लिइएको स्वाब नमुना हङकङ पठाउनुपरेको थियो । यही अवस्था विद्यमान रहिरहनु हुँदैन, मुलुकमै यस्तो परीक्षणका लागि यथोचित व्यवस्था मिलाइनुपर्छ । र, यसप्रकारको अध्ययनलाई निरन्तरता दिइनुपर्छ । मुख्य कुरा, भाइरसका जुनसुकै प्रजातिसित जुध्ने उपाय भने फेरि पनि एउटै हो– हरेकले यथोचित स्वास्थ्य सतर्कता अपनाउनैपर्छ ।कान्तिपुर माघ ७, २०७७सम्पादकीय

