काठमाडौं– मूलधारका मिडियाका दुई र विज्ञापन एजेन्सीका दुई छाता संस्थाबीच विज्ञापन कारोबारसम्बन्धी आचारसंहिता लागू र व्यावसायिक कारोबार गर्ने सहमति भएको छ । नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल, नेपाल विज्ञापन संघ (आन) र राष्ट्रिय विज्ञापन संघ (नान) ले बुधबार १७ बुँदे सम्झौता गर्दै विज्ञापनसम्बन्धी कारोबार व्यवस्थापन तथा अनुगमन कार्यविधि पनि बनाएर लागू गर्ने उल्लेख गरेका हुन् ।
सम्झौतापत्रमा आनका अध्यक्ष सुदीप थापा, नानका अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठ, मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल र मिडिया एलायन्सका भाष्करराज राजकर्णिकारले हस्ताक्षर गरेका छन् । सम्झौताले आर्थिक मन्दीबाट आक्रान्त मिडिया क्षेत्रको निरन्तरता र सञ्चालनमा समेत ठूलो टेवा पुग्ने बताइएको छ ।
सम्झौताको उद्देश्य मूलधारका सञ्चारमाध्यमले सम्बन्धन प्राप्त विज्ञापन व्यावसायिक संस्था (एजेन्सी) सँग मात्र व्यावसायिक कारोबार गर्नर् ेहो । सम्झौताले विज्ञापन दररेटमा जथाभावी चलिरहेको विकृतिलाई रोक्न मद्दत पुग्ने जनाएको छ । ‘छापा माध्यमहरूमा प्रतिकोलम प्रतिसेमि पाँच सय रुपैयाँ, टेलिभिजनहरूमा न्यूनतम दर प्रतिमिनेट एक हजार रुपैयाँ कायम हुनेछ,’ सम्झौतामा भनिएको छ, ‘मिडियाहरूले कुनै पनि स्किम चलाउँदा समेत विज्ञापनको न्यूनतम दररेटभन्दा कम गर्न मिल्ने छैन ।’ तोकिएभन्दा न्यूनतम दरमा विज्ञापनसम्बन्धी कारोबार गरे उक्त मिडियालाई ३ महिना कारोबार गर्न निलम्बन गरिने उल्लेख छ ।
सम्झौताअनुसार विज्ञापन एजेन्सीले क्रिएटिभ कन्सेप्ट डिजाइनबापत वार्षिक न्यूनतम ६ लाख रुपैयाँ वा प्रत्येक क्रिएटिभ कन्सेप्टबापत शुल्क ५ हजार रुपैयाँभन्दा कम लिन पाइने छैन । ‘विज्ञापन एजेन्सीलाई दिएको १५ प्रतिशत कमिसन र मिडिया मार्केटिङ एजेन्सीले वाइङको हकमा प्राप्त गर्ने अधिकतम थप ७ प्रतिशत शुल्क बापतको रकमबाट विज्ञापनदातालाई छुट दिन पाइँदैन,’ सम्झौतामा भनिएको छ, ‘सम्झौतामा आवद्ध सञ्चारमाध्यमले विज्ञापन सम्बन्धी कारोबार गर्न आफ्नो दररेट सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ ।’
सञ्चारमाध्यमको बिलबिजकमा उल्लिखित रकम सम्झौताअनुसार नभई एजेन्सी र सञ्चारमाध्यम आफैं मिलेमतो गरी भुक्तानी लिएमा दुवैलाई कारबाही हुने सम्झौतामा उल्लेख छ । ‘बिलबिजक प्राप्त गरेको दिनबाट विज्ञापनदाताले एजेन्सीलाई ३० दिन र एजेन्सीहरूले ६० दिनभित्र मिडियालाई भुक्तानी गरिसक्नुपर्नेछ,’ सम्झौतामा भनिएको छ, ‘एजेन्सीले ६० दिनभित्र पनि भुक्तानी नगरे विज्ञापन प्रकाशनको मितिदेखि गणना हुने गरी वार्षिक १५ प्रतिशतले ब्याजसहित चुक्ता गर्नुपर्नेछ ।’
सञ्चारमाध्यमले विज्ञापनदातासँग सिधै विज्ञापनको कारोबार गर्न नपाइने तर इभेन्टको हकमा भने सिधै कारोबार गर्न पाइने जनाइएको छ । ‘कुनै पनि विज्ञापन एजेन्सी र सञ्चारमाध्यमहरूको पुरानो हरहिसाब नमिलेको भए आगामी पुस मसान्तसम्म मिलाइसक्नुपर्नेछ,’ सम्झौतामा भनिएको छ, ‘साउन १ देखि छापिने नयाँ विज्ञापनको हकमा यो सम्झौताबमोजिम गर्नुपर्नेछ ।’
विज्ञापन एजेन्सीले मिडियासँग विज्ञापनसम्बन्धी कारोबार गर्नका लागि मिडिया वा सोसँग सम्बन्धित संघसंस्थाहरूबाट हरेक वर्ष ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने सम्झौतामा उल्लेख छ । वार्षिक ५० लाख बराबरको कारोबार र कम्तीमा तीनवटा फरक–फरक विज्ञापन दातासँग बिलबिजक गरिसकेको विज्ञापन एजेन्सीलाई संस्थागत रूपमा विज्ञापनसम्बन्धी कारोबार गर्न योग्य रहेको मानिने छ । सम्बन्धन प्राप्त विज्ञापन एजेन्सीले विज्ञापनसम्बन्धी कारोबार गर्न सञ्चारमाध्यमको आफ्नो नीतिअनुसार बैंक ग्यारेन्टी वा नगद धरौटी राख्नुपर्ने सम्झौतामा उल्लेख छ । ‘सबै सञ्चारमाध्यमले विज्ञापन बोर्डमा दर्ता भएका आन वा नानसँग आवद्ध एजेन्सीसँग मात्र कारोबार गर्नुपर्नेछ,’ सम्झौतामा भनिएको छ, ‘एजेन्सीहरूले पनि मिडियासँग काम गर्दा नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपालसँग आवद्ध मिडियासँग मात्र विज्ञापनसम्बन्धी कारोबार गर्नुपर्नेछ ।’
मिडियासम्बद्ध संस्थाबीच आचारसंहिता र व्यावसायिक कारोबार सम्झौता
मिडियासम्बद्ध संस्थाबीच आचारसंहिता र व्यावसायिक कारोबार सम्झौता
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

