मिडियामा खोजी गरेर पुष्टिका साथ ‘इन डेप्थ’ स्टोरी नगर्दा मिडियाको विश्वसनियतामा माथि अहिले प्रश्न उठेको छ । अहिले मिडिया संकटमा पर्नुको दुई कारण छ । एक, आन्तरिक र अर्को बाह्य । आन्तरिकमा हाम्रै कमजोरी पनि हो । हामीले कस्तो खालको स्टोरी प्रकाशन गरिरहेका छौं ? तथ्यको पुष्टि गरिरहेका छौं ? हामीले हाम्रो काम प्रभावकारीरुपमा नगर्दा पनि विश्वसनियतामा प्रश्न उठेको छ । पर्याप्त मिहिनेत, पुष्टि र गहिराईमा नगई सतहि खालकोे रिपोर्टिंग गर्नाले ।
अर्को बाह्य कारणमा प्रविधिले दिएको चुनौति हो । पाठकले पैसा तिरेर किनेको सामग्रि सोसल मिडियाले खोसिदियो । विज्ञापन र पाठक सोसल मिडियाले लग्यो । यो चुनौति चिर्न प्रविधिलाई नै उपयोग गर्नु पर्छ । फलामलाई फलामले काट्छ भने झैं प्रविधिलाई नै सहयोृगि बनाउनु पर्छ ।
प्रविधिको प्रयोग गरेर स्टोरी भन्न सकिन्छ । खोजपूर्ण स्टोरी पनि डाटा (तथ्यांक)बाट निस्कन सक्छ । गैर राजनीतिक विषयलाई पनि रोचकतरिकाले लेखेमा पढिन्छ । कुनै पनि स्टोरीलाई रोचक बनाउन संवाददाताको सम्बन्धित विषयमा एकदमै बढी रुचि हुनु पर्छ । इन्टेस्ट र इन्टेस्टिंग । संवाददाताको एकमात्र ध्याउन्न यसलाई कसरी रोचक बनाउने ? भन्ने तर्फ हुनु पर्छ । संकलित सूचनालाई कसरी रोचक बनाउने भन्ने तर्फ लाग्नु पर्छ । संकलित सूचनालाई स्टोरीमा ढाल्नेमा हामी चुकिरहेका छौं ।
हार्ड न्युज र स्टोरि टेलिङ । अहिले कुनै पनि घटना भएको छ भने प्लेन किसिमले हार्ड न्युज दिनु पर्छ । यसको छुट्टै महत्व छ । तर, यसले मात्र पाठकलाई पुग्दैन । एक साता पछि उक्त घटना कसरी भयो ? भन्दै पछाडी फर्केर ‘इन साईड’ स्टोरी निकाल्नु पर्छ । हो, पाठकलाई सूचना चाहिन्छ, हार्ड न्युजको आफ्नै महत्व छ । तर, पाठकलाई सामान्य सूचनाले मात्र पुग्दैन । अझ गहिराईमा गएर जान्न चाहन्छन् । त्यसकालागि ‘स्टोरि टेलिङ’बाट जानु पर्छ । हार्ड न्युजभित्र पनि ‘इन साईड’ स्टोरी निकाल्नु पर्छ । त्यसकोलागि ‘स्टोरी टेलिङ’बाट जान सकिन्छ ।जर्नालिज्म भनेको ‘बिजनेश अफ थिंकिंग’ पनि हो । कत्तिको सोंच्छौं ? कत्तिको मथ्छौं ?
कसरी गर्ने स्टोरि टेलिङ ?
यसमा खासै विवाद देख्दिन । पत्रकारिता पनि एक खालको साहित्य हो । ज्ञानको उत्पादन गरिरहेका छौं । रिसर्च,भाषा,लेखन यी सबैकुराहरु पर्छन् ।
साहित्यमा कल्पनाशिलता हुन्छ, समाचारमा यथार्थ । स्टोरि किन लेखिंदैछ ? यसमा प्रष्ट हुनु पर्छ । दिनभरिका धेरै घटनामध्ये कुनै निश्चित घटना मात्र समातिएको हुन्छ । त्यो स्टोरि किन लेख्नु पर्यो ? त्यसको जस्टिफाई संवाददाताले गर्नु पर्छ । स्टोरि टेलिङको ओपनिङ पाठकलाई रुचि जगाउने खालको हुनु पर्छ । त्यसलाई विस्तार गर्दै दोस्रो प्याराग्राफमा अलि विस्तृत दिनु पर्छ । तेस्रो, चौथो प्याराग्राफमा यो स्टोरी किन पढिदैछ ? (नटग्राफ) । स्टोरीको वृहत विषय के हो ? नटग्राफमा तीनवटा कुरा हुनु पर्छ । पहिलो, यो स्टोरी किन अहिले लेखिंदै छ ? जस्टिफाई गर्नु पर्यो । दोस्रो कुरा, इस्युमा एउटा पात्रलाई समातिएको हुन्छ । प्रतिनिधिमुलक घटना । त्यो घटना अर्थात पात्रले समातेको ठूलो विषय के हो त ? यसकाले लार्जर पार्ट लिनु पर्छ । तेस्रो नटग्राफले स्टोरिमा थप के के आउनेवाला छ ? एकखालको जानकारी दिनु पर्छ । नत्र पाठकले किन पढ्ने त ?
अन्तिमसम्म पढ्ने बनाउन एक खालको हिन्ट दिनु पर्छ । किनकी पाठकलाई यात्रा लैजाँदै गरेको अवस्था हो । त्यसकालागि इस्युको बारेमा बढी भन्दा बढी जानकारी र एंगल लिनु पर्छ । पन्ध्र शय, दुई हजारको स्टोरि बनाउँदा जहाँबाट स्टोरी शुरु गरेको छ, त्यहिं गएर टुंग्याउने । त्यसो गर्दा पाठकलाई गन्तव्यमा पुगेको महसुस हुन्छ । तर स्टोरी हेर्दा के देखिन्छ भने एउटा पत्रकारले पाठकलाई बीच बाटोमा लगेर अलपत्र पारेजस्तो हुन्छ । स्टोरिको लजिकल वा सकुर्लर इन्डिग हुँदैन । त्यो कमजोरी पाइन्छ ।
विदेशी सञ्चारमाध्यमहरू खोजमूलक रिपोर्टिङका निम्ति विभिन्न देशका पत्रकारसँग सहकार्य गरिरहेका हुन्छन्। सहकार्य विना यस्तो रिपोर्ट पूर्ण हुँदैन पनि। हरेक मान्छेसँग फरक फरक सीप र क्षमता हुन्छन्। एकले अर्काको काम हेरेर सिक्दै-सिकाउँदै जाँदा नै राम्रो स्टोरी तयार हुने हो।
नेपाली र विदेशी पत्रकारको काम गर्ने शैलीमा केही फरक छ। हाम्रा समाचार पढ्दै जाँदा सन्दर्भ लेख्न छुटाए जस्तो लाग्छ। जस्तो- अहिले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा, फलानो मन्त्रीको पालामा जस्ता कुरा लेखिन्छन्। जुन कुरा धेरै पाठकलाई थाहै हुन्न। त्यस्तै, राजनीतिक समाचारमा फलानो छलफलमा यस्ता कुरा भए, यस्तो निर्णय भयो लेखिन्छ। तर त्यो छलफल के का निम्ति गरिएको थियो भन्ने खुलाइँदैन। यसरी हेर्दा नेपाली सञ्चारमाध्यममा कच्चा सूचना आउँछ, समाचार आउँदैन।
अर्को कुरा, नेपालमा खोज पत्रकारितामा सूचना र तथ्यहरू मात्र पस्किइन्छ, पठन रुचिकर बनाउनतिर ध्यान दिइँदैन। जस्तोसुकै नयाँ कुरा खुलासा गरे पनि धेरैभन्दा धेरै मानिसले पढेनन् भने के अर्थ? यसका निम्ति कथा भन्ने शैलीमा पनि मिहिनेत गर्नुपर्छ। आफैंलाई प्रश्न गर्नुपर्छ- हामीले दिइराखेको समाचार पाठककेन्द्रित छ त? हाम्रो समाचारको विषय आमसरोकारको हो त? भाषा, शैली र समाचार पस्किने तरीका ठीक छ कि छैन? सबैभन्दा ठूलो कुरा त हामीले जनताका समस्या कत्तिको उठाएका छौं?
नेपाली अनलाइनमा काम गर्नेहरू धेरैजसो राजनीतिक विषयका समाचार मात्र पढिने ठान्छन्। यसो गर्दा मूलधारकै सञ्चारमाध्यममा अरू कैयौं महत्त्वपूर्ण विषय छुटिरहेका छन्। राजनीतिकर्मीलाई प्रश्न गर्नु र जवाफदेही बनाउनु पनि महत्त्वपूर्ण छ। तर पत्रकारिताको धर्म त्यति मात्रै चाहिं होइन। आममानिसको जीवनसँग प्रत्यक्ष जोडिएका विषय पाठकले अझ चाख मानेर पढ्छन्। यति हो, समाचारको प्रस्तुति रोचक चाहिं बनाउन सक्नुपर्यो। विषयवस्तु, आकस्मिकता र परिस्थितिको गाम्भीर्यले प्रस्तुति रोचक बनाउन सकिएन भने पनि कुन समाचार कसरी लेख्ने भन्ने त थाहा हुनैपर्छ। छिटो लेख्नुपर्ने समाचारमा पनि सम्पूर्ण सूचना र सन्दर्भ त आउनैपर्छ।
विषय छनोट, प्रस्तुति र भुइँमान्छेका सरोकारप्रतिको संवेदनशीलताले सञ्चारमाध्यमको स्तर समेत निर्धारण गरिरहेको हुन्छ। मिहिनेत नपुर्याई गरिएको सतही कामले नै अहिले सञ्चारमाध्यमप्रति अविश्वास बढिरहेछ। अर्कातिर फेरिएको प्रविधिले कामको ढाँचा पनि फेर्नुपर्ने चुनौती थपिएको छ। सञ्चारमाध्यमका विज्ञापन, पाठक तथा दर्शक सामाजिक सञ्जालतिर लागेका छन्। अब हामीले समाचार भन्न यही प्रविधि उपयोग गर्नुपर्ने देखिएको छ। तब त्यो चुनौती नभएर सहयोगी बन्नेछ।
अहिले संसारका ठूला सञ्चारमाध्यममा पत्रकारभन्दा बढी सूचनाप्रविधिज्ञ तथा तथ्यांक विश्लेषक छन्। तिनले ठूल्ठूला ‘डकुमेन्ट’ बाट सूचना र तथ्यांक खोज्दै तिनलाई आकर्षक ढंगले प्रस्तुत गर्न सघाउँछन्। तर नेपाली सञ्चारमाध्यममा यस्ता जनशक्ति छैनन्। रिपोर्ट राम्रो हुँदा पनि त्यसलाई प्रभावकारी बनाउन डेटा भिजुअलाइजेशन, ग्राफिक्स, इलुस्ट्रेशन तथा मल्टिमिडियामा काम भएको छैन।
सञ्चारमाध्यमप्रतिको विश्वास खस्कँदै जानुको अर्को कारण गल्ती गर्ने तर सच्याउन गाह्रो मान्ने प्रवृत्ति हो। सूचना पाउनासाथ पुष्टि गर्नुभन्दा ‘शेयर’ वा ‘ब्रेक’ गर्न हौसिने प्रवृत्तिले गल्ती बढाइरहेछ। त्यसैले प्रकाशन गर्नुअघि टक्क अडिएर पुष्टि गर्नतिर लाग्नुपर्छ। गल्ती भइहालेछ भने पनि ‘भूलसुधार’ लेखिनुपर्छ। तर हामीकहाँ यसो गर्दा विश्वसनीयता घट्ने भ्रम छ। त्यो त्याग्नुपर्छ।
अहिले सञ्चारजगत्मा एआईको पनि व्यापक चर्चा हुन्छ। यसले पत्रकारको जागीर खोस्छ भन्ने हाउगुजी फैलिरहेछ। तर एआईले हरेक सूचनाको तथ्य जाँच र विश्लेषण गरेर लेख्न सक्दैन। त्यसैले पत्रकारको जागीर पनि खोस्दैन। बरु हामी स्टोरी तयार पार्न एआईको सहयोग लिन सक्छौं। विदेशी सञ्चारमाध्यमले त्यसै गरिरहेछन्।
साहित्य जस्तै पत्रकारिता
पत्रकारिता एक किसिमको साहित्य नै हो। यसले पनि साहित्यले जस्तै ज्ञान उत्पादनकै काम गर्छ। फरक यत्ति हो- साहित्यमा कल्पनाशीलता हावी होला, पत्रकारितामा तथ्य। तथ्यको प्रस्तुति र भाषा रूखो नै हुनुपर्छ भन्ने कहीं छैन। जटिल र प्राविधिक विषयलाई पनि पाठकले रुचाउने गरी आकर्षक भाषामा प्रस्तुत गर्न सकिन्छ। यसका लागि रिपोर्टरसँग लेखन, अध्ययनसँगै भाषाशैलीको ज्ञान चाहिं कम्तीमा हुनैपर्छ।
अहिले धेरैजसो नयाँ रिपोर्टर लेख्न खोजेको विषय कसरी प्रस्तुत गर्ने भन्नेमै अलमल पर्छन्। यसलाई जित्न लेख्नुअघि धेरैभन्दा धेरै घोत्लिनुपर्छ। घोत्ल्याइँबाटै हो, विषयवस्तुलाई सही ‘फ्रेम’ दिन सकिने। स्टोरी लामो छ भने शुरूआत नै पाठकलाई रुचि जगाउने किसिमले गर्नुपर्छ। दोस्रो अनुच्छेदमा विषयलाई अलिकति विस्तार गर्नुपर्छ। तेस्रो-चौथो अनुच्छेदमा स्टोरी लेखिनुको प्रयोजन खुल्नुपर्छ। यस्तो सिलसिलालाई अंग्रेजीमा ‘नटग्राफ’ भनिन्छ। पहिलो ‘नटग्राफ’ ले समाजका धेरै घटना र विषयमध्ये हामीले समाचारमा किन निश्चित मात्र टिप्यौं भन्ने पनि पुष्टि गर्न सक्नुपर्छ।
दोस्रोमा ती पात्र र घटना मार्फत देखाउन खोजेको समस्या कति ठूलो हो भन्ने चित्रण गरिनुपर्छ। तेस्रोले स्टोरीमा थप के के आउनेवाला छ भन्ने संकेत गर्नुपर्छ। नत्र पाठकले त्यो स्टोरी अन्तिमसम्म किन पढ्ने? ‘नटग्राफ’ सँगै पाठकलाई विषयको जानकारी बढीभन्दा बढी दिने गरी तथ्य, तथ्यांक, घटना र पात्रहरू उधिन्दै स्टोरी अघि बढाउनुपर्छ। बिट मार्ने वेला जहाँबाट शुरू गरेको हो, त्यहीं पुग्नुपर्छ। तब पाठकले पनि गन्तव्यमा पुगेको महसूस गर्छ।
नेपाली सञ्चारमाध्यममा आएका कतिपय लामा रिपोर्ट पढ्दा बीचैमा अलपत्र छाडे जस्तो लाग्छ। तिनमा तार्किक निष्कर्ष सहितको अन्त्य हुँदैन। यद्यपि राम्रो काम हुँदै नभएको होइन, जति गर्न सक्नुपर्ने हो त्यति भइरहेको चाहिं छैन। राम्रो सीप भएका पत्रकार छन् तर तिनलाई राम्रो समाचार तयार पार्न जति समय चाहिन्छ, दिइएको छैन। राम्रो समाचार तयार पार्न औसतमा महीनादिन लाग्छ। खोजमूलक समाचार लेख्न त अझ बढी।
मैले एक व्यक्तिको ‘प्रोफाइल’ लेख्न तीन-चार महीना पनि लगाएको छु। राम्रो ‘कन्टेन्ट’ का लागि सञ्चारगृहले स्रोतसाधन र जनशक्तिसँगै रिपोर्टरलाई पर्याप्त समय दिनुपर्छ। रिपोर्टरले लेख्नुभन्दा अगाडि सोच्नमा लगाएको समय पनि काम नै हो भन्ने बुझ्नुपर्छ। राम्रो समाचार आजको भोलि त तयार हुँदैन।
स्थलगत रिपोर्टिङमा जान गाडी, सहयोगी चाहिन सक्छ। पैसा पनि आवश्यक हुन्छ नै। सम्बद्ध ठाउँमै पुगेर धेरैभन्दा धेरै मानिससँग कुरा गरी तिनका दृष्टिकोण नखोतलीकन राम्रो रिपोर्ट लेख्न सकिन्न। तर हाम्रा धेरैजसो सञ्चारमाध्यम स्थलगत रिपोर्टिङमा पैसा खर्चन चाहँदैनन्।
अर्कातिर रिपोर्टरलाई प्रशिक्षण र मार्गदर्शनकै अभाव छ। कुनै सञ्चारमाध्यमले पत्रकारलाई लेखन कला सिकाएको देखिन्न। कतिपय रिपोर्टरमै पनि समस्या छ। ‘डेडलाइन’ सकिन लागेपछि मात्र रिपोर्टिङ थाल्छन्। कतिमा चाहिं पत्रकारितालाई अरू फाइदामा उपयोग गर्ने प्रवृत्ति छ। कोही कार्यक्रममा जान पाइने र ठूला मान्छे भेट्न पाइने लोभले पत्रकारितामा लागेको देख्छु। तर पत्रकारितामा छिर्न लाइसेन्स चाहिने होइन। को कस्तो पत्रकार हो भन्ने त ‘बाइलाइन’ ले नै देखाइहाल्छ। गुणस्तरभन्दा संख्यामा ध्यान दिएर लेख्नेहरू छानिंदै जान्छन्।
लेखनमै जस्तो समस्या सम्पादनमा पनि छ। सम्पादन भनेको भाषा मात्रै मिलाउने होइन। एउटै सामग्री पटक पटक सम्पादन गर्नुपर्ने हुन सक्छ। रिपोर्टरलाई थप सूचना खोज्न र पुनःसंरचना गर्न लगाउनुपर्ने हुन सक्छ। तब बल्ल पढ्नलायक सामग्री तयार हुने हो।
विदेशी सञ्चारमाध्यममा सम्पादक र रिपोर्टर एउटा इस्यूमा सँगै काम गर्छन्। त्यसलाई चरण चरणमा सम्पादन गर्छन्। ‘कन्टेन्ट’ मा रिपोर्टर र सम्पादकबीच विवाद निम्तिए पनि एउटा बिन्दुमा पुगेर सहमति हुन्छ नै।
हाम्रा सञ्चारमाध्यममा चाहिं के भइरहेको छ भने रिपोर्टरले समाचार पठाउँछ अनि सम्पादकले त्यसैलाई अलि अलि भाषा मिलाएर छापिहाल्छन्। सम्पादक र रिपोर्टरको सहकार्य निकै कम देखिन्छ। साभार : हिमाल खबर डट कम शनिबार, चैत १७, २०८०

