काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा अध्ययनरत विद्यार्थीहरुको मौखिक परीक्षा (भाइभा ) रोकिएको छ ।
विश्वविद्यालयको बेलझुण्डिस्थित विश्वविद्यालयको सेवा आयोगमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरे पछि परीक्षा नै रोकिएको हो । सेन्टरको आयुर्वेद स्नातक ( बीएमएस ) तृतिय प्रोफेशनको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीको भाइभा रोकिएपछि २१ जना विद्यार्थीको भविष्य अन्यौलग्रस्त भएको छ । केन्द्रीय आयुर्वेद विद्यापीठ,दाङमा अध्ययनरत विद्यार्थीको भने भाइभा एक महिना अघि भएको थियो ।
पतञ्जली मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले यथाशीघ्र भाईभाको परीक्षा सञ्चालन गर्न माग गरे । ‘ मौखिक परीक्षा नहुँदा मानसपटलमै नकारात्मक असर परिसकेको छ । मौखिक परीक्षा गर्नमा डीन कार्यालयले विभिन्न बहानाबाजी गरिरहेको छ,’ पतञ्जलीमा अध्ययनरत विद्यार्थीले भने,‘ एक वर्षको इन्टर्नसीप अझैं बाँकी छ । साढे पाँच वर्षको कोर्श सकिन सात वर्ष लाग्ला जस्तो छ ।’
पतञ्जली आयुर्वेद विद्यार्थी कल्याणकारी परिषदका अध्यक्ष डा. रुपेशकुमार ठाकुरले विज्ञप्ति प्रकाशित गरि डीन कार्यालय गैरजिम्मेवार भन्दै विभिन्न बहानाबाजी बनाउँदै पन्छिरहनु गैरजिम्मेवारी पनको पराकाष्ठा भएको जनाएका छन् ।
विश्वविद्यालयका डीन डा. चन्द्रप्रसाद भुषालले समयमा भाइभा नहुँदा विद्यार्थी मर्कामा परेको स्वीकारे । ‘ तालाबन्दी गरेकाहरुसँग केही बुँदामा सहमति भएको छ । वार्ता सकारात्मक छ,’ उनले भने,‘ रेक्टर कार्यालयबाट पाठ्यक्रम परिमार्जन समितिको चिठी (पत्र) प्राप्त भएमा मात्र तालाबन्दी खोल्ने नेबिसँघको माग छ । रेक्टर कार्यालयमा समेत तालाबन्दी गरेको पत्र बनाउन सकिएको छैन ।’ पाठ्यक्रम परिमार्जनकोलागि पत्र पठाउने जिम्मा आफूले जिम्मा लिने बताएर तालाबन्दी खोल्न आग्रह गर्दा समेत नेबिसंघले अस्वीकार गर्दा समस्या बढेको डीन भुषालले बताए ।
प्रतिबद्धता विर्सेर तालाबन्दी
गत साउन १ गते नेपाल विद्यार्थी संघ लगायत ६ वटा विद्यार्थी संगठनले विश्व विद्यालय जस्ता प्राज्ञिक क्षेत्रमा तालाबन्दी नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, उक्त प्रतिबद्धता विपरित तालाबन्दी गर्दा परीक्षा दिनबाट बञ्चित हुनु परेको विद्यार्थीको गुनासो छ ।
उच्च अदालत तुलसीपुरबाट २०७९ साउन २२ गते शैक्षिक क्षेत्रमा तालाबन्दी नगर्नू भनि दिएको अन्तरिम आदेशलाई समेत अवज्ञा गरिएको छ ।
नेबिसंघले विश्वविद्यालय पदाधिकारी र सेवा आयोगको मिलेमतोमा प्राज्ञिक उन्नयनको खिलाफमा धाँधली गरेको आरोप लगाउँदै ९ सूत्रिय माग राखि तालाबन्दी गरेको छ । तालाबन्दी भएको दुई महिना बितिसक्दा पनि समस्या समाधानमा डीन कार्यालय र नेबिसंघको वेवास्ताले भविष्य चौपट हुन पुगेको विद्यार्थीको गुनासो छ ।

