नागरिक राष्टिय दैनिकले १५औं वर्षमा प्रवेशको अवसरमा प्रकाशकीय मार्फत केही वर्षयता सूचना प्रविधिको तीव्रतर विकास भइरहेको उल्लेख गर्दै पत्रकारिताको परम्परागत अभ्यासमा प्रभाव पार्दै लगेको उल्लेख गरेको छ । हाम्रो प्रतिबद्धता शीर्षकमा प्रकाशित प्रकाशकीयको पुरा अंश ः
हाम्रो प्रतिबद्धता
प्रकाशकीय
मुलुकमा लोकतान्त्रिक शासन व्यवस्थासँगै सुरु भएको नेपाल रिपब्लिक मिडिया आजबाट १५औं वर्षमा प्रवेश गरेको छ। राजतन्त्रात्मक मुलुक लोकतान्त्रिक गणतन्त्रमा अनुदित भएपछि मुलुकको राजनीतिक परिस्थितिलाई मार्गदर्शन गर्ने उद्देश्यले यो संस्था स्थापना भएको हो।
लोकतन्त्रमा नागरिक आफैं मुलुक सञ्चालन गर्न सक्षम हुन्छन्। जनताकै छोराछोरीले राष्ट्रप्रमुख र सरकारप्रमुखको जिम्मेवारी लिन पाउने यो अद्वितीय अवसर हो। यसकारण पनि प्रत्येक नागरिक जानकार बन्नुपर्छ। आफूले कस्तो सरकार बनाउने, कसले चलाउने र कसरी मुलुकलाई अग्रगमनमा लैजाने भन्ने जिम्मेवारी अब कुनै वंशवाद होइन, नागरिक चेतनाकै आधारमा निश्चित हुन्छ। हो, यही नागरिक चेतना अभिवृद्धि गर्ने गुरुत्तर दायित्व बोकेर यो संस्था स्थापना भएको हो।
२०७२ सालमा नयाँ संविधान जारी भए पनि आम जनजीवन अझै उठ्न सकेको छैन। सोही वर्ष भूकम्पको मार पनि परेकै हो। फेरि कोभिड–१९ को असर विश्वमै पर्दा नेपाल पनि यसबाट अछुतो हुने कुरा भएन। बीचमा नाकाबन्दीको अवधि झन् प्रीतिकर रहेन। यी सबै घटनाक्रमलाई धान्दै अगाडि बढ्ने क्रममा मुलु कको सञ्चार क्षेत्र फैलिनेभन्दा खुम्चिने स्थितिमा पुगेको छ।केही वर्षयता सूचना प्रविधिको तीव्रतर विकास भइरहेको छ। यसले पत्रकारिताको परम्परागत अभ्यासमा समेत प्रभाव पार्दै लगेको छ।असल पत्रकारिता अभ्यासका निम्ति फेरि पनि ठाउँ छ। पत्रकारिताका गुणहरू यथावत् छन्, तिनलाई नयाँ मञ्च र ढंगबाट प्रस्तुत गर्नु आजको चुनौती हो।
पत्रकारितालाई मर्यादित बनाउँदै संविधानप्रदत्त आम नागरिकको जान्न पाउने अधिकार सुनिश्चित गर्न हामी क्रियाशील छौं। आज सूचना प्रवाह अविच्छिन्न रूपमा भइरहेको छ। प्रत्येक नागरिक सूचना प्रवाहमा समेत सामेल छन्। यस्तो बेला सही सूचनाको महŒव झनै हुन्छ। त्यस्तो सूचनालाई गहिराइमा पुगेर विश्लेषण गर्नु हाम्रो कर्तव्य हुन आउँछ। यो जिम्मेवारी बोध गर्दै हाम्रा प्रकाशनलाई आगामी दिनमा अझ सशक्त बनाउन हामी प्रतिबद्ध छौं।
प्रत्येक चुनौतीसँग अवसर पनि हुन्छन्। हामीले वर्तमानमा देखिएका चुनौतीबीच अवसर पहिल्याउन खोजेका छौं। संस्थागत ढंगबाट गरिने पत्रकारितालाई थप वस्तुनिष्ठ र जनोपयोगी बनाउनतिर हामी क्रियाशील छौं। हाम्रो यो प्रयासको परिणाम चाँडै आम पाठकसम्म आइपुग्नेमा हामी विश्वस्त छौं। हाम्रो संस्था स्थापना दिवसको यो अवसरमा हामी हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक, सहकर्मी सबैप्रति आभार प्रकट गर्छौं।
विनोदराज ज्ञवाली
अध्यक्ष, नेपाल रिपब्लिक मिडिया

