भारतमा हालै गरिएको एक अध्ययनले ४० वर्षपछि हरेक तेस्रो व्यक्तिमा ‘सेक्सुअल हार्मोन’ मा कमी आएको देखाएको छ । यो समस्यालाई ‘टेस्टोस्टेरोन डिफिसिएन्सी सिन्ड्रोम (टीडीएस)’ भनिएको छ । नयाँदिल्लीस्थित सर गंगाराम अस्पतालमा ७ सय ४५ व्यक्तिमा गरिएको अध्ययनले यो कुरा औंल्याएको हो । अनुसन्धानमा संलग्न ६० प्रतिशत व्यक्ति ‘टीडीएस’ पीडित रहेको पाइयो । ‘टेस्टोस्टेरोन हार्मोन’, पुरुषमा यौनक्षमता कायम राख्न सहयोग गर्छ । कुनै पुरुषमा यसको कमी भए यौनजन्य थुप्रै समस्या देखिन सुरु हुन्छ । शोधअनुसार उच्च रक्तचाप, मधुमेह र मुटु रोगका बिरामीमा ‘टीडीएस’ को जोखिम अझ बढी रहन्छ । पुरुषमा ४० वर्षपछि ‘टेस्टोस्टेरोन हार्मोन’ मा बर्सेनि ०.४ देखि २.६ प्रतिशतले कमी आउने गर्छ । शोधमा के पाइयो भने, मधुमेह नभएकाहरूमा ‘टेस्टोस्टेरोन डिफिसएन्सी सिन्ड्रोम’ कम पाइयो । मधुमेह भएकाहरूमा यो धेरै बढी पाइयो । उमेर बढी भएका र मधुमेह, मुटु रोग, उच्च रक्तचाप, भिटामिन ‘डी’ को कमीसँग जुधिरहेकाहरूमा हरेक वर्ष ‘टेस्टोस्टेरोन डिफिसिएन्सी सिन्ड्रोम’ को जाँच गराउनुपर्छ । यो एक प्रकारको रोग भएको र यसको उपचार हार्मोन परिवर्तनले सम्भव हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

