काठमाडौं- नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा केदार नरसिंह केसीको अध्यक्षतामा पूर्व अध्यक्षहरुको क्लब गठन गरिएको हो।
अध्यक्ष डा केसीसहित पूर्व अध्यक्षहरु डा हेमांग दीक्षित, डा मणिन्द्ररञ्जन बराल, डा आनन्द श्रेष्ठ, डा सुदिपकुमार भट्टचार्य, डा भोजराज जोशी, डा सुधा शर्मा, डा चोपलाल भुसाल, डा किरणप्रसाद श्रेष्ठ, डा अञ्जनीकुमार झा, डा मुक्तीराम श्रेष्ठ लगायतको उपस्थिति थियो।
जर्नल अफ नेपाल मेडिकल एसोसिएसनका प्रधान सम्पादक डा एन्जल मगरले लामो समयदेखि पूर्व अध्यक्षहरुको क्लब गठन गर्नुपर्छ भन्दै आइरहेका थिए। पूर्व अध्यक्षहरुको तितामिठा अनुभवहरुको संकलन गरी भावी पुस्ताले चिकित्सक संघको वास्तविक गरिमा, प्रतिष्ठा र मर्मलाई राम्रोसँग पहिचान गर्न सकून् भनेर क्लबको काम अगाडि बढाइएको डा मगरले जानकारी दिए।
क्लब किन गठन गरियो?
१. पूर्व अध्यक्षहरुको क्लब बिषेशत नेपाल चिकित्सक संघमा देखा परेका तत्कालिन समसामयिक बिषयवस्तुहरुमाथी नेपाल चिकित्सक संघले निर्वाह गर्नुपर्ने भूमिका सम्बन्धी संघका पूर्व अध्यक्षहरुको ज्ञान, अनुभव र मार्गनिर्देशलाई रुपान्तरण गर्नका निम्ती गठन गरिएको हो।
२. पूर्व अध्यक्षहरुको बृहत अन्र्तक्रियाको माध्यमबाट तत्कालिन समयमा देखा परेको समस्याहरुको उचित समाधानका लागि सार्वजनिक भएका विभिन्न दृष्टिकोणलाई निष्पक्ष र तार्किक रुपमा प्रस्तुत गर्दै संघले वर्तमान अवस्था र भावी दिनमा अवलम्बन गर्नु पर्ने निष्पक्ष र पारदर्शि भूमिकाका लागि आवश्यक राय सुझाब उपलब्ध गराउनका निम्ती।
३. यस क्लबको तर्फबाटसमिक्षात्मक बैठकको आयोजना गरी नेपाल चिकित्सक संघले संचालन गर्ने विभिन्न शैक्षिक गतिविधिहरु, नीतिगत सुझाब सल्लाह समावेश गर्ने खालका विभिन्न र्वकसप, सेमिनार तथा राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनहरु, प्रत्येक ३ बर्षमा आयोजना हुने अखिल नेपाल चिकित्सक सम्मेलनलाई कसरी व्यवस्थित, मर्यादित बनाउने र संघका सम्पूर्ण नयाँ पुस्ता र पुराना पुस्ताका सदस्यहरुबीच समन्वयात्मक, सहयोगात्मक भूमिका निर्वाह गर्दै अपनत्व महशुस गर्ने खालका विशेष रणनीतिहरु तर्जुमा गर्नका लागि।
४. चिकित्सकहरुको हकहीतका साथै नेपालको स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा नेपाल चिकित्सक संघले निर्वाह गर्ने भूमिका, त्यसका लागि सम्पूर्ण सरोकारवालाहरुसँग गरिने नीतिगत छलफल, परामर्श र मन्थनका लागि एक उच्च स्तरीय बौद्धिक छलफलको आयोजना गरेर वर्तमान नेतृत्वदायी भूमिकामा रहेका कार्यकारिणी समितिलाई आवश्यक निर्देश गर्दै सहजीकरणको भूमिका निर्वाह गर्नका लागि।
५. नेपाल चिकित्सक संघलाई विधि सम्मत तवरबाट संचालन गर्न, तत्कालिन समयमा देखा परेको विविध समस्याहरुको उचित समाधान निकाल्न तथा संघको बृहत्तर हितका लागि अवलम्बन गर्नु पर्ने नीतिगत रणनीतिक भूमिकाका सम्बन्धमा विशेष कार्ययोजना निर्माण गर्नका लागि समेत यस क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

