कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरि ७५ वर्षको पनि वृद्धावस्थामा पुगेजस्तो लाग्दैनथ्यो। स्वभाव, प्रकृति र चिन्तनशैलीका हिसाबमा विद्रोही युवाको छवि आर्जन गर्नुभयो। त्यही छवि लिएरै बित्नुभयो। आमचिनारी विद्रोही युवा थियो। विद्रोही युवाकै रूपमा यो धर्तीबाट बिदा हुनुभएको छ। र, आफ्नो मर्जीमा बाँच्ने विद्रोही युवा। उहाँ बाँचुञ्जेल आफ्नो मर्जीमा चल्नुभयो। अध्ययन र चिन्तनको दायरा व्यापक थियो। उहाँको राजनीतिक उठबस नै भारतका समाजवादी चिन्तकहरूसँग भयो। वनारस हिन्दू विश्वविद्यालयमा अध्ययन गर्नुभयो। जवाहरलाल नेहरू विश्वविद्यालयमा केही समय अध्यापनमा पनि संलग्न रहनुभयो। कुनै एउटा विधामा सीमित हुनेभन्दा पनि बहुआयामिक अध्येता र चिन्तक हुनुहुन्थ्यो।
नेपाली युवाहरूसँगको भेटघाटमा भारतका समाजवादी चिन्तक राममनोहर लोहियाको प्रसंग पनि धेरै आउँथ्यो। उहाँ मुख्यतः राजनीति र समाजशास्त्रमा नै बढी चिन्तन र व्याख्या गर्नुहुन्थ्यो। अभिव्यक्तिमा क्रान्तिकारीपन प्रकट हुन्थ्यो।
कांग्रेस नेता भीमबहादुर तामाङको सम्बन्धमा स्मारिका प्रकाशनमा जुटिरहेका बेला प्रदीप गिरीले उहाँलाई पक्का क्रान्तिकारीको संज्ञा दिनुभयो। बारम्बार मसँग भन्नुभयो, ‘पक्का क्रान्तिकारी भीमबहादुरजी हो। म होइन है राजेन्द्रजी।’ मैले जवाफ फर्काएँ– ‘तपाईंले जसरी कुनै व्यक्तिलाई जोस्याउन सक्नुहुन्छ। भीमबहादुरजी त्यसरी अलि सक्नुहुन्न।’
निरुद्देश्य भएको वा द्विविधाग्रस्त व्यक्ति रहेछ भने पनि प्रदीप गिरीसमक्ष भेट हुँदा उपचार हुन्थ्यो। कुनै मनोविद् वा मनोचिकित्सकसमक्ष जानुपर्दैनथ्यो। उहाँले एउटा मार्गदर्शन गर्नुहुन्थ्यो। मेरा धेरै साथीहरू कुण्ठा, निराशा र द्विविधाले ग्रस्त हुन्थे। त्यस्ता साथीहरू पनि प्रदीपजीसँग भेट भएर कुरा सुनिसकेपछि बाटो समातेर पुनः ऊर्जाशील हुन्थे। त्यसरी जीवनमा सफल भएका धेरै दृष्टान्त छन्।
बौद्धिक इमानदारी
उहाँसँग मेरो भेट २०४२ सालको सत्याग्रहका बेला हुन पुग्यो। म पक्राउ परें। सेन्ट्रल जेलमा लगे। त्यहाँ प्रदीपजी पनि हुनुहुँदो रहेछ। भेट भयो। करिब चार महिना जेलमा सँगै बस्यौं। उहाँ अलि छिटो छुट्नुभयो। म अलि ढिलो छुटें। बाहिर निस्किएपछि उहाँसँग बारम्बार भेट भइरह्यो। पाना–पाना छुट्टिएको अंग्रेजी भाषाको नेपोलियनको पुस्तक हातमा थमाइदिँदै एकदिन फ्याट्ट भन्नुभयो, ‘राजेन्द्रजी तपाईंलाई इतिहासको अध्ययन अझै पुगेको छैन। इतिहास पढ्नुस्। यो पुस्तक पढ्नुहोस्।’
प्रदीपजीको जीवनशैली मौलिक थियो। चिन्तनशैली, व्यवहार मौलिक थियो। त्यसको परिणाम जो संगतमा पुग्थ्यो ऊ प्रभावित हुन्थ्यो। उहाँसँग लामो÷छोटो संगत गर्दा पनि जोकोही प्रभावित हुन्थ्यो। निस्वार्थताका साथ भेट्न गएका (खासगरी युवा)हरू प्रभावित भएर फर्किन्थे। त्यसका केही दृष्टान्तहरू छन्।
बस्तीपुरका श्रीलाल भन्ने व्यक्ति जेटीए थिए। जिज्ञासु र तर्कशील थिए। प्रदीप गिरिजीसँग भेट भएछ। श्रीलाललाई जागिर खाएर बस्नेभन्दा अध्यता भएर निस्कन सुझाव दिनुभएछ। त्यो सुझावको असर यति परेछ कि हुँदाखाँदाको जागिर नै छाडे। प्रदीप गिरीले त्यति बेला सायद चार–पाँच हजार पैसा दिनुहुन्थ्यो। श्रीलाल डेरा लिएर बस्न थाले। श्रीलालको जीवन नै बदलियो। प्रदीपजीको मौलिक जीवनशैली, सोचाइ र चिन्तनले श्रीलाल प्रभावित भए। दुर्भाग्यवश ! केही वर्षअघि श्रीलालको पनि क्यान्सरबाट निधन भयो। प्रदीपजीको घाँटीको क्यान्सरबाट अवसान भयो।
भेट भएको व्यक्तिलाई उत्प्रेरित गराउन सक्ने क्षमता थियो। त्यो पुँजी भनेकै बौद्धिक इमानदारी थियो। अध्ययन गरेका कुराहरू निचोडका रूपमा सुनाउनुहुन्थ्यो। खासगरी युवालाई जोस्याउनुहुन्थ्यो। युवाहरूलाई ‘ट्याक्टिस’ पनि सिकाउनुहुन्थ्यो। उत्प्रेरित गर्ने शैली क्रान्तिकारी थियो। उहाँले आधा घण्टा जोसिलो पारामा ‘लेक्चर’ दिएपछि भेट्न आएको व्यक्ति प्रभावित हुन्थ्यो।
राजनीतिका मानक व्यक्ति
प्रदीपजीले जुनसुकै पेसाको भए पनि युवाको संगत गर्नुभयो। आफू पनि युवापन महसुस गर्नुभयो। प्रदीपजीको एकदमै अग्लो राजनीतिक र सामाजिक व्यक्तित्व थियो। अर्कोतर्फ एकदमै गहिरो अध्ययन र चिन्तन थियो। समझ र परिपक्व व्यक्तित्व थियो। उहाँलाई राजनीतिमा एउटा मानकका रूपमा लिनुपर्छ। उहाँको जीवनशैलीलाई एक सय मान्ने हो भने कुनै नेताले शतप्रतिशत सो जीवनशैली अपनाउन नसके पनि ५०–६० मा आओस्।
मतदाताले निर्वाचित गराएर पठाएका कारण सिंगो मुलुकले प्रदीप गिरिको अध्ययन, चिन्तन, अनुभव र साहसको लाभ पायो। त्यो लाभ सिरहावासीले नै दिलाएका हुन्।
उहाँ राजनीतिमा हुनुपर्ने तपस्वी व्यक्ति हो। यस्ता तपस्वीलाई पुरस्कृत गर्नुपर्छ भन्ने जनताले सोच्दा रहेछन्।
ठेकेदारसँग अंकमाल गर्दै कमाउने लालसा रहेन। पजेरो खरिद गर्ने र आलिसान महल बनाउने नेताभन्दा विपरीत स्वभाव रह्यो। यस हिसाबमा परिवारदेखि राजनीतिको शिखरसम्म निरन्तर विद्रोहको बाटो रोजेको देखिन्छ।
द्वन्द्वको प्रारम्भ, अन्त्य, चलखेललगायत सबै पाटोमा औसत नेपालीभन्दा प्रदीपजीको बुझाइ धेरै माथि थियो। त्यही कारण द्वन्द्वका बेला पनि माओवादीलाई चुनौती दिन गाह्रो थिएन।
नेपाली कांग्रेस ठूलो चौतारो हो। पार्टीको एउटा पंक्तिले प्रदीपजीलाई कांग्रेस नै मान्दैनथ्यो। आपसी प्रतिद्वन्द्व, प्रतिस्पर्धा, रिसराग वा कमीकमजोरी पनि हुन सक्छ।
वामपन्थी नेताहरूको प्रदीपजीप्रतिको टिप्पणी ओंठेभक्तिजस्तो लाग्छ। किनभने, प्रदीपजीको जीवनशैली सरल थियो। ढोंग थिएन। प्रदीपजीको जीवनशैली कम्युनिस्ट नेताहरूमा छैन।
हामीले मार्गदर्शक वा अभिभावकत्व प्रदान गर्ने व्यक्तित्व गुमाएका छौं। जटिल कुरालाई सरल ढंगमा औसत नेपालीले बुझ्ने गरी व्याख्या गर्ने व्यक्तित्वको अभाव खड्कनेछ। यो खडेरी निकै लामो समयसम्म रहिरहनेछ।
प्रदीपजीले पटक–पटक राजनीतिक विकृतिको भण्डाफोर गर्नुभयो। शिष्ट रूपमै संसद्मा भण्डाफोर गर्नुभयो। मूलधारको राजनीतिक नेतृत्वले सिक्नुपर्छ। लोभ, अहंकार, मोह घटाइदिनुहोस्। शीर्ष नेताहरूले प्रदीप गिरिको जीवनशैली र आचरण ग्रहण गरे भने सिंगो मुलुक लाभान्वित हुनेछ।
उहाँको चाहना मन्त्री हुने र चकाचौंध (झिलिमिली) जीवन जिउने थिएन। आमनेताभन्दा फरक थियो स्वभाव। सक्रिय राजनीतिमा रहिरहने तर सत्तामोह नभएका निष्ठावान् व्यक्तित्व हुनुहुन्थ्यो।
गुणग्राही मतदाता
सिरहा बस्तीपुरका मतदाता गुणग्राही रहेछन्। जसले प्रदीप गिरिलाई पहिचान गरे। पढेलेखेका विद्वान् नभए पनि उनीहरूमा उम्मेदवार चिन्ने योग्यता रहेछ। पटक–पटक निर्वाचित गराउँदै सांसद बनाए। मतदातालाई यस्तो गरिदिन्छु भन्दै फुलजडी लगाउने प्रवृत्ति थिएन। हुने÷नहुने किसिमका आश्वासन दिने वा सपना देखाउने काम गरेको कहिल्यै पाइएन। तापनि मतदाताले मन पराए।
२०५६ सालको निर्वाचनमा बाहेक जनताले साथ दिए। त्यहाँका जनताले निर्वाचित गराएर पठाएका कारण सिंगो मुलुकले प्रदीप गिरिको अध्ययन, चिन्तन, अनुभव र साहसको लाभ पायो। उहाँले जुन किसिमले राजनीतिको व्याख्या, विश्लेषण गरिदिनुभयो त्यसबाट सिंगो मुलुक लाभान्वित भयो। त्यो लाभ सिरहावासीले नै दिलाएका हुन्।
इमानदारीलाई सबैले मन पराउँदा रहेछन्। नेताको ढोंग वा बनावटी कुराभन्दा बढी सादगी र यथार्थलाई मन पराउँदा रहेछन् भन्ने पटक–पटक निर्वाचित गराउनुले पुष्टि गर्छ। नेपाली मतदाता पिछडिएका क्षेत्रका भए पनि गुणग्राही छन्। गिरिलाई धेरै पटक (२०५६ सालबाहेक) जिताए। भलै कृष्णप्रसाद भट्टराईले काठमाडौंबाट कहिले पनि चुनाव जित्नुभएन। त्यो के हो भने प्रदीप गिरिको सादगीपना हो। मतदाताप्रतिको इमानदारी हो। त्यसको प्रतिफल पटक–पटक निर्वाचित हुनु हो। राजनीतिमा हुनुपर्ने तपस्वी व्यक्ति हो। यस्ता तपस्वीलाई पुरस्कृत गर्नुपर्छ भन्ने जनताले सोच्दा रहेछन्।
आफ्नै मर्जी, स्वभाव विद्रोही
ठेकेदारसँग अंकमाल गर्दै कमाउने लालसा रहेन। स्कर्पियोले नपुगेर पजेरो खरिद गर्ने र आलिसान महल बनाउने नेताभन्दा विपरीत स्वभाव रह्यो। यस हिसाबमा परिवारदेखि राजनीतिको शिखरसम्म निरन्तर विद्रोहको बाटो रोजेको देखिन्छ।
पिता मित्रलालसँग पनि धेरै कुरामा असहमति थियो। परिवारभित्र पनि विद्रोही स्वभाव कायमै रह्यो। यद्यपि, पिता पनि नेपाली कांग्रेसको राजनीतिमा हुनुहुन्थ्यो। तर, बाबुछोराको बाटो फरक थियो। त्यस सन्दर्भमा पनि प्रदीपजी आफ्नो मर्जीमा बाँचेको व्यक्तिका रूपमा लिन सकिन्छ। परिवार, समाज र राजनीतिमा पनि विद्रोह गरेको व्यक्तित्वका रूपमा पनि हेर्न सकिन्छ। जीवनको अन्तिम घडीसम्म पनि आफ्नै मर्जीमा चल्ने व्यक्तित्व रह्यो।
उहाँको जन्म २००४ सालमा जन्म भयो। २०१७ सालमा प्रजातन्त्र हरण भयो। वरिपरि विद्रोहको माहोल थियो। विद्रोहको माहोल हुँदैमा सबैले त्यसलाई टिप्न सक्दैन। किनभने, फलामलाई टिप्न चुम्बक चाहिन्छ। त्यो विद्रोहको चुम्बकत्व अध्ययनबाट प्राप्त भएको थियो। वनारसमा अध्ययन गर्न गएका बेला पाएको शिक्षा हो। त्यति बेला वनारस राजनीतिक केन्द्र थियो। तत्कालीन मुलुकभित्रको परिवेश र मुलुकबाहिरको विश्वव्यापी घटनाक्रमले पनि विद्रोही बनायो।
माओवादी विद्रोहका बेला धेरै जना त्रसित थिए। प्रस्ट बोल्न डराउँथे। उहाँलाई द्वन्द्वको दुवै पाटो थाहा थियो। डरको मुख्य कारण अज्ञानता हो। राजनीतिप्रतिको अध्ययन, बुझाइ र भोगाइले दुवै पाटो थाहा थियो। द्वन्द्वको प्रारम्भ, अन्त्य, चलखेललगायत सबै पाटोमा औसत नेपालीभन्दा प्रदीपजीको बुझाइ धेरै माथि थियो। त्यही कारण द्वन्द्वका बेला पनि माओवादीलाई चुनौती दिन गाह्रो थिएन। माओवादी नेतृत्वले त्यति बेला कार्यकर्तासामु प्रदीप गिरिलाई कतै पनि व्यवधान नगर्नु भनेको पढेको थिएँ। मुलुकमा चलेको एक दशक लामो द्वन्द्वकालमा पनि उहाँका सार्वजनिक अभिव्यक्ति निर्भीक हुन्थे।
पार्टीभित्र उतारचढाव
कांग्रेसका संस्थापक नेता बीपी कोइरालासँग बहस गरेको भनेर प्रदीपजीको सत्पक्ष आउँछ। वनारस बस्दा पनि उहाँहरूबीच कैयौं तीतामीठा घटना भएका छन्। ती घटनाले गर्दा पनि कैयौं पटक प्रदीपजीलाई पार्टीबाट धेरै पर राखिएको थियो।
कांग्रेस ठूलो चौतारो हो। पार्टीको एउटा पंक्तिले प्रदीपजीलाई कांग्रेस नै मान्दैनथ्यो। आपसी प्रतिद्वन्द्व, प्रतिस्पर्धा, रिसराग वा कमीकमजोरी पनि हुन सक्छ। प्रदीपजी पनि कांग्रेसको मूलधारमा रहेको महसुस गर्नुहुन्नथ्यो। पार्टीको एउटा धारका निम्ति उहाँ कांग्रेस नै हुनुहुन्नथ्यो। त्यो पक्षले कांग्रेसका रूपमा स्वीकार गर्दैनथ्यो।
पार्टीभित्रको अर्को ठूलो पक्षले उहाँलाई पार्टीकै नेता मान्थ्यो। २०४६ सालको जनआन्दोलनपछि पार्टीबाट किनारामा पु¥याउने धार कमजोर बन्यो। कृष्णप्रसाद भट्टराई पार्टी सभापति भएपछि उहाँ मूलधारमा आउनुभयो। गिरिजाप्रसाद कोइराला सभापति हुँदा पनि प्रदीपजीको अस्तित्व नकार्न सक्ने अवस्था रहेन। एकार्काको समर्थन आउला भन्ने आस गर्ने स्थिति दुवैले देख्दैनथे। वनारसमा अध्ययन गर्दाको प्रभाव पछिसम्म रह्यो। प्रदीपजीले राजनीतिलाई अघि बढाइरहने तर संस्थापनतिर नरहने स्वभाव थियो। प्रदीपजी विद्रोही धारमा बसिरहनुभयो। प्रश्न गरिरहनुभयो।
वामपन्थी नेताहरूको प्रदीपजीप्रतिको टिप्पणी ओंठेभक्तिजस्तो लाग्छ। किनभने, प्रदीपजीको जीवनशैली सरल थियो। ढोंग थिएन। प्रदीपजीको जीवनशैली कम्युनिस्ट नेताहरूमा छैन। दृष्टान्त प्रदीपजी भए पनि नेताहरूले आफ्नो जीवनशैली सुधारेका छैनन्।
हामीले मार्गदर्शक वा अभिभावकत्व प्रदान गर्ने व्यक्तित्व गुमाएका छौं। समाज, राजनीति, अर्थशास्त्रलगायत पक्षमा व्यापक अध्ययन, चिन्तन थियो। जटिल कुरालाई सरल ढंगमा औसत नेपालीले बुझ्ने गरी व्याख्या गर्ने व्यक्तित्वको अभाव खड्कनेछ। यो खडेरी निकै लामो समयसम्म रहिरहनेछ।
प्रस्तुति : दिनेश गौतम

