काठमाडौं – पछिल्लो समय काठमाडौं उपत्यकामा हैजा संक्रमण देखिएसँगै यसको महामारी फैलने त्रास बढेको छ। इपिडिमियोलोजी तथा रोग महाशाखाका अनुसार मंगलबारसम्म उपत्यकामा १२ जनामा हैजा संक्रमण देखिएको छ।
बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट, नैकाप र बुढानिलकण्ठमा हैजा देखिएको महाशाखाले जनाएको छ।
उपत्यकामा हैजा देखिनुको प्रमुख कारण खानेपानी देखिएको इपिडिमियोलोजी तथा रोग महाशाखाका प्रमुख डा.चुमनलाल दास बताउँछन्।उनका अनुसार उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएका छन्। बर्खायाम लागेसँगै हैजा, झाडापखाला जस्ता रोगहरु देखिनु सामान्य रहेको चिकित्सकहरु बताउँछन्। यो बेला धेरै जस्तो पानीका मुहानहरु दुषीत हुने कारणले गर्दा यस्ता रोगहरु फैलने चिकित्सकहरुको बुझाइ छ।
भयावह हुन सक्ने चेतावनी
उपत्यकामा हैजाका बिरामी थपिने क्रम नरोकिएपछि विज्ञहरूले पानी र खानेकुरामा विशेष सावधानी नअपनाए स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् । काठमाडौं उपत्यकाका १० ठाउँमा १२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।
दुई साताअघि बागबजारमा डेरा गरी बस्ने दिदीबहिनीमा पहिलो पटक हैजा देखिएको थियो । त्यसयता यसको संक्रमण क्रमशः विस्तार हुने क्रममा छ । डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसी बजार, नैकाप र कोटेश्वरमा हैजा पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले बिरामीको संख्या वृद्घि हुँदै गएको बताए । उनका अनुसार पाटन अस्पताल र वयोधा अस्पतालमा एक–एक जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दुई जना हैजाका बिरामी उपचाररत छन् ।
प्रदूषित पानी र स्ट्रिट फुडका कारण हैजा फैलिरहेको आशंका गरिएको छ । ‘राजधानीमा उपयोग हुने जार, धारा, बोरिङ, ट्युबवेलको
पानीमा इ–कोलाइ, कोलिफर्म देखिएको छ,’ डा. दासले भने, ‘पानी शुद्घ नरहेसम्म हैजाको
विस्तार रोक्न सहज हुँदैन ।’ सानेपाबाट संकलित ८ वटा पानीको नमुनामध्ये ५ वटामा इ–कोलाइ जीवाणु पाइएको प्रतिवेदन सोमबार आएको हो । ‘आन्द्रामा पाइने इ–कोलाइले पानी संक्रमित रहनुको अर्थ यसमा दिसा मिसिएको बुझ्नुपर्छ,’ उनले भने । डिल्लीबजारबाट संकलित पानीको नमुनामध्ये २ वटा र बागबजारबाट संकलित नमुनामध्ये ३ वटामा इ–कोलाइ र कोलिफर्म भेटिएको छ । थानकोट र बल्खुको पानीको रिपोर्ट भने आएको छैन ।
टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलले मनसुनका कारण पानीको मुहान प्रदूषित हुने भएकाले थप सावधानी अपनाउनुपर्ने बताइन् । ‘हामीले समयमै सचेतता अपनाएनौं भने हैजा विस्फोटक रूपमा फैलने जोखिम छ,’ वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. राजेन्द्र बीसीले भने । हैजाको जोखिम कम गर्न स्ट्रिट फुडको गुणस्तरमा ध्यान दिनुपर्ने र तत्काल यसतर्फ कदम नचालिए हैजा नियन्त्रणबाहिर जान सक्ने उनको भनाइ छ ।
विज्ञहरूका अनुसार सार्वजनिक स्थानमा थुप्रिएको फोहोर र त्यसका कारण पानीका स्रोत प्रदूषित हुँदा हैजा फैलिने जोखिम बढ्छ । ‘फोहोरले गर्दा इ–कोलाइ, कोलिफर्म अर्थात् मान्छेको आन्द्रामा पाइने जीवाणु (दिसाको संक्रमण) ले पानी प्रदूषित भएको छ,’ डा. बीसीले भने । हैजा फैलिने प्रमुख कारण संक्रमित व्यक्तिको दिसाले प्रदूषित खाद्य पदार्थ र पानी नै हो ।
‘जार, धारा, क्यान्डिल फिल्टरको पानी मात्र नभई सकेसम्म सबै खालको पानी राम्ररी उमालेर मात्र सेवन गरौं,’ डा. बीसी भन्छन्, ‘मःम मा हालिने झोल, पानीपुरीको पानी, झिंगा भन्केको, चिसो तरल खाद्य पदार्थ हालका लागि सेवन नगरौं ।’
स्कुल, कलेज, कार्यालयहरूको क्यान्टिनको सरसफाइ र खानेकुराको गुणस्तरमा पनि ध्यान दिन विज्ञहरूले सुझाएका छन् । विद्यार्थीलाई नङ काट्ने, नुहाउने र सरसफाइमा ध्यान दिनेबारे जानकारी दिइराख्न पनि उनीहरूले आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हैजा ‘भिब्रियो कोलेरा’ नाम जीवाणु (ब्याक्टेरिया) द्वारा आन्द्रामा हुने संक्रमणका कारण लाग्ने झाडा पखालासम्बन्धी एक गम्भीर रोग हो । दूषित आहार वा पानीबाट जीवाणु शरीरमा प्रवेश गरेपछि हैजाको संक्रमण हुन्छ । यस्तो जीवाणुको
संक्रमणले आन्द्राको कोषिकाबाट बढी मात्रामा पानी निस्किन थाल्छ र चौलानी जस्तै दिसा हुन्छ । संक्रमण भएको २४ घण्टादेखि ५ दिनसम्ममा लक्षण सुरु हुन्छ । एकपटक लक्षण देखिए यसले ३ देखि ६ घण्टामा घातक रूप लिन सक्छ । बिरामीमा रक्तचाप कम हुने भएकाले समयमै उपचार नभए मृत्युसमेत हुन सक्छ ।
यसैबीच, हैजा नियन्त्रणमा सरकार गम्भीर नभएको सांसदहरूले आरोप लगाएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार हैजा संक्रमणबारे भएको छलफलमा उनीहरूले सरकारको ध्यानाकर्षण गराए । उपत्यकामा थुप्रिएको फोहोरका कारण हैजा फैलिएको भन्दै उनीहरूले बेलैमा न्यूनीकरण गर्न र आवश्यक तयारी अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरूले काठमाडौंका विभिन्न स्थानका पानी कम्पनीहरूको परीक्षण र अनुगमनको आवश्यकता समेत औंल्याए । बेलैमा हैजा नियन्त्रण र न्यूनीकरणका उपाय नगरे भयावह रूप लिन सक्ने उनीहरूको चेतावनी थियो ।
बैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले हैजा फैलिनुको कारण र यसको नियन्त्रणका लागि गरिएका प्रयासबारे बताएका थिए । हैजा नियन्त्रणका लागि विभिन्न सरोकारवालासँगको सहकार्यमा नियन्त्रणको प्रयास भइरहेको उनीहरूले जानकारी गराए ।

