काठमाडौँ, सरकारले खोप खरिद गर्न लाग्ने ६ अर्ब रुपैयाँ बचाउन खोज्दा ४० लाख बालबालिका अझै जोखिममा छन् । स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई चैतभित्रै खोप लगाइसक्ने बताएको थियो । तर, दातृ निकायको मुख ताक्दा जेठ पहिलो साता बितिसक्दा पनि खोप आउन सकेको छैन । खोप खरिद गर्न वैशाखमा मन्त्रिपरिषद्बाट स्वीकृति भइसकेको छ । यदि वैशाख दोस्रो साताभित्र कोभ्याक्सले नदिएमा किनेर भए पनि लगाइसक्ने भनिएको थियो । मंगलबार सार्वजनिक नीति तथा कार्यक्रममा पनि ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु गरिने उल्लेख छ । तर कहिलेसम्म भन्ने खुलाइएको छैन ।
स्वास्थ्य विभाग खोप शाखा प्रमुख सागर दाहालले असारको दोस्रो साताभित्र खोपसम्बन्धी विश्वव्यापी सञ्जाल (गाभी) मार्फत ल्याइसक्ने दाबी गरे । ‘त्यसका लागि गृहकार्य भइरहेको छ,’ उनले भने, ‘दातृ निकायले दिन्छु भनेको अफर किन स्वीकार नगर्ने ?’ उनले चुनाव भए पनि प्रत्येक साता बालबालिकालाई खोप लगाउने विषयमा छलफल जारी रहेको बताए । ‘निर्वाचनसँग हाम्रो कुनै तालमेल छैन,’ उनले भने ।
सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका भाइरोलोजिस्ट डा. शेरबहादुर पुनका अनुसार अहिले कोभिड संक्रमित बिरामी नभएको भन्न मिल्दैन । ‘त्यसले कम प्रभाव मात्र पारेको हो । यदि उत्तर कोरियामा जस्तै कडा रूपमा संक्रमण फैलिएमा सबभन्दा बढी जोखिम बालबालिका पर्नेछन्,’ उनले भने, ‘सरकारले पैसा बचाउनेभन्दा पनि बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।’
बालबालिकालाई दिइने खोपको डोज १२ वर्ष वा त्योभन्दा बढी उमेर समूहलाई दिनेभन्दा कम छ । सरकारले खोपमा मिलाउने सोडियम क्लोराइड र खेर जान सक्ने अनुमान गरेर ८४ लाख मात्रा फाइजरको ‘गुलाबी खोप’ ल्याउने भनेको थियो । सरकारले खोप खरिद गर्न आलटाल गरेको मात्र छैन, मुलुकभरका स्वास्थ्यकर्मीलाई तालिम पनि दिएको छैन । उपत्यकाबाहेक २१ जिल्लाका स्वास्थ्यकर्मीलाई मात्र तालिम दिएको छ । अझै ५३ जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिन बाँकी छ । खोप शाखा प्रमुख दाहालले बढी जनसंख्या भएको जिल्लामा तालिम सम्पन्न भइसकेको बताए । ‘अन्य जिल्लामा क्रमशः दिइरहेका छौं,’ उनले भने ।
स्वास्थ्य विभागका अनुसार बालबालिकालाई दिइने खोपमा ०.९ प्रतिशत सोडियम क्लोराइड मिसाउनुपर्छ । मिसाएपछि हल्लाउने तरिका पनि छुट्टै छ । सिरिन्ज पनि ०.२ मिलिलिटर मार्जिनको हुने भएकाले अन्य उमेर समूहलाई लगाउने जस्तो सहज नभएकाले तालिमको आवश्यकता छ । मुलुकमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको संख्या करिब ४० लाख छन् ।
विश्व स्वास्थ्य संगठनले कोभिड भाइरसको विकासक्रम जारी नै रहेको भन्दै सबैलाई खोप अनिवार्य लगाउन आग्रह गर्दै आइरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १० वर्षमुनिका २२ हजारभन्दा धेरै बालबालिका संक्रमित भएका छन् । हालसम्म १० वर्ष उमेर समूहका ९ हजार २ सय ९९ संक्रमित भइसकेका छन् । कोभिड संक्रमणका कारण ९ वर्ष उमेरसम्मका ५१ जना, १० देखि १९ वर्ष उमेर समूहका ५७ जनाको मृत्यु भएको तथ्यांक छ । हाल मुलुकमा १२ वर्ष वा त्योभन्दा माथिको जनसंख्याका लागि मात्र कोभिडविरुद्धको खोप उपलब्ध छ । खोप अभियान सुरु भएदेखि बुधबारसम्म ४ करोड २६ लाख १७ हजार १ सय ३६ जनाले खोप लगाइसकेका छन् । एक मात्रा खोप एक करोड ८९ लाख ७९ हजार ४ सय ४९ र पूर्ण मात्रामा एक करोड ९७ लाख ८३ हजार ५ सय ९७ जनाले लगाइसकेका छन् । अतिरिक्त मात्रामा ३८ लाख ५४ हजार ४० जनाले लगाइसकेका छन् । ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज प्राप्त भइसकेको छ ।
बालबालिकाका लागि भनेर ल्याउन लागिएको खोप उत्पादन मितिले माइनस ६० देखि ९० डिग्री तापक्रमको कोल्ड रुम (फ्रिज) मा ६ महिनासम्म मात्र राख्न मिल्छ । टेकुस्थित खोप भण्डार केन्द्रमा १५ लाख मात्रा राख्न सक्ने क्षमता छ । प्रदेशस्तरमा यो खोप भण्डार गर्न मिल्ने कोल्ड रुम छैन । त्यसैले खोप आएको मितिले एक महिनाभित्र वितरण गरिसक्नुपर्छ, नत्र खेर जान्छ ।
स्वास्थ्य विभाग क्याक्सिन वितरण शाखा प्रमुख बडेबाबु थापाले खोप प्राप्त भएमा तालिका मिलाएर वितरण गर्न सकिने बताए । विश्व स्वास्थ्य संगठनले ५ वर्षमुनिका बालबालिकाका लागि भने खोपको लगाउन स्वीकृति दिएको छैन । अमेरिकाको एकेडेमी अफ पेडियाट्रिकको वेबसाइटमा उल्लेख भएअनुसार खोप नलगाएका बालबालिकालाई कोभिड भएमा मुटु पोल्ने, सुत्न समस्या, ध्यान केन्द्रित गर्न नसक्ने, मांसपेशी र जोर्नी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, थकाइ लाग्ने समस्या हुन सक्छ । चीनले अझै पनि कोभिडकै कारण अन्य देशका नागरिक भित्र्याएको छैन । वैशाखको पहिलो साता भारतका विभिन्न राज्यमा संक्रमण दर उच्च गतिमा फैलिएको थियो । तर, मुलुकमा दातृ निकायको मुख ताक्दा त कहिले स्थानीय तहको निर्वाचनको बहानामा खोप खरिद गर्न आलटाल भएको छ ।

