काठमाडौं : सर्बेन्द्र बस्नेत(नाम परिवर्तन)लाई २४ वर्षको उमेरमा क्षयरोग भयो। एक प्रकारको ब्याक्टेरियाविरुद्ध औषधि सेवन गरिरहेका उनलाई त्यही बेला कोरोना संक्रमण भयो। क्षयरोग र कोरोनाविरुद्ध एकसाथ जुधेका बस्नेत अहिले पुनर्जीवन पाएको महसुस गरिरहेका छन्।
कडा खालको क्षयरोगले सताएपछि बस्नेत १८ महिना नियमित औषधि सेवन गरे। ‘औषधि खान हेलचेक्र्याइँ नगरे क्षयरोगलाई सजिलै जित्न सकिने रहेछ,’ उनले भने।
त्यस्तै, २२ वर्षीया शर्मिला कार्की (नाम परिवर्तन) अहिले क्षयरोगविरुद्धको औषधि सेवन गरिरहेकी छन्। ‘छाती दुख्यो। अलि–अलि खोकी लाग्यो। कफमा रगत देखियो,’ उनले भनिन्, ‘जचाउँदा क्षयरोग देखियो। ७ महिनादेखि औषधि सेवन गरिरहेकी छु।’
चिकित्सकहरूका अनुसार नियमित उपचारले क्षयरोग निको हुन्छ। दुई साताभन्दा बढी समयसम्म खोकी लागिरहने, साँझपख ज्वरो आउने, वजन घट्दै जाने र खकारमा रगत देखापर्नु क्षयरोगका लक्षण हुन्। यी लक्षण देखिनासाथ उपचार सुरु गर्दा निको हुन्छ। तर, क्षयरोगकै कारण वर्षमा १६ हजारले ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ। जसअनुसार औसत दैनिक ४४ जनाले ज्यान गुमाउने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ। त्यस्तै, क्षयरोगबाटै विश्वमा वार्षिक १५ लाखले ज्यान गुमाउने गरेका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ।
जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगबाट ज्यान जाने क्रम बढ्दै गएको बताउँछन्, वरिष्ठ छाती रोग विशेषज्ञ डा. दीर्घसिंह बम। उनी भन्छन, ‘पछिल्लो समय कोरोनाले धेरैको ज्यान लियो।
कोरोनापछि सबैभन्दा बढी व्यक्तिको ज्यान लिने रोग क्षयरोग हो।’ डब्लूएचओले यस वर्ष क्षयरोग अन्त्य गर्न ‘लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउँदैछ।
सन् १८८२ मार्च २४ का दिन डा. रोवर्ट कोचले क्षयरोगको किटाणु पत्ता लगाएका थिए। त्यसपछि हरेक वर्ष २४ मार्चलाई विश्व क्षयरोग दिवसका रूपमा मनाइन्छ। जनचेतनामूलक कार्यक्रम गरिन्छ। तर, क्षयरोग संक्रमितको संख्या बढ्दै जाँदा नियन्त्रणको चुनौती चुलिँदो छ। डब्लूएचओको वार्षिक प्रतिवेदन, २०२० अनुसार विश्वभर करिब ९९ लाख मानिस क्षयरोगबाट पीडित छन्।
बर्सेनि ६९ हजार नयाँ संक्रमित थपिन्छन्
विश्वमै बढी मृत्युदर गराउने रोगमध्ये क्षयरोग १३औं नम्बरमा पर्छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरका अनुसार नेपालमा हरेक वर्ष ६९ हजार क्षयरोगका बिरामी थपिन्छन्।
राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण, २०७४/७५ अनुसार नेपालमा वार्षिक नयाँ तथा पूराना गरी १ लाख १७ हजार क्षयरोगी हुन्छन्। क्षयरोगका उपचार सफलता दर ९१ प्रतिशत रहेको केन्द्रका निर्देशक डा. ठाकुरले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘क्षयरोगको लक्षण भएकाहरूलाई स्वास्थ्य संस्थामा जान हिचकिचाउँछन्। घरदैलोमा पुगेर भए पनि खोज गर्न जरुरी छ।’
४० हजार उपचार बाहिर
क्षयरोगका बिरामीमध्ये हरेक वर्ष ४० हजारभन्दा बढी व्यक्ति उपचारको दायरामा आउँदैनन्। क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. ठाकुरका अनुसार उनीहरूलाई उपचारको दायरामा ल्याउनुपर्ने चुनौती छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी क्षयरोगबारे जनचेतना फैलाउन र काउन्सिलिङ गर्न नसक्दा क्षयरोगीहरू उपचारको दायरामा नआएको बताउँछन्।
वरिष्ठ छाती रोग विशेषज्ञ डा. बमका अनुसार, क्षयरोगका बिरामीलाई शारीरिक समस्याका साथै मानसिक चिन्ता थपिने बताउँछन्। औषधि प्रतिरोधि क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक २ हजार २ सय रहेको छ। उपचारका लागि मुलुकभर ५ हजार ५०३ वटा डट्स केन्द्रहरू छन्।
राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत मुलुकभर ८९६ माइक्रोस्कोपिक केन्द्रहरू छन्। त्यस्तै, ८४ जिन एक्सपर्ट केन्द्रहरू छन्। २ कल्चर ल्याब रहेको क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ।
डब्लूएचओले सन् २०२१ देखि औषधि प्रतिरोधि क्षयरोगको उच्च प्रकोप भएका ३० राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी सरकारले जनचेतना फैलाउनुपर्नेमा जोड दिन्छन्। ‘घर–घरमा पुगेर क्षयरोग भए /नभएको पारिवारिक स्क्रिनिङ गर्नुपर्छ,’ डा. मरासिनी भन्छन, ‘कोरोनाको संक्रमण हुँदा जुन किसिमले कन्ट्याक्ट ट्रेसिङ गरिन्थ्यो। त्यस्तै गरी क्षयरोगमा पनि कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ।’
सरकारले क्षयरोग मुक्त नेपालको दीर्घकालीन सोच राखेको छ। आर्थिक वर्ष २०९१/९२ सम्ममा क्षयरोगको अन्त्य गर्ने लक्ष्य लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार क्षयरोग अन्त्य गर्न लगानी बढाउन जरुरी छ। डा. पोखरेल भन्छन्, ‘अझै पनि क्षयरोगका केसहरू पत्ता लगाउन सकेका छैनौं। केस पत्ता लगाउन निजी क्षेत्रसँग पनि सहकार्य गर्नुपर्छ।’
हाल निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान एवं उपचार गराउनेको संख्या करिब १५ प्रतिशत रहेको अनुमान छ।

