काठमाडौं, भावशून्य भएर सुमन चौधरी बुधबार शववाहनमा इटहरी–११ खनारस्थित घरमा फर्किंदै थिए । गाडीको एक कुनामा आधा जलेकी मृतक आमा वसन्तीदेवीलाई उनले हेर्न सकिरहेका थिएनन् । हजुरआमा भुटुदेवी र दाइ बाबुराम चौधरी पनि बोल्न सक्ने अवस्थामा थिएनन् । इटहरीको खनारस्थित खाने तेल उत्पादन गर्ने एभरेस्ट सोल्भेन्ट प्रालिकी कामदार वसन्ती गत बिहीबार एसिडको जलनमा परेकी थिइन् तर जिल्लास्थित प्रहरी र कम्पनीले यो घटनालाई एसिडजन्य दुर्घटनाभन्दा पनि तेलमा परेर भएको घटनाका रूपमा लुकाउन खोजेका छन् ।
कारखानाभित्र राखिएको एसिड कसरी उनको जीउमा पर्यो भन्नेबारे छोरा सुमन जानकार छैनन् । उनका अनुसार आमाको पेटदेखि मुनिको सबै भाग एसिडले जलेको थियो । घटनालगत्तै वसन्तीलाई विराटनगरको विराट मेडिकल कलेजमा पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसक्ने बताएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि उनलाई घटनाकै राति काठमाडौं हिँडाइएको थियो । वसन्तीलाई शुक्रबार बिहान ४ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो ।
अस्पतालमा खटिएका प्रहरी जवान धनबहादुर तामाङलाई सुमनले कम्पनीभित्र राखिएको एसिड मिसिएको पानी परेर जलन भएको विवरण टिपाएका थिए । कसैले एसिड छ्यापेका नभई दुर्घटनामा परेको भन्दै छोराले दिएको विवरण टिपेर तामाङले महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई बुझाइदिएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले भने वसन्तीको मृत्यु एसिडका कारणले नभई तातो तेलको पोखरी जस्तोमा चिप्लिएर खस्दा भएको बताए । उनले कान्तिपुरसँगको टेलिफोन कुराकानीमा आफू नै घटनास्थल पुगेको र एसिडको जलनका कारण नभई तेलको जलन भएको बताए । उनले भने, ‘मै घटनास्थल पुगेको थिएँ, रिफाइन गरिएको तेलको आहालबाट तेल निकाल्ने क्रममा घटना भएको हो ।’
डीएसपी खगेन्द्रले तातो तेलका कारण जलन भएको बताएपछि बर्न अस्पतालका चिकित्सकहरूले भने महिलाको मृत्यु एसिडकै जलनका कारण भएको बताएका छन् । कान्तिपुरसँगका कुराकानीमा अस्पतालका फोकल पर्सन हेमन्तध्वज जोशीले चिकित्सकहरूले नै पुर्जामा एसिड दुर्घटनामा परेको भनेर लेखेको बताए । जोशीले भने, ‘एसिडकै कारण गहिरो जलन भएको देखियो ।’ उनका अनुसार अस्पतालले यो घटनाबारे महिला आयोगलाई पनि जानकारी गराइसकेको छ ।
मृत्युको कारण बुझ्न कान्तिपुरले अस्पतालमा कार्यरत डा. सुरेन्द्र बस्नेतसँग सम्पर्क गरेको थियो । बस्नेतले पनि मृतकका छोराले आफूहरूलाई एसिडजन्य दुर्घटनामा परेको बताएको सुनाए । उनले वसन्तीको शरीरको ५० देखि ५५ प्रतिशत भाग जलेको जानकारी दिँदै भने, ‘सल्फ्युरिक एसिडको जलनका कारण मृत्यु भएको हो ।’ खाने तेलको उद्योगमा तेल प्रशोधनका क्रममा सल्फ्युरिक एसिड प्रयोग गरिएको देखिन्छ । घटनामा कस्तो एसिड प्रयोग भएको हो र दुर्घटना के कारणले कसरी भएको हो भन्ने स्पष्ट भइसकेको छैन ।
उद्योग, कलकारखानामा घातक एसिड प्रयोगमा सावधानी नअपनाइँदा र यसको प्रयोगमा अपनाउनुपर्ने सतर्कताको अभावमा कामदार एसिडको जलनमा परेको यो नयाँ घटना भने होइन । गत फागुन १५ मा काठमाडौंको बौद्धस्थित रमेश गजमेर धातुबाट बुद्धका मूर्ति, पाला र माने बनाउने कारखानामा एसिडको जलनमा परेका थिए । साथीको कारखानाबाट पानीको बोतलमा एसिड बोकेर फर्केका उनी घर आएर बोतलको बिर्को खोल्नेबित्तिकै त्यसभित्रको एसिड शरीरमा परेको थियो । गत वर्ष चैत अन्तिम साता काठमाडौंको गोर्कणेश्वरस्थित जेनिस ह्यान्डीक्राफ्टमा काम गर्ने रमेश रम्तेलले सामान्य झगडामा सँगै काम गर्ने बुद्धि विकमाथि एसिड छ्यापिदिएका थिए । कारखानामा आवश्यक एसिडको भण्डारण र त्यसको प्रयोगमा अपनाउनुपर्ने सावधानी नअपनाइएकै कारण रमेशले रिस साँध्ने माध्यम एसिडलाई बनाउन पाएका थिए ।
केपी ओली नेतृत्वको सरकारले गत वर्ष असोज १२ मा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) सम्बन्धी अध्यादेश २०७७ जारी गरेको थियो । नाइट्रिक, सल्फ्युरिक र हाइड्रोक्लोरिक एसिडलगायत तेजाबजन्य ज्वलनशील रासायनिक पदार्थ दुरुपयोग गरे संशोधित कानुन आकर्षित हुने अध्यादेशमा उल्लेख छ । अध्यादेशमा अनुमतिपत्र नलिई एसिड उत्पादन, निकासी, पैठारी र बिक्री–वितरण गरे वा स्वीकृति नलिई पैठारी गरे ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र ३ महिनादेखि एक वर्षसम्म कैद सजाय हुन सक्छ । सरकारले यस्तो कार्यविधि बनाएपछि अहिले पनि दुग्ध बिक्री वितरण र संकलन गर्ने डेरीदेखि सुनचाँदी, पित्तल, ढलोट र फलामलगायत धातुका काम गर्ने कारखाना र अन्य ठूला उद्योगमा पनि सरसफाइदेखि भाँडा टल्काउने कामसम्ममा घातक एसिडको निर्बाध प्रयोग भइरहेको छ ।
प्रहरीका अनुसार ०७० यताका आठ वर्षमा मात्रै एसिड प्रहारका ३० घटना भए । जसमा २० महिला (४ बालिका) र ९ पुरुष (२ बालक) एसिड जलनमा परेका छन् । सरकारले जारी गरेको अध्यादेश संसद्को पहिलो बैठकमा पेस गरेको ६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याए निष्क्रिय हुन्छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७८ मंसिरमा पुनः जारी गरेको यो अध्यादेश प्रतिस्थापन विधेयक नल्याएकै कारण गत माघ २८ देखि निष्क्रिय भइसकेको छ । जसले गर्दा तेजाब आक्रमण गर्नेलाई २० वर्षसम्म कैद, पीडितलाई १० लाख रुपैयाँसम्म क्षतिपूर्ति र रोजगारीको प्रत्याभूति गर्ने कुरा कार्यान्वयनमा आउन सकेको छैन । विद्यमान फौजदारी आचारसंहितामा एसिड प्रहार गर्नेमाथि अधिकतम सजाय ८ वर्ष सजाय हुने उल्लेख छ ।
अध्यादेश निष्क्रिय भइसकेको पृष्ठभूमिमा इटहरीको खनारमा एसिडजन्य दुर्घटनाको घटना बाहिर आएको हो । एसिडको खुलेआम बिक्रीवितरणको अभ्यास र एसिड प्रहारका घटनाविरुद्ध अभियान गरिरहेका उज्ज्वलविक्रम थापाले एसिड बिक्री वितरणमाथि नियमन नहुँदा कलकारखानामा तल्लो तहमा काम गर्नेहरू मृत्युको मुखमा पुगिरहेको बताए । उनले भने, ‘सदनभित्र भएकालाई एसिडजन्य घटना र दुर्घटनाले नपोलेको देख्दा अचम्म लाग्छ ।’साभार कान्तिपुर ः २०७८ चैत १०
एसिड जलनमा परेकी महिलाको मृत्यु
एसिड जलनमा परेकी महिलाको मृत्यु
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

