सिरहा– जोसुकै सिरहा बजार पुगोस्, सोझै सोध्नेछ– यस्तो पनि सदरमुकाम हुन्छ ? पूर्वाधारमा अति पिछडिएको र विकासको अनुहारै नदेखेको सिरहाको यही हालतलाई यस क्षेत्रका उम्मेदवारले मत माग्ने मुख्य एजेन्डा बनाएका छन् । प्रमुख प्रतिस्पर्धी उम्मेदवारहरूको साझा भनाइ छ– उराठलाग्दो सदरमुकामको मुहार फेर्ने ।
‘दक्षिणी भेगबाट धेरै जना सांसद र मन्त्री बने । तर, त्यही भेगको विकास हुन सकेन । वर्षौंदेखि अति पिछडिएको हालतमा छ,’ सिरहा ३ का एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले भने, ‘जिल्ला सदरमुकाम त्यही नियतिको एउटा सिकार हो । आफू बन्ने, जिल्ला नबनाउने प्रवृत्तिले घाइते बनेको थलो हो यो । मेरो एउटा प्रमुख एजेन्डा सदरमुकामको अवस्था सुधार्ने हुनेछ ।’
उनले केपी ओली सरकारका पालामा छुट्याएको मधेसका हरेक सदरमुकामका लागि ५० करोड परियोजनाको योजनाबद्ध प्रयोग गरिने बताए । ‘हुलाकी राजमार्गलाई गति दिइनेछ । उद्योगको विकास गरिनेछ,’ उनले भने, ‘ऐतिहासिक सहलेस राजाको जीर्ण दरबारको संरक्षण गरी पर्यटन प्रवद्र्धन गरिनेछ ।’
उनीसँग प्रतिस्पर्धामा रहेका कांग्रेस उम्मेदवार अमर रेग्मीले पनि ५० करोड रुपैयाँ परियोजनाको सदुपयोग र योजनाबद्ध विकासलाई नै समरमुकामको पुनर्जीवनको आधारका रूपमा प्रस्तुत गरे । विकास र पूर्वाधार अभावमा मधेसको सुगम जिल्ला भएर पनि सिरहा सदरमुकाम पिछडिएको स्विकार्दै उनले सदरमुकामको अनुभूति दिलाउनु आफ्नो उम्मेदवारीको पहिलो एजेन्डा भएको बताए । उनले थपे, ‘भौतिक पूर्वाधारलगायत सहरीकरणका लागि गुरुयोजना बनाएर काम गर्नेछु ।’
संघीय समाजवादी फोरमका उम्मेदवार अशेश्वर यादवले हुलाकी राजमार्ग समयमा नबनेकाले सदरमुकाम ओझेलमा परेको बताए । उक्त राजमार्ग र सदरमुकामको
बृहत्तर विकासमा आफ्नो ध्यान जाने उनले जनाए ।
सदरमुकाम सिरहासहित गोलबजार नगरपालिका तथा अर्नमा, नरहा र विष्णुपुर गाउँपालिका क्षेत्र ३ मा पर्छन् । यस क्षेत्रमा ८६ हजार ९ सय ३ मतदाता छन् । तीमध्ये सिरहा नगरपालिकामा मात्र झन्डै आधा ४४ हजार ३ सय ९२ जना छन् । तिनको मत अत्यधिक मात्रामा जसको पोल्टामा पर्छ, उसको विजय सहज बन्नेछ । त्यसैले उम्मेदवारको मुख्य ध्यान त्यतै केन्द्रित भएको छ । उम्मेदवारलाई पनि मतदाताले सदरमुकामकै विषय उठाएर र्याखर्याख्ती पार्ने गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग चुरेको फेदबाट गयो । दक्षिणी भूभागको आपसी सम्पर्क माध्यम हुलाकी राजमार्गको रेखा मात्र कोरियो । त्यो पनि धेरै ठाउँमा मेटिइसक्यो । मुख्य राजमार्गसँग जोड्ने सडकसमेत बेलामा बन्न सकेन । त्यही कारण दक्षिणी भेगमा रहेको सदरमुकाम बजार अपहेलित भयो । प्रशासनिक कामले पुग्ने र फुत्त फर्किहाल्ने थलो बन्यो । पूर्वाधारको त कुरै छाडौं, व्यापारिक केन्द्रका रूपमा समेत विकास हुन सकेन । पछि परेको पर्यै गर्यो ।
सदरमुकाममा बस्नलायक होटल–लज एउटा पनि छैन । सहरी विकास ग्रामीण गतिमा छ । पूर्वाधारहरू अत्यन्त गएगुज्रेको हालतमा छन् । जिल्ला अस्पताल त छ, बर्खामा पानीले चुर्लुम्मै डुब्छ । ‘अपायक’ हुँदै गएपछि जिल्लाका मुख्य प्रशासनिकबाहेक सबैजसो सरकारी कार्यालय अर्को प्रमुख बजार लहानमा छन् । सदरमुकाम सिरहा बजार मधेसको कुनै गाउँजस्तो अवस्थामा छ ।
सार्वजनिक शौचालय छैन । पसल र खाजा–खानाका सानातिना होटलमा पनि शौचालयको सुविधा छैन । सर्वसाधारणले सार्वजनिकस्थलमै दिसा–पिसाब गरिरहेका हुन्छन् । नगर भए पनि ढल–निकास छैन । स्वच्छ खानेपानीको समस्या छ । ल्यान्डफिल साइटको व्यवस्था छैन । सडक पेटी, नाला आदिमा फोहोर–मैला छ । सडक अस्तव्यस्त छ ।
त्यसो त बढ्ता प्रतिष्ठा जोडिएको यस क्षेत्रमा हारजितका लागि सदरमुकाम एजेन्डाले मात्रै धान्दैन । जिल्लामा ७० प्रतिशत कृषक छन् तर सिँचाइको समस्या छ । सरदर आधा जनसंख्या निरक्षर छन् । सदरमुकाममै विद्यालय नजाने धेरै छन् । गरिबीका हिसाबले हेर्दा ७५ जिल्लामध्ये सिरहा ६४ औं स्थानमा पर्छ । चुरेदेखि भारतीय सिमानासम्म उत्तर–दक्षिण चिरा पारिएका चारै क्षेत्र भएकाले सिरहामा उम्मेदवारलाई आफ्नो समुदाय खुसी पारेर मात्र नपुग्ने भएको छ । दलित र अल्पसंख्यकसहित विभिन्न जातजातिको मिश्रित बसोबास भएकाले यहाँ चुनाव जित्न सबैसँग घुलमिल हुनु आवश्यक छ । त्यसमध्ये अधिकांश पिछडिएको समुदाय दक्षिणी भेगमा छ । तिनको उत्थान अर्को एजेन्डा बनेको छ ।
‘बोराको चट्टी ओछ्याएर बालबालिकाले पढ्नुपर्ने स्कुल अझै छन् । पुस्तौंपुस्ता बस्दै आएर पनि नागरिकता नपाउने धेरै छन् । सिँचाइ नपाएर रुखिएका जमिन बिघौं छन्,’ एमाले उम्मेदवार श्रेष्ठले भने, ‘जनचेतना, शिक्षा, आयआर्जन, न्यूनतम कानुनी साक्षरता र योजनाबद्ध पूर्वाधार विकास यस क्षेत्रका आवश्यकता हुन् । दक्षिणी भागमा माछापालन र अन्न उत्पादन तथा उत्तरी भागमा फलफूल खेतीका परियोजना ल्याउने हो भने सिरहावासीको जीवनस्तर फेरिनेछ ।’
कांग्रेसका रेग्मीले मधेसको अधिकार पूरा गर्न सिँचाइ सुविधा, सडक स्तरोन्नति गरी कालोपत्रे, विद्युतीकरणलगायत विकासका कामलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे । सिरहा र गोलबजार नगरपालिकाका अधिकांश वडा गाउँसरह रहेकाले तिनलाई सहरीकरणतर्फ उन्मुख गराउन भौतिक पूर्वाधारमा जोड दिने उनले सुनाए । फोरमका यादवले भने, ‘विकास र मधेसी समुदायको अधिकार नभएर यो क्षेत्र पछि परेको हो ।
यहाँका जनताले त्यही चाहेका छन् । मेरो मूल मन्त्र पनि विकास, अधिकार र पहिचान हो ।’
उराठलाग्दो सदरमुकाममा ‘विकास’ एजेन्डा
उराठलाग्दो सदरमुकाममा ‘विकास’ एजेन्डा
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

