काठमाडौं । जेन–जी आन्दोलनलगत्तै देश छोडेका पूर्व उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले २४ भदौको प्रदर्शनमा घरमा आगजनी भए पछि केही दिन तराई घुम्न गएको र त्यहाँ डेंगु भए पछि उपचारका लागि भारत गएको प्रष्टिकरण दिएका छन् ।
२४ भदौमा आगजनी भएको बूढानीलकण्ठस्थित आफ्नै घर परिसरबाट सोमबार बिहान खड्का सार्वजनिक भएका हुन् । श्रीमती र बच्चा भने उतै रहेको उनले जानकारी दिए ।‘त्यो उत्पातपछि म त सहन सक्थें । श्रीमतीलाई ट्रमाजस्तो भयो । मेदान्त अस्पतालमा उपचार गराएको रेकर्ड छ । श्रीमती र बच्चा उतै छन् । म अहिले आएको छु, राजनीतिज्ञ हुँ, भाग्ने मान्छे होइन’ उनले भने ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेपछि खड्का देश छोडेर भागेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सार्वजनिक रूपमै टिप्पणी गरेका थिए । नयाँ पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा गृहमन्त्री अर्यालले खड्का देश छाडेर भागेको दाबी गरेका थिए । तर खड्काले आफू नभागेको र उपचारका लागि भारत पुगेर आएको उल्लेख गरेका हुन् । उनी नेपालबाट स्थलमार्ग हुँदै भारत गएको पाइएको छ ।
गृहमन्त्री अर्यालले अन्तर्वार्तामा भनेका थिए, ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौं ।’ गृह मन्त्रालयका अधिकारीहरूले पनि खड्का स्थलमार्गबाट देश छाडेको पुष्टि गरेको विषयमा सोमबार कान्तिपुरले समाचार प्रकाशित गरेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेपछि खड्का भारत हुँदै अमेरिका गएको आशंका सरकारी अधिकारीहरूले गरेका थिए । कान्तिपुरले उनी अमेरिका पुगेको आशंका रहेको समाचारमा लेखे पनि खड्काले भने आफू भारतभन्दा उता नगएको स्पस्ट पारेका छन् । सोमबार काठमाडौंमा सार्वजनिक भएका खड्का आइतबार अपरान्ह २बजेट ५ मिनेट जाँदा बुद्ध एयरको उडानबाट काठमाडौं आएका पुष्टि भएको छ ।
आफू डेंगीको उपचारका क्रममा मेदान्त अस्पतालमा ११ दिन बसेर फर्किएको र त्यस क्रममा भारतका राजनीतिज्ञहरूसँग पनि कुराकानी गरेको खड्काले सुनाए । उनले सरकार र ‘कथित मिडिया’ ले समाजलाई दिग्भ्रमित पारेकाले आफू फर्किएको जिकिर गरेका छन् । आफूमाथि हुने अनुसन्धानलाई सघाउने प्रतिवद्धता पनि उनले जनाएका छन् । जेन–जी विद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले खड्कासहित पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, निवर्तमान परराष्ट्रमन्त्री एवं देउवा–पत्नी आरजु राणा र उनका छोरा जयवीरसिंह देउवामाथि सम्पत्र् िशुद्धीकरणमा अनुसन्धान अघि बढाइसकेको छ । सम्पत्र् िशुद्धीकरण अनुसन्धान विभागमार्फत उनीहरूमाथि अनुसन्धान भइरहेकामा खड्का सार्वजनिक रूपमा देखिएका थिएनन् ।
जेन–जी युवामाथि प्रहरीले गरेको दमनको विरोधमा २४ भदौमा उपत्यकासहित देशभर तोडफोड, आगजनी र लुटपाटसहितको हिंसात्मक प्रदर्शन फैलिएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्वप्रधानमन्त्री, बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीहरूलाई हेलिकोप्टरबाट उद्धार गरी सेनाले ब्यारेकमा लगेर सुरक्षित राखेको थियो । घर जलेपछि केही दिन खड्का सैनिक सुरक्षामा बसेका थिए ।
२४ भदौमा खड्काको जलेको घरबाट नेपाली र विदेशी नोटका टुक्रा भेटिएका विवरणहरू सार्वजनिक भएका थिए । जलेका नोटका टुक्रा देउवा र दाहालका निवासमा पनि भेटिएका भिडियो र तस्बिर सार्वजनिक भए पनि यो विधि विज्ञान प्रयोगशालाबाट पुष्टि हुन बाँकी छ

