दुई पटककी राष्ट्रपति विद्यादेवी भण्डारी पदबाट बाहिरिएदेखि नै पार्टी राजनीतिमा फर्किने आकलनको शनिबार पटाक्षेप भएको छ । उनले एमालेको सदस्यता नवीकरण गरेको र पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्य राखेको घोषणा गरेकी छन् ।
२०७२ मा पहिलो पटक राष्ट्रपति बन्नुअघि भण्डारी एमाले उपाध्यक्ष थिइन् । पुनः एमालेमा फर्किएकी उनको यात्रा कहाँसम्म पुग्ला भनेर आकलन सुरु भएको छ । यसबीचमा उनले सम्हालेका जिम्मेवारी, हासिल गरेका अनुभव र अहिले जागेको महत्त्वाकांक्षाले उनी एमालेको आमकार्यकर्ताकै भूमिकामा सीमित बन्नेछिन् भनेर पत्याउन कठिन छ ।
उनी स्वयंले आफूलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएको, बुझाएको र थप परिपक्वसमेत बनाएको बताएकी छन् । त्यसैले उनले यतिबेला चालेको पाइला एमाले र देशको नेतृत्वमा पुग्ने आकांक्षाउन्मुख छ भन्ने बुझ्न सकिन्छ । एक जना पूर्वराष्ट्रपतिको यो कदमले उनी फर्किएको पार्टी एमाले र गणतन्त्रलाई समेत अतिरिक्त शंकामा तानेको छ ।
गणतन्त्रमा राष्ट्रपति सबैभन्दा माथिल्लो ओहोदा हो । संविधानले नै यो पदलाई नेपालको राष्ट्राध्यक्षका रूपमा प्रस्तुत गरेको छ । त्यसैले यो पदमा रहिरहेका वा रहिसकेका जोकोही सम्मान र गरिमाका लायक हुन्छन् । उनीहरूले खास राजनीतिक पार्टी र आस्थाभन्दा माथि रहेर सार्वजनिक हित, पर्यावरण, हिमाल, महिला, बालबालिका, शिक्षा, स्वास्थ्यजस्ता विवादरहित क्षेत्रका पक्षमा आफ्नो अनुभव, बौद्धिकता, प्रतिष्ठा उपयोग गर्ने अपेक्षा गरिन्छ ।
पूर्वराष्ट्रपति रामवरण यादवले चुरेक्षेत्रको संरक्षणका लागि बोल्दै आएका छन्, जुन अपेक्षाअनुसार नै हो । भण्डारीबाट पनि यस्तै अर्को कुनै अभियानको अपेक्षा थियो । तर उनले भने दैनन्दिन आलोचना, कटाक्ष, गालीगलौज सामान्य ठानिने सक्रिय राजनीतिको बाटो रोजेकी छन् । यद्यपि, यो अकस्मात् रोजिएको बाटो होइन ।
पदबाट बाहिरिएको केही समयपछि नै एमाले कार्यकर्तालाई भेट्ने, एमाले कार्यकर्ता उपस्थित हुने कार्यक्रममा पुग्नेजस्ता काम गरेर आफ्नो पक्षमा माहोल बनाइरहिन् । एमालेको आन्तरिक राजनीतिमा नयाँपन खोजिरहेकाहरूले उनलाई हौसल्ला दिँदै गए । अन्ततः भण्डारीले औपचारिक घोषणा नै गर्न पुगिन् ।
पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा फर्किन हुँदैन भनेर संवैधानिक तथा कानुनी अड्चन छैन । यो मूलतः नैतिक प्रश्न हो । यो परम्परा स्थापित गर्ने सवाल हो । त्यसैले भण्डारीले नैतिकता देखाऊन् र असल परम्पराको सारथि बनून् भनेर नागरिक समाजले पार्टी राजनीतिमा नफर्किने आशय राख्दै, बोल्दै र लेख्दै आएका थिए । यसअघि भण्डारीकै कार्यकालमा दुई पटक नै उपराष्ट्रपति बनेका नन्दबहादुर पुन माओवादी उपाध्यक्षका रूपमा फर्किएपछि नकारात्मक नजिरको सुरुवात भइसकेको थियो ।
भण्डारीले त्यसमा भर्याङ स्थापना गरेकी छन् । यसले गणतन्त्रको साखलाई कमजोर बनाएको छ । यद्यपि, भण्डारीको यस कदमले अब उनी पुनः सक्रिय राजनीतिमा फर्किनु हुन्छ कि हुँदैन भन्ने बहसको समय घर्किसकेको छ । अब उनी कस्तो राजनीतिक नेता बन्नेछिन् भन्ने अपेक्षा मात्रै छ ।
अब उनी राजनेताका रूपमा लोकतान्त्रिक मूल्यको रक्षा र प्रयोगका लागि उभिन्छिन् वा चलनचल्तीका राजनीतिक नेतृत्वजस्तै स्वार्थ र महत्त्वाकांक्षाबाट ग्रसित भएर पार्टीभित्रै अलोकतान्त्रिक अभ्यासको प्रयोगकर्ता बन्नेछिन् ? आगामी दिनमा देखिने नै छ ।
भण्डारीले देश र जनताको हित नै आफ्नो ध्येय भएको बताएकी छन् । यस अभिव्यक्तिमा एमालेको सामान्य कार्यकर्ताका रूपमा भूमिका निर्वाह गर्ने होइन, कार्यकारी अधिकारको प्रयोग गर्ने चाहना प्रतिबिम्बित हुन् ।
उसै पनि कार्यकर्ताका रूपमा बस्नका लागि भण्डारीले नैतिक प्रश्न र सम्मानित व्यक्तित्वलाई दाउमा राख्नै पर्दैनथ्यो । तर एमालेमा आफ्ना पक्षमा प्रशस्तै माहोल बनाएको वा बन्ने निश्चित भएपछि भण्डारीले पुनरागमन गरेकी हुन्छ । त्यसैले उनी एमाले अध्यक्ष पनि बन्न सक्छिन् । एमालेभित्रको उकुसमुकुस भण्डारीको पुनरागमनको चर्चासँगै प्रस्फुटित हुँदै गएको थियो ।
प्रस्फुटनको साकार रूप उनलाई नेतृत्वको रूपमा स्थापित गरेर हुन सक्छ । एमालेजस्तो बलियो पार्टीको अध्यक्ष बन्न सकिन् भने उनी प्रधानमन्त्री पनि बन्ने सम्भावना बढ्नेछ । त्यस्तो स्थितिमा उनी पहिलो महिला राष्ट्रपति र प्रधानमन्त्री बन्न सफल हुनेछिन् । त्यतिबेला महिला प्रधानमन्त्री बनेको हेर्ने नेपाली महिला आन्दोलनको लामो सपना साकार हुनेछ ।
साथसाथै, २०७५ मा भएको एमाले–माओवादी केन्द्रबीचको एकता टिक्न नसके पनि वाम एकताको चर्चा नेपालको राजनीतिमा सदाबहार छ । नेकपा विभाजनको लगत्तै एमालेसमेत विभाजन भएको यो परिस्थितिमा एमाले अध्यक्षका रूपमा भण्डारीको आगमन हुन सक्यो भने एकताको बहस पुनः सतहमा आउन सक्छ ।
भण्डारीलाई जनताले सबैभन्दा शीर्ष पदमा पुर्याएका हुन् । उनी स्वयंले त्यो विरासतलाई छाडेर दैनन्दिन राजनीतिमा फर्किने निर्णय गरिसकेपछि अब उनैले आफ्नो निर्णयको औचित्य साबित गर्न सक्नुपर्छ । उनले खोजेको देश र जनताको हित कस्तो हो ? त्यहाँ पुग्ने बाटो के हो ? कसरी हो ? त्यसका निम्ति उनले कसरी हस्तक्षेप गर्छिन्, कसरी अरूको साथ लिन्छिन् ? यावत् प्रश्न उनीतर्फ तेर्सिएका छन् । यी प्रश्नको सहज निकास निकाल्न सकेको दिन उनको व्यक्तित्वको परिपक्वता परीक्षण हुनेछ ।

