काठमाडौं । पुरुष हुन या महिला उनीहरुको प्रजनन स्वास्थ्य अधिकार समान हुन्छ । तर नेपालमा हालसम्म पनि एक जना पनि पुरुष प्रजनन स्वास्थ्य सम्वन्धी चिकित्सक नभएको सरोेकारवालाहरुले औंल्याएका छन् । नेपाल मेडिकल काउन्सिल र जनस्वास्थ्यविदहरुले पुरुष प्रजनन रोग हेर्ने बिशेषज्ञ नभएको जानकारी दिए ।
हालै सम्पन्न यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्वन्धी प्रस्तुति दिंदै जनस्वास्थ्यविद डा. लक्ष्मी तामाङले नेपालमा हालसम्म एक जना पनि पुरुष प्रजनन बिशेषज्ञ नभएको बताइन् । उनका अनुसार नेपालमा पुरुष सम्वन्धी यौन तथा प्रजनन सेवा दिइरहेका कुनै पनि चिकित्सक बिशिष्ट विज्ञ नभएको दाबी गरिन ।
नेपाल मेडिकल काउन्सिलका सदस्य कालुसिंह खत्रीले हालसम्म काउन्सिलमा पुरुष यौन बिशेषज्ञ (एण्ड्रोलोजिष्ट) एक जना पनि दर्ता नभएको बताए । तर यो रोगको उपचार भने भइरहेको उनको भनाइ छ । पुरुष प्रजनन बिशेषज्ञ नभए पनि यो उपचार भने अन्य बिशेषज्ञ चिकित्सकले गरिरहेको बताए । ‘यो बिशेषज्ञ नभएपनि अन्य चिकित्सकले उपचार गरिरहेका छन्, उपचारै रोक्नु परेको छैन’उनले भने । तर यसका विज्ञ भएमा उपचारमा बिशिष्टीकृत सेवा हुँदा गुणस्तर सेवा कायम हुने डा. खत्री बताउँछन् ।
नेपालमा यो चिकित्सकको अध्यापन पनि नहुने र बिशेषज्ञ पनि नभएको डा.तामाङ बताउँछिन । नेपालमा पुरुष प्रजनन बिशेषज्ञको अध्यापन नहुनु र माग पनि कम हुने हुँदा चिकित्सक नै नभएको डा. खत्री बताउँछन् ।‘विकसित राष्ट्रहरुमा हरेक अङ्गहरुको बिज्ञ हुन्छन, नेपालमा अझै त्यस्तो भइसकेको छैन’ उनले भने । हरेक अङ्गको बिशेषज्ञ सेवा आफैमा महङ्गो पर्ने नेपाल जस्तो निम्न आय भएको देशमा चिकित्सक आफै टिक्न कठिन पर्न जाने हुनाले पनि पुरुष प्रजनन बिशेषज्ञ नभएको सिंहको तर्क छ ।
तर जनस्वास्थ्यविद डा. तामाङ भने ४९ प्रतिशत जनसंख्या भएको पुरुषको लागि एउटा पनि विज्ञ नहुनुले पुरुष नै मर्कामा परेको बताउँछिन । पुरुष प्रजनन बिशेषज्ञ नभएपछि समस्यामा परेका पुरुषहरु कहिले छालारोग बिशेषज्ञ, कहिले मूत्र तथा मिर्गौला रोग बिशेषज्ञकोमा उपचार गर्न विवश छन् । ‘ पुरुषको यौन तथा प्रजनन समस्या हुन्छ, तर ऊ कहिले छारारोग बिशेषज्ञको भरमा कहिले मुत्ररोग बिशेषज्ञको भरमा उपचार गर्छन’ उनले भनिन ।
तामाङको विचारमा महिलामा जस्तो यौन तथा प्रजनन स्वास्थ्यको समस्या पुरुषमा पनि हुन्छ । तर पुरुष मनोसामाजिक सोंचको कारण भन्दैनन । जसको कारण दम्पत्ति वीचमा बाँझोपनाको कारणमा महिला माथि आरोप लाग्छ । यो बाहेक पुरुषमा हुने यौन दुर्वलता तथा अन्य जटिलताको उचित उपचार नपाएर सम्वन्ध विच्छेद हुने र मानसिक रोगको शिकार हुने गरेको देखिन्छ । तर यस्तो बिषयको बारेमा छुट्टै अनुसन्धान बाहिर आउन नसक्नुले पनि समस्याको स्थितिको बारेमा आम जानकारी नभएको हो । तामाङ भन्छिन, ‘ नेपालमा गत वर्ष ४० हजार जोडीको सम्वन्ध बिच्छेद हुनुमा आपसी यौन सम्वन्धमा आएको समस्या हुन सक्छ’ उनले भनिन ।
महिलाको यौन तथा प्रजनन अधिकारको लागि नेपालमा प्रर्याप्त नीतिगत व्यवस्था र कार्यक्रम भएपनि पुरुषको हकमा कुनै व्यवस्था र कार्यक्रम नहुनुले यो अधिकारको लागि पुरुष प्रताडित भएको उनी बताउँछिन । जनसंख्याको ४९ प्रतिशत संख्या रहेका पुरुषको लागि केहीको संख्यामा भएपनि पुरुष प्रजनन बिज्ञ हुनु पर्ने उनको तर्क छ । ‘ परुषको पनि अधिकार हुनु पर्छ, उनीहरु समस्यमा छन, तर भन्दैनन’ उनले भनिन ।

