काठमाडौं, शान्ति मन्त्रालयको तथ्यांकले भन्छ, दसवर्षे सशस्त्र द्वन्द्वका क्रममा नेपालमा १७ हजार मानिस मारिएका थिए । त्यसको सबै दोष आफूमाथि थोपरिने गरेकामा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि प्रकट गरेका छन् ।
‘म तथ्यांक मात्रै सच्याउन चाहन्छु, मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिएको छ, यो सत्य होइन,’ थारूहरूको पर्व माघी मनाउने क्रममा टुँडिखेलमा आयोजित (२०७६ माघ १ मा )समारोहमा बुधबार उनले भने, ‘सत्य के हो, मलाई भन्न दिनुस् । हिजोका सामन्ती राजा र शासकहरूले १२ हजार मान्छे मारेका हुन्, मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने लिन्छु ।’
तत्कालीन माओवादीका अध्यक्ष दाहालले पछिल्लो समय सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाहरूको जस–अपजस लिन आफू तयार भएको बताउन थालेका छन् । विस्तृत शान्ति सम्झौताको तेह्रौं वर्षगाँठ पुगेको दिन गत मंसिर ५ गते पीडितहरूका सामु उनले पहिलो पटक सार्वजनिक रूपमा द्वन्द्वकालमा भएका घटनाको जिम्मेवारी आफूले लिने बताएका थिए ।
‘मैले कहिल्यै भनेको छैन भाग्छु भनेर, म दोषी छु भने त्यसका निम्ति जिम्मेवार हुनुपर्ने हुन्छ,’ त्यतिबेला उनले भनेका
थिए । त्यसको दस दिनपछि तत्कालीन एमाले नेता बुद्धिमान पाख्रिनको १७ औं स्मृति दिवस मनाउने क्रममा पार्टी कार्यालय धुम्बाराहीमा समेत दाहालले आफू दोषी भए सजाय भोग्न तयार भएको बताएका थिए । उनले सशस्त्र द्वन्द्वको जिम्मेवारी लिन आफू तयार भएको बताएको यो दोस्रो पटक थियो ।
बुधबार तेस्रो पटक उनले सशस्त्र द्वन्द्वका क्रममा भएका हत्याहिंसाको जस–अपजस लिन तयार भएको बताए । उनले संख्या नै तोकेर विद्रोहीहरूबाट मारिएका पाँच हजार मानिसको मात्रै जिम्मा लिन्छु भनेको भने पहिलो पटक हो । माओवादीबाट भन्दा राज्यपक्षबाट ज्यादा मानिसको ज्यान गएकाले त्यसबारे पहिले कुरा उठ्नुपर्ने उनले बताए । ‘राज्यले मारेको पनि मेरै टाउकामा हाल्ने गरियो भने यो न्याय हुँदैन,’ उनले भने ।
दाहालले द्वन्द्वमा सबैभन्दा बढी थारू समुदायका युवायुवती मारिएको र बेपत्ता पारिएको बताए ।
रेशम चौधरीलाई छुटाउने घोषणा
दाहालले ज्यान मारेको अभियोगमा कैलाली जिल्ला अदालतबाट गत वर्ष जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई छिट्टै छुटाउने घोषणा गरेका छन् । ‘टीकापुर घटनाको सन्दर्भमा झूटा मुद्दा खारेज गर्नुपर्छ
भनेर पार्टी र सरकारसँग छलफल भएको छ,’ उनले भने, ‘केही समयभित्र परिणाम निस्किन्छ ।’
फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्तिलाई जेलमुक्त गर्ने कुनै कानुनी प्रावधान छैन तर दाहालले रेशमलाई जेलमुक्त गर्ने योजना नै सुनाए । सभामुख, सरकार र पार्टीलाई भनेर रेशमलाई सांसदको शपथ खुवाउने वातावरण आफैंले मिलाएको भन्दै उनले त्यो गुन नबिर्सिन थारू समुदायलाई अपिल गरे । ‘रेशमलाई सबैभन्दा पहिला प्रधानमन्त्रीको हैसियतले भारतको दिल्लीमा खुलेआम भेट्ने पहिलो
मान्छे मै हुँ,’ उनले भने, ‘रेशमलाई डिल्लीबजारको खोरमा पुगेर भेट्ने पहिलो मान्छे पनि मै हुँ ।’

