काठमाडौँ — सरकारका कामकारबाहीविरुद्ध आवाज उठाउने नागरिकविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएर सरकारले मानवअधिकारको उल्लंघन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बताएकी छन् ।
सरकारले नागरिकका समस्या समाधान गर्न नसक्दा विरोधमा आवाज उठिरहेको र त्यस्तो गर्नेविरुद्ध मुद्दा चलाउने काम हुनु गलत रहेको गौतमको भनाइ थियो ।प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको मंगलबारको बैठकमा सांसद गौतमले भनिन्, ‘सरकारले नागरिकले उठाएका प्रश्नको समाधान आफूले गर्न सकेको छैन । अनि नागरिक आक्रोशित शैलीमा प्रस्तुत भएको हुनसक्छ त्यस्ता कुरामा समातेर अभद्र व्यवहारमा मुद्दा चलाउने भनेको मानव अधिकारको उल्लंघन हो ।’
सरकारले पहिला थुन्ने र त्यसपछि मात्रै अदालतमा अभियोजन गर्ने अभ्यासलाई व्यापक बनाएकोमा पनि सांसद गौतमको असन्तुष्टि थियो । त्यसरी सरकारले नागरिकको मानवअधिकार उलंघन र स्वतन्त्रताको हक हरण गरिरहेको उनले बताइन् ।‘तीन वर्षभन्दा कम सजाय हुने कसुरमा जमानत पाइन्छ, यो सबैको अधिकार नै हो । राज्यले अभियोजन गर्न पाउँछ तर थुनेर मात्रै र कानुनअनुसार आवश्यकता पर्दा अनुसन्धान प्रयोजनका लागि थुन्नु भनेकोमा सरकार पक्षबाट कानुनको दुरुपयोग गरेर, कानुनले थुन्न पाउँदासम्म त्यो ‘एक्सेसिभ राइट’ हुँदासम्म थुन्ने अनि बल्ल अभियोजन गर्ने काम भइरहेको छ,’ गौतमले भनिन्, ‘यो मानव अधिकारको गम्भीर उल्लंघन हो ।’
कसैले सार्वजनिक रूपमा आवाज उठाएमा पक्राउ गरिहाल्ने प्रवृत्ति बढेको पनि सांसद गौतमको भनाइ थियो । उनले भनिन्, ‘सरकारले अहिले कसैले बोल्यो, सार्वजनिक रुपमा प्रश्न उठायो भने पक्राउ गरिहाल्ने र कति दिन हुन्छ अनुसन्धान प्रक्रियाको लागि भनेर थुनामा राख्ने अनि निश्चित समयपछि अभियोजन गर्ने प्रवृति देखिएको छ । डर, त्रासको वातावरण सिर्जना गर्ने अनि न्यायिक प्रक्रियामा सरकार गइरहेको खिन्छ । यो एक व्यक्तिको कुरा होइन । अहिले प्रवृत्ति नै यही देखिएको अवस्था छ ।’
पक्राउ गरिएको व्यक्तिविरुद्ध सरकारले लगाएको अभियोग अदालतबाट पुष्टि नभए त्यसको मानव अधिकार र स्वतन्त्रता हनन हुन्छ कि हुँदैन भनेर सांसद गौतमले प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई प्रश्न गरेकी थिइन् । गम्भीर मुद्दाका कसुरदारबाहेकलाई थुनामा नराखि अभियोजन चलाउनुपर्नेमा उनको भनाइ थियो ।
आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अदालतको अनुमति
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई माघ १८ गते शुक्रबारसम्म हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङविरुद्ध आज (मंगलबार) जिल्ला अदालत भक्तपुरले माघ १८ गतेसम्मका लागि म्याद थप गरेको हो।
उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध पुर्याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भनी सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो।
यसअघि पशुपति क्षेत्रमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा माघ २ गतेदेखि प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी तामाङ माघ १४ गते १० हजार धरौटी बुझाएर रिहा भएकी थिइन्। तर भक्तपुरमा पनि उनीविरुद्ध जाहेरी परेकाले त्यही दिन उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो।
त्यस दिनदेखि महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङलाई अदालतले थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।
यसैबीच आशिका तामाङको टिमले उनको हिरासत अवधि लम्ब्याउन चलखेल भइरहेको जानकारी प्राप्त भएको दाबी गरेको छ।
आशिकाको टिमले आशिका तामाङको फेसबुकमा मंगलबार लेखेको छ, ‘उहाँलाई भक्तपुरबाट रिहा भएपछि फेरि धादिङमा मुद्दा लगाउने र हिरासत राख्ने भन्ने बुझ्न आएको छ। सरकार सञ्चालन गरिरहेको पार्टीको भ्रातृ संगठनले नै नियतवश मुद्दा दर्ता गराउने प्रयास गरेको बुझ्न आएको छ। भुइँमान्छेको आवाजलाई बुलन्द गर्न खोज्दा दिदी आफैँलाई यो राज्यले अन्याय गर्दै छ र गम्भीर मानव अधिकारको उल्लंघन गरेको छ।’

