काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्रीको सचिवालयका सदस्यका अनुसार सोमबार बेलुका १०३ डिग्री ज्वरो आएपछि ओलीले मंगलबार अत्यावश्यक भेटघाटबाहेक सबै कार्यक्रम स्थगित गरे । उनले दिनभर नै बालुवाटारमा आराम गरेका छन् ।
मंगलबार बिहान निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरेकी थिइन् । ‘हामीले रगत जाँचका लागि नमुना संकलन गरेर पठाएका थियौं । डेंगी हो कि भन्ने शंका थियो तर परीक्षणमा देखिएन,’ डा. शाहले भनिन्, ‘साँझ ज्वरो घट्दै गएको छ ।’
प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीका अनुसार अघिपछि सामान्य ज्वरो आउँदा ओली कार्यक्रममा जाने गर्थे । ‘तर, यस पटक कडा ज्वरो आएकाले अत्यावश्यकबाहेकका कार्यक्रममा जानुभएको छैन,’ उनले भने, ‘उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ ।’

