एउटा कुनै मान्छेको नागरिकता सम्बन्धी उजुरी, जुन दर्ता हुनु अगाडि नै मिडियामा आएको थियो, त्यसको विषयमा मसित कुनै सोधखोज गरिएको छैन । ममाथि कुनै उजुरी छ र मेरोविरुद्ध कुनै अनुसन्धान हुन्छ भने म त्यसको लागि तयार छु भनेको थिएँ । तर आजसम्म केही नगरी पक्राउ पूर्जी जारी गरिएको छ ।
मैले नागरकिता ऐन २०२० अनुसार २०३६ सालमा वंशजको आधारमा नागरिकता पाएको हो । मेरो नागरिकताको नेपाली कागज गलेकाले २०५७ सालमा प्रतिलिपि निकालेँ । मैले कहिले पनि दुईवटा नागरिकता लिएको छैन । र मेरो दुईवटा नम्बर पनि छैन । भनिँदै आएको छ कि, दुईवटा नागरिकता एउटै नम्बरको पर्यो । त्यो सेवाग्राहीको काम होइन नम्बर भिडाएर हेर्ने । प्रशासन कार्यालयले जे दिन्छ लिएर हिँड्ने हो । मैले भर्खर थाहा पाएँ, संसदका महासचिवको तीनवटा नागरिकता थियो । सच्याउन पाइन्छ । त्यस्तो केही थियो भने मलाई सोधखोज गरिनुपर्थ्यो । ममाथि पक्राउ पूर्जी जारी गर्नुको मतलब पूर्वाग्रहका रुपमा यो काम गरिएको छ ।
यो सबै सम्पूर्ण कुराको पछाडिको कारण कान्तिपुर हो । कहाँ हुनुहुन्थ्यो तपाईंहरु ६२/६३ को जनआन्दोलनमा ? कहाँ हुनुहुन्थ्यो लोकतन्त्र खतरामा परेको बेलामा ? कान्तिपुरले सँधै लोकतन्त्रका लागि लडेको होइन ? पहिला थुन अनि सोध, कुन कानून हो यो ? यो सबै प्रतिशोध हो । माननीय गृहमन्त्रीको सहकारी हेराफेरीको विषयमा प्रकाशित समाचारको प्रतिशोध हो । गृहमन्त्रीले राजनीतिक ब्ल्याकमेलिङ गर्न खोज्नुभएको छ ।
म एकजना गहृमन्त्रीको मात्रै प्रतिशोध मान्दिनँ । यो पूर्णरुपमा गठबन्धन र प्रधानमन्त्रीले कान्तिपुरमाथि गरेको प्रहार हो । यसलाई फेस गर्न तयार छु ।

