बिगत १० वर्ष देखि सेप्टेम्बर १८ का दिन राष्ट्रिय परिवार योजना दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाउदै आइएको छ । यस वर्ष पनि “परिवार योजना सेवाको लक्ष्य: आमा र बच्चाको स्वास्थ्य सुधार्न जुटौं सबै पक्ष” भन्ने मूल नाराका साथ सप्ताहब्यापी रुपमा दशौँ राष्ट्रिय परिवार योजना दिवस देशभरि मनार्इंदैछ । परिवार योजना सेवाले आमा तथा बच्चाको स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पुर्याउने भएकोले यस सेवाको पहुँचको सुनिश्चितताका लागि लगानी वृद्धि गर्न सबै पक्षको प्रतिबद्धताका लागि यो नारा छनौट गरिएको छ ।
राष्ट्रिय जनगणना २०७९ मा आधारित मातृ मृत्यु सम्बन्धि अध्ययन अनुसार अझै पनि प्रति लाख जीवित जन्ममा मातृ मृत्य १५१ रहेको छ । त्यसै गरि मातृ मृत्यु भएका महिलाहरु मध्ये १०% किशोरी रहेका छन् र ५% मृत्यु गर्भपतनका कारणले भएको पाइएको छ । नेपाल जनसांखिक सर्वेक्षण २०२२ अनुसार नवजात शिशु मृत्युदर प्रति १००० जीवित जन्ममा २१ रहेको छ । गुणस्तरिय परिवार योजनाको सर्वब्यापि पहुँच मातृ मृत्युलाई घटाउने एक महत्वपूर्ण आधार हो । विश्व स्वास्थ्य संगठन अनुसार यदि दम्पतीले दुई गर्भबिच कम्तिमा २ बर्षको अन्तर कायम गरेमा परिवार योजना सेवाले ३०% मातृ मृत्यु र १० % बाल मृत्यु घटाउँदछ । नेपालको हकमा भने करिव ५३% मातृ मृत्युलाई कमि ल्याउन परिवार योजना सेवाको योगदान रहेको एक अध्ययनमा उल्लेख छ । २० बर्ष उमेर नपुगी गर्भवती हुनबाट रोक्न, उपयुक्त जन्मान्तर कायम गर्न, अनिच्छित गर्भ रोकि महिलाको स्वास्थ्य र सशक्तिकरण गर्नका साथै जलवायुमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुर्याउने भएकाले परिवार योजना सेवाको पहुँचको सुनिश्चितता गर्नु पर्ने देखिएको छ ।
नेपालको संबिधान, सुरक्षित तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र जनस्वास्थ्य सेवा ऐन २०७५ बाट प्रदत्त ब्यक्तिको परिवार योजना सेवा सम्बन्धि शिक्षा, सूचना, परामर्श, तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चितताका लागि साथै मातृ तथा नवजात शिशु मृत्यु दर, किशोरी प्रजनन दर कम गर्न र गर्भनिरोधक साधन प्रयोग दर बढाउने दिगो बिकास लक्ष्य प्राप्ति का लागि तीनै तहका सरकार, नीजि क्षेत्र, सहयोगि संस्था जिम्मेवार हुन आवश्यक छ ।
अझैपनि परिवार योजना सेवालाई जनसंख्या नियन्त्रणको रुपमा बुझाई, तालिम प्राप्त जनशक्ति परिचालन, गर्भनिरोधक साधनको आपूर्ति व्यवस्थापनम, घट्दो लगानी, दम्पति साथमा नहुँदा साधनको निरन्तरता, पहुँच बाहिर रहेका समूह जस्ता चुनौतीहरु रहेका छन । परिवार योजना सेवाको उपयोग नगरिरहेका र पहुँच बाहिर रहेका समूहहरुको पहिचान गरि स्थानिय परिबेशको आधारमा कार्यक्रम सन्चालन गरि आमा र बच्चाको स्वास्थ्य सेवामा टेवा पुर्याउन अपरिहार्य छ ।
अन्त्यमा, आमा र बच्चाको स्वास्थ्य सुधारका लागि परिवार योजना सेवामा लगानी वृद्दी र पहुँच सुनश्चित गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, नीजि क्षेत्र, सरोकारवाला, तिनै तहका सरकार सबैमा आभार ब्यक्त गर्दै आगामि दिनमा संबिधान प्रदत्त हक प्राप्तिका लागि सबै पक्षको सहयोगको अपेक्षा राख्दछौँ ।
पुनः “परिवार योजना सेवाको लक्ष्य: आमा र बच्चाको स्वास्थ्य सुधार्न जुटौं सबै पक्ष” को नारा सहित दशौँ राष्ट्रिय परिवार योजना दिवसका अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना र आ-आफ्नो क्षेत्रबाट विभिन्न सचेतना तथा पैरवी मुलक कार्यक्रमहरु संचालन गर्न अनुरोध गर्दछौं ।
परिवार कल्याण महाशाखा
स्वास्थ्य सेवा विभाग

