स्वास्थ्योपचार र शिक्षामा चितवनले राम्रो पहिचान बनाएको छ । मेडिकल सिटीका रूपमा चर्चामा आउने चितवनमा देशको प्राविधिक क्षेत्रको पहिलो विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालय छ । भव्य पूर्वाधारसहितको संघीय सरकारी अस्पताल, दुई–दुई वटा मेडिकल कलेज र शिक्षण अस्पताल, क्यान्सरको मात्रै उपचार हुने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र अन्य धेरै निजी अस्पताल रहेको चितवनमा देशका मात्रै नभएर छिमेकी मुलुकबाट पनि उपचारका लागि आउँछन् ।
३० को दशकमा रामपुरमा कृषि क्याम्पस खुलेपछि चितवन कृषि अध्ययन गर्ने देशभरका विद्यार्थीका लागि प्रमुख गन्तव्य बन्यो । कृषि क्याम्पसले अहिले विश्वविद्यालयको उचाइ लिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका अन्य प्राविधिक विषय अध्ययन गर्न पनि यहाँ देशका कुनाकुनाबाट विद्यार्थी आउने चलन यथावत् छ । व्यवस्थित बस्ती विकास सुरु भएसँगै चितवनले यो क्षेत्रमा फड्को मारेको हो ।
राप्तीदुन विकास अधिकृत कृष्णबम मल्ल र जनकलाल शर्माले २०१४ सालमा लेखेको किताब ‘राप्ती उपत्यका’मा १५ बेडको अस्पताल, तीन वटा हेल्थ क्लिनिक र प्रसूतिगृह राप्तीदुनका लागि आवश्यक भएको लेखेका छन् । राप्तीदुन भन्नाले हालको चितवन र मकवानपुरको पश्चिमी इलाकाहरूसमेत पर्दथ्यो । ६८ वर्षअघि १५ बेडको एउटा अस्पतालको अवधारणाबाट सुरु भएको स्वास्थ्य सेवा र पूर्वाधार विस्तारको अहिलेको अवस्था अकल्पनीय छ । राप्तीदुन विकास परियोजनाले हालको जिल्ला प्रहरी कार्यालयअगाडि स्वास्थ्य केन्द्र खोलेपछि त्यसको प्रमुख भएर आएका थिए डा. हिरण्यदेव प्रधान । उनैको अनुरोध र प्रयासमा अमेरिकी सहयोगमा भरतपुरमा अस्पतालको पक्की भवन बन्यो । २०२० सालको पुसमा तत्कालीन राजा महेन्द्रले २५ शय्या भएको अस्पतालको भवन उद्घाटन गरे ।
अहिले यो अस्पताल नयाँ भवनहरूसहितको ६ सय शय्याको भएको छ । यो अस्पतालकै जग्गा भाडामा लिएर २०५५ सालमा भारतीयहरूले सञ्चालन गरेको चितवन कलेज अफ मेडिकल साइन्सेस (सीएमएस/पुरानो मेडिकल कलेज) को भव्य शिक्षण अस्पताल छ । भरतपुर अस्पतालको पश्चिम उत्तर कुनामा यो शिक्षण अस्पताल छ । सीएमएस शिक्षण अस्पतालको समानान्तर भरतपुर अस्पतालकै जग्गामा नेपाल नेत्र ज्योति संघले सञ्चालन गरेको आँखा अस्पताल छ ।
भरतपुर अस्पतालबाट पश्चिम लाग्ने हो भने पाँच सय मिटरभित्रै अर्को मेडिकल कलेज चितवन मेडिकल कलेज (सीएमसी) को शिक्षण अस्पताल छ । त्यहाँदेखि तीन किमिभित्रै क्यान्सरको उपचार हुने देशकै मुख्य अस्पताल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल छ । भरतपुर वरपर निजी अस्पताल पनि प्रशस्तै छन् । पहिला भरतपुरका पुराना निजी घर भाडामा लिएर निजी अस्पताल सञ्चालनमा आएका थिए । अहिले निजी अस्पतालहरूले पनि भव्य निजी भवन बनाएर सेवा दिने प्रतिस्पर्धा छ । भरतपुर क्षेत्रमा मात्रै नभएर स्वास्थ्य पूर्वाधार अन्यत्र पनि विस्तार भएको छ ।
टिकौलीदेखि पूर्वका बासिन्दा पनि कुनै बेला सामान्य दुःख–बिमार भए पनि भरतपुर आउनैपर्ने बाध्यता थियो । अहिले रत्ननगरमा रहेको प्रादेशिक तहको सय शय्याको बकुलहर अस्पतालले शल्यक्रिया लगायतको सेवा दिइरहेको छ । आयुर्वेद अस्पताल पनि रत्ननगरमा छ । सबै गरेर चार हजार शय्या चितवनका अस्पतालमा उपलब्ध छन् । एमआरआई, सिटी स्क्यान जस्ता उपकरण सरकारी अस्पतालदेखि शिक्षण अस्पताल र निजी अस्पतालमा समेत उपलब्ध छन् ।
५० को दशकसम्म चितवनका भित्तामा भारत रक्सौलाका अस्पताल र डाक्टरको प्रचार हुन्थ्यो । गोरखपुरका अस्पतालले स्थानीय पत्रिकामा विज्ञापन छपाउँथे । अहिले चितवन बाहिरका बिरामी उपचारका लागि आउने गरेका छन् । कोभिड महामारीमा चितवनको स्वास्थ्य सामर्थ्य छर्लङ्ग भएको चितवन मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा. हरिश न्यौपाने बताउँछन् । काठमाडौं जस्ता सहरमा कोभिडको समयमा बिरामीको व्यवस्थापन गर्न गाह्रो हुँदा अक्सिजन, आईसीयू र भेन्टिलेटर प्रबन्ध गर्न हम्मे हुँदा चितवनले सहज रूपमा कोभिडको उपचार गरेको उनको भनाइ छ ।
त्यो बेला हेलिकोप्टरबाट कोभिड उपचारका लागि बिरामी चितवन आएका थिए । पूर्वाधार, उपकरण र विशेषज्ञ चिकित्सक भएका कारण चितवनमै मिर्गौला र कलेजो प्रत्यारोपणसम्मका कार्य भए । जोर्नी प्रत्यारोपणसमेत चितवनका अस्पतालमा हुने गरेको छ । तर समस्यारहित अवस्था भने छैन । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष विजय सुवेदी चितवनमा पूर्वाधार र अन्य क्षेत्रमा राम्रो विकास भए पनि बिरामी विश्वस्त हुन नसकेको बताउँछन् । ‘सबै खाले पूर्वाधार भए पनि स्वास्थ्यकर्मीले बिरामीलाई कस्तो व्यवहार गर्दछन् भन्ने कुरा पनि मुख्य हुँदो रहेछ । चितवनमै हुने उपचारका लागि पनि मान्छेहरू काठमाडौं, दिल्ली या अन्य देश नजाने होइनन् । किन गए ? यसको खोजी हुनुपर्दछ,’ पूर्वअध्यक्ष सुवेदीले भने । सरकारी निकायले राम्रोसँग अनुगमन गर्ने हो भने उपचार सेवामा गुणस्तर बढ्ने उनले देखेका छन् ।
स्वास्थ्य निकायमा आफ्नै समस्या पनि कम छैनन् । ६ दशकअघि २५ शय्याबाट सुरु भएको भरतपुर अस्पतालको अहिले शय्या संख्या मात्रै उल्लेख्य बढेको छैन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) को आंगिक क्याम्पस हुने स्वीकृति पनि पाएको छ । तर अस्पतालका आफ्नै समस्या छन् । ६ सय शय्याको अस्पतालले सरकारी स्वीकृत दरबन्दी तीन सय शय्या बराबरको पाएको छ । तर १५० शय्यालाई हुने बराबरको दरबन्दी मात्रै पदपूर्ति भएको छ । सरकारी अस्पतालको अवस्था नै यस्तो छ भने अन्य निजी अस्पताल पनि समस्यारहित पक्कै छैनन् । बिमा नीति आएपछि स्वास्थ्य निकायमा बिरामीको चाप बढेको छ । त्यहीअनुसार छरितो र प्रभावकारी उपचार सेवा दिन अस्पताल तयार हुनुपर्ने भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष विजय सुवेदी बताउँछन् ।
शिक्षा क्षेत्रमा विश्वविद्यालयसम्मको यात्रा पूरा गरेको चितवनलाई विगतको साख जोगाउन गाह्रो पर्ने त होइन भन्ने संशय पनि छ । राप्तीदुन विकास परियोजनासँगै फस्टाउँदै अगाडि बढेको शिक्षा यात्रामा २०२२ सालमा इन्टरमिडियट आर्ट कलेजका रूपमा वीरेन्द्र कलेज स्थापना भयो । यस कलेजमा २०३५ सालदेखि स्नातकका कक्षा सुरु भए । २०२९ सालमा चितवन रामपुरमा कृषि कलेज आएको थियो । वि.सं. २०३२ सालदेखि कृषिमा स्नातक तहको पढाइ सुरु भयो । त्रिभुवन विश्वविद्यालयका यी दुई महत्त्वपूर्ण आंगिक कलेजका साथै ४० को दशकमा सामुदायिक शिक्षालयका रूपमा नारायणगढमा बालकुमारी कलेज, भरतपुरमा सप्तगण्डकी कलेज र रत्ननगरमा कमर्स क्याम्पस खुले ।
२०६७ असार ३ देखि नेपालको पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा रामपुरमा कृषि तथा वन विश्वविद्यालय स्थापित भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रामपुर कृषि क्याम्पसलाई नै विश्वविद्यालयमा रूपान्तरण गरिएको हो । विश्वविद्यालय स्थापना भएको लामो समय भयो तर त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा हस्तान्तरणको विषय अझै टुंगिएको छैन । सोही विश्वविद्यालय परिसरभित्र त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ क्याम्पस पनि सञ्चालनमा आएको छ । चितवनमा कक्षा १० सम्म पढाइ हुने ३३९ सामुदायिक र १६४ संस्थागत विद्यालय छन् । ११ र १२ पढाइ हुने शैक्षिक संस्था ८५ वटा छन् । स्नातकदेखि विद्यावारिधिसम्म पढाइ हुने शैक्षिक संस्था ४५ छन् । सीटीईभीटीको कार्यक्रम चलाउने शैक्षिक प्रतिष्ठान पनि ३० को हाराहारीमा छन् ।
मेडिकल कलेज पनि भएका कारणले चितवन शैक्षिक संस्थामा पढ्न भारतीयका साथै देशका विभिन्न जिल्लाबाट विद्यार्थी आउँछन् । काठमाडौं र अन्य जिल्लालाई दाँज्दा चितवनको शैक्षिकस्तर राम्रो देखिने शिक्षा मन्त्रालयमा सल्लाहकार भई कामसमेत गरेका चितवनका शैक्षिक व्यक्तित्व रमाकान्त सापकोटाको मत छ ।
‘तर अवस्था यस्तो भएको छ, हामीले देशभित्र राम्रो गरेर मात्रै भएको छैन । चितवनका विद्यार्थीले विदेशका कलेजसँग आफूलाई जोड्न चाहन्छन् । चितवनका मात्रै होइन, देशभरबाटै उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको छ । त्यसैले हामीले आफ्नो गुणस्तर पनि विश्वस्तरको बनाउन आवश्यक छ,’ सापकोटाले भने ।साभार :कान्तिपुर

