काठमाडौं – डेंगु परीक्षणका नाममा प्रयोगशालाहरूले चार गुणासम्म बढी शुल्क असुलिरहेको पाइएको छ । केही निजी प्रयोगशालाले फेसबुकलगायत सामाजिक सञ्जालमा १२ सय वा त्योभन्दा बढी शुल्कमा परीक्षण हुने भन्दै प्रचार गरिरहेका छन् भने नाम चलेकै प्रयोगशालाले पनि ८ सय रुपैयाँसम्म लिने गरेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीका अनुसार परीक्षण किटको मूल्य र खर्च जोड्दा ४ सय रुपैयाँसम्म डेंगुको परीक्षण गर्न सकिन्छ । निजी क्षेत्रबाट सञ्चालित राजधानीको एक प्रयोगशालाका कर्मचारी पनि परीक्षण किटलाई बढीमा तीन सय रुपैयाँ पर्ने बताउँछन् । तर, सरकारी प्रयोगशालाले समेत चर्को शुल्क लिइरहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डेंगु परीक्षणको शुल्क ८ सय रुपैयाँ तोकिएको छ । आफन्तको परीक्षण र उपचार गराउन टेकु आएका सन्तोष कुमारले महँगो शुल्क तिर्नुपरेको बताए । ‘परीक्षण निःशुल्क हो भन्दा उहाँहरूले पहिले शुल्क तिरेको पुर्जा कटाउनु अनि मात्र परीक्षण हुन्छ भन्नुभयो,’ उनले भने, ‘सरकारीमा निःशुल्क भए हामीजस्तालाई सजिलो
हुने थियो ।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले किटको परल मूल्य नै बढी रहेको भन्दै परीक्षण शुल्क ८ सय लिने गरेको बताइन् । डेंगु उपचारका लागि सबैभन्दा बढी बिरामी पुग्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भने परीक्षण शुल्क ५ सय तोकिएको छ । ‘निजी क्षेत्रले परीक्षण शुल्क अधिकतम ४ सयदेखि ५ सयसम्म लिनुपर्ने हो । सरकारीले त निःशुल्क गर्नुपर्छ,’ जनस्वास्थ्य प्रयोगशालाकै एक चिकित्सक भन्छन् ।
विज्ञहरू परीक्षणलाई निःशुल्क गरेर व्यापक बनाइए मात्र डेंगु चाँडै नियन्त्रणमा आउने बताउँछन् । ‘परीक्षणको दायरा बढाउन पनि निःशुल्क गर्नुपर्छ अनि मात्र डेंगुको विस्तार रोक्न सघाउँछ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने । सरकारी निकायले परीक्षण शुल्कको अनुगमन गरेर आमनागरिकलाई राहत दिनुपर्ने उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर निजी प्रयोगशालाले परीक्षण शुल्क १२ सय रुपैयाँसम्म लिनु गलत भएको बताउँछन् । ‘किटको परल मूल्यको चार गुणासम्म बढी लिनु अनैतिक हो,’ उनले भने, ‘बिरामीलाई पीडामा थप पीडा दिनुभएन, मौका छोपेर कालोबजारी गर्नुभएन ।’ परीक्षण शुल्कमा मनपरी भएको गुनासो आएपछि वैज्ञानिक ढंगले शुल्कको सीमा तोक्न स्वास्थ्य मन्त्रालयले छलफल सुरु गरेको छ । ‘सोमबार मन्त्रालयमा डेंगुबारे भएको विशेष बैठकमा परीक्षण शुल्क निजी क्षेत्रमा ३ हजारसम्म लिने पनि सुनियो,’ प्रवक्ता ठाकुरले भने, ‘शुल्कको सीमा तोक्न प्रक्रिया थाल्ने सम्बन्धमा छलफल सुरु भइसकेको छ ।’
कोरोना महामारीका बेला पनि केही ल्याब र अस्पतालले पीसीआर परीक्षण शुल्क चार गुणासम्म बढी लिएका थिए । पछि सरकारले नै शुल्क निर्धारण गरेपछि परीक्षण सहज
बनेको थियो ।
डेंगु परीक्षणमा मनलाग्दी शुल्क
डेंगु परीक्षणमा मनलाग्दी शुल्क
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

