चाडपर्वका धार्मिक तथा सांस्कृतिक सम्बन्ध र परिभाषाभन्दा व्यापक छ, नेपाली समाजमा यसको स्विकारोक्ति । जुनसुकै धर्म र समुदायसँग सम्बन्धित चाडपर्व भए पनि नेपाली समाजले सहज रूपमा सहवरण गरेको देखिन्छ । दसैंजस्ता बहुसंख्यक संख्याका हिन्दु धर्मावलम्बीको चाड मात्रै होइन, क्रिस्चियन समुदायको क्रिसमसमा पनि मानिसहरूको सहभागिता उत्तिकै हुने गर्छ । केही दशकअघिसम्म मधेश क्षेत्रको एउटा मुख्य चाड छठ आज पहाड र हिमालसम्मै फैलिसकेको छ । यद्यपि, सहवरणका हिसाबले दसैं सबैभन्दा अग्रस्थानमा आउँछ । यस्तै कारणले हरेकजसो चाडपर्वहरू नेपाली समुदाय र फरक–फरक धर्ममा आस्थावान्हरूबीच भावनात्मक एकता बलियो बनाउने माध्यम भएका छन् । यो नेपाली समाजको सकारात्मक पक्ष हो ।
नेपाली समाज धार्मिक तथा साम्प्रदायिक रूपमा विविधतापूर्ण छ । इन्द्रेणी स्वरूपको छ । यस्ता समाजमा आफू इतरको समुदाय र धर्मका चाडपर्वमा अवलम्बन गर्दा सांस्कृतिक अन्तरघुलन बलियो बन्दै जान्छ । चाडपर्व र संस्कृतिहरू साझा सम्पत्ति बन्छन् । नेपाली समाजले यो सकारात्मक पक्षलाई थप बलियो बनाउने प्रयत्न गरिरहनुपर्छ । जसले नेपालीबीचको एकतालाई थप बलियो बनाउँदै लैजान्छ । समाज थप उदार, सहिष्णु र सहयोगी बन्दै जान्छ ।
घटस्थापनामार्फत दसैं औपचारिक सुरु हुनुभन्दा एक साताअघि बेहोर्नॅपरेको प्राकृतिक विपत्तिका कारण यस पटकको दसैं अघिल्ला वर्षहरूमा जस्तो उत्साहप्रद भने छैन । किनकि, धेरैले दसैंको मुखमै आफन्तको मृत्यु र बेपत्ता भोग्नुपर्यो । आफू स्वयं विस्थापित हुनुपर्यो । मानिसहरूले वर्षौं बिताएका घर गुमाउनुपर्यो । जग्गाजमिन र पशुजन्य सम्पत्ति गुमाउनुपर्यो । एक तमासले बितिरहेको दैनिकी बिथोलियो । प्रत्यक्ष नोक्सान नबेहोरेकाहरूले पनि सडक भत्किएका कारण यात्राका क्रममा हैरानी बेहोर्नॅपर्यो/बेहोर्नॅ परिरहेको छ । प्राकृतिक विपत्ति र दसैंको मुखमा चुलिएको महँगीले निम्न वर्गका मानिसहरू प्रताडित भएका छन् । यस्ता अनेकौं कारणले धेरैका निम्ति यो दसैं उत्साहप्रद छैन । तर, व्यक्तिगत रूपमा अनेकौं अप्ठ्यारा भोगेर भए पनि चाडपर्वमार्फत त्यसलाई भुलाउने गरेको विगतमा देखिएकै हो । सम्भवतः यस पटक पनि त्यो शैली प्रकट हुनेछ ।
चाडपर्वका बेलामा काठमाडौंलगायतका ठूला सहरबाट मानिसहरू कष्टपूर्ण यात्रामार्फत आफ्नो गाउँघर पुग्ने गरेका छन् । सहज अवस्थामा पनि त्यस्तो यात्रा जोखिमपूर्ण हुने गर्थ्यो । यस पटक भने प्राकृतिक विपत्तिले सडक सञ्जाललाई थिलथिलो बनाएको छ । पिच सडकहरू भत्किएका कारण कच्ची, अस्थायी वा कम चल्तीको वैकल्पिक सडक प्रयोग गर्नॅपर्ने बाध्यता छ । भारी वर्षा अहिले नभए पनि पछिल्ला दिनमा लागेको घामले सुक्खा पहिरोको सम्भावना छ । दसैंको समयमा सडकमा हुने गाडीको चाप र गाडीभित्र हुने यात्रुको चापले पनि जोखिम बढाउँछन् । व्यक्तिगत सवारीसाधन प्रयोग गर्दा पनि जोखिम रहन्छ । यसकारण यात्रा गर्नॅपर्ने बाध्यता भएकाहरूले आफ्नो यात्रालाई सुरक्षित बनाउन सचेत हुनुपर्छ । आफ्नो यात्रामा जोखिमका बिन्दुहरूबारेमा जानकारी लिने गर्नॅपर्छ । सम्बन्धित निकायका सूचनाहरूलाई ख्याल गर्नॅपर्छ । यति गर्न सके दुर्घटनामा पर्ने सम्भावना न्यून भएर जान्छ । हामीले के बुझ्नुपर्छ भने कुनै दुर्घटना भयो भने दुःख बेहोर्नॅपर्ने आफू र आफ्नो परिवारले हो । त्यतिबेला अन्य जुनसुकै निकायले गरेको गल्ती भए पनि तात्विक अर्थ रहँदैन । त्यसैले दुर्घटनाका जोखिमप्रति सचेत भएर यात्रा गर्नु बुद्धिमानी हुन्छ ।
यति बेला ध्यान दिनुपर्ने अर्को पक्ष भनेको देशका विभिन्न भागमा जारी डेंगी संक्रमण पनि हो । पछिल्लो तथ्यांकअनुसार देशका ७६ जिल्लामा करिब १५ हजार जनामा डेंगी संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामै करिब तीन हजार संक्रमित छन् । तर, चाडपर्वको रमाइलो परिवेशमा मानिसहरूले आफ्नो स्वास्थ्यप्रतिको सचेतपना कम गरेको देखिन्छ । साथसाथै परिवारमा धेरै सदस्य जम्मा हुँदा त्यसतर्फ ध्यान पनि पुगेको हुँदैन । जसले गर्दा संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमण हुन सक्छ । त्यति मात्रै होइन, दसैंको खानपिन तथा अन्य जोखिमपूर्ण जीवनशैलीका कारण नसर्ने रोगहरूको जोखिम पनि बढ्ने गरेको चिकित्सकहरूको भनाइ पाइन्छ । त्यसैले नसर्ने रोग लागेका वा त्यसको जोखिममा रहेका उमेर समूहका व्यक्तिहरूले चिकित्सकसँग सल्लाह लिने, आफ्नो स्वास्थ्य परीक्षण गर्ने र चिकित्सककै सल्लाहअनुसारको खानपान तथा अन्य जीवनशैली अपनाउन आवश्यक छ । जोखिममा नरहेका उमेर वा शारीरिक अवस्थाका व्यक्तिले पनि आफ्नो खानपान र जीवनशैलीलाई संयमित गराउन सक्दा फाइदा नै हुन्छ ।
हामी सबैको दसैं अवधि खुसी र उमंगका साथ व्यतीत होस् भन्ने कामना गर्छौं । पारिवारिक मिलन होस्, मीठो खाने र राम्रो लगाउने अवसर बनोस् भन्ने चाहन्छौं । दसैंको सबैलाई शुभकामना ।
दसैंको शुभकामना
दसैंको शुभकामना
"जोखिममा रहेका उमेर समूहका व्यक्तिहरूले चिकित्सकसँग सल्लाह लिने, आफ्नो स्वास्थ्य परीक्षण गर्ने र चिकित्सककै सल्लाहअनुसारको खानपान तथा अन्य जीवनशैली अपनाउन आवश्यक छ । जोखिममा नरहेका उमेर वा शारीरिक अवस्थाका व्यक्तिले पनि आफ्नो खानपान र जीवनशैलीलाई संयमित गराउन सक्दा फाइदा नै हुन्छ । "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

