काठमाडौँ, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले तयार पारेको सन् २०२३/२४ को मानव विकास प्रतिवेदनमा नेपाल १९३ देश र भूभागमध्ये १४६औं स्थानमा रहेको तथ्य सार्वजनिक भएको छ । विभिन्न देशको प्रतिव्यक्ति कुल राष्ट्रिय आय, औसत आयु, शिक्षालगायत पक्षको मापन गर्ने उक्त प्रतिवेदन बिहीबार सार्वजनिक भएको हो । प्रतिवेदनमा नेपालको स्तर सन् २०२२ मा सामान्य सुधार भएको देखाइएको छ, वर्ष २०२१ मा भने नेपाल १४९ औं स्थानमा थियो ।
‘गतिरोधको अन्त्य : ध्रुवीकृत विश्वमा सहकार्यको पुनःकल्पना’ शीर्षकको प्रतिवेदनले नेपालको मानव विकास सूचकांक मान ०.६०१ रहेको देखाएको छ । त्यसअनुसार नेपाल मध्यम मानव विकास श्रेणीमा पर्ने उल्लेख छ । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकांकको मान ०.५५० देखि ०.६९९ बीचको श्रेणीलाई बुझिन्छ ।
यस्तै सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकांक सुधार ०.०१० अर्थात् विश्वव्यापी औसत ०.००४ भन्दा ०.००६ ले बढिरहेको जनाइएको छ । प्रतिवेदनले उक्त वर्ष महिलाहरूको मानव विकास सूचकांक ०.५६२ र पुरुषको ०.६३५ रहेको र लैंगिक विकास सूचकांकको मान ०.८८५ हुन आउने पनि देखाएको छ । यसअनुसार पुरुषको तुलनामा महिलाको मानव विकास पछि परेको देखिन्छ । नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय ४ हजार २६ अमेरिकी डलर रहेको प्रतिवेदनको आाकलन छ । गत वर्षको प्रतिवेदनमा यो संख्या तीन हजार आठ सय ७७ डलर थियो भने वर्ष २०२०/२१ मा दुई हजार सात सय ४८ अमेरिकी डलर थियो ।
सन् १९९० मा ०.३९५ मात्रै रहेको नेपालको मापन २०२२ सम्म आइपुग्दा ०.६०१ पुगेको र त्यस अवधिमा नेपालको जन्ममा सरदर आयु १५.७ वर्ष, विद्यालय जाने औसत वर्ष ५.४ प्रतिशत, विद्यालय जाने अपेक्षित वर्ष २.१ वर्ष र प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) करिब १६५.७ प्रतिशतले परिवर्तन भएको प्रतिवेदनमा दर्शाइएको छ ।
मानव विकास सूचकांकमा नेपाल सन् २०२० मा १४२ औं स्थानमा थियो भने सन् २०१९ मा १४७, सन् २०१८ मा १४७, २०१५ मा १४६ र सन् २०१६ मा १४५ औं स्थानमा थियो । गएको वर्ष निकै कमजोर देखिएको यो सूचकांकमा नेपालको मापन यो वर्ष भने केही सुधार हुँदा विगत ५ दशकहरूमा गरेको प्रगतिमा कोभिड महामारीपछि गतिरोध आएको विश्लेषण गरिएको छ । युवाका लागि मर्यादित रोजगारी, स्थानीय र सामाजिक असमानता, आर्थिक वृद्धिका साथै संस्थाहरूमाथिको विश्वाससँग सो गतिरोध सम्बन्धित रहेको यूएनडीपीले उल्लेख गरेको छ ।
‘तीनै तहका सरकारहरूबीच मात्र नभई निजी क्षेत्र, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय र आम जनतासँग पनि सहकार्य गर्नु अपरिहार्य छ,’ नेपालका लागि यूएनडीपीका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लाबेले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा भने, ‘संघीय सरकारले पारदर्शिता, जवाफदेहिता र निष्ठामा बढी ध्यान दिनुपर्छ, प्रादेशिक र स्थानीय सरकारहरूले योजना र सेवा प्रवाह बढाउँदै नागरिक समाजले आशा र विश्वास पुनर्जीवित गर्न जनताको सहभागिता र आवाजलाई अझ प्रवर्द्धन गर्न सक्छन् ।’
जलवायु परिवर्तन, डिजिटलीकरण, गरिबी र असमानताको क्षेत्रमा सामूहिक रूपमा काम गर्न नसक्नुले मानव विकासमा बाधा पुगेको प्रतिवेदनको निष्कर्ष छ । राजनीतिक ध्रुवीकरणले विश्वभरका मानिस र संस्थामाथिको आस्था झन् कमजोर हुने खतरा रहेको प्रतिवेदनले औंल्याएको छ । विश्वमा १० मध्ये ९ व्यक्ति लोकतन्त्रको पक्षमा रहेको देखिने जनाउँदै प्रतिवेदनले दुई दशकअघि धनी र गरिब राष्ट्रबीचको असमानता घट्दै गइरहेको क्रम हाल उल्टिएको खुलासा गरेको छ । विश्वव्यापी रूपमै बढ्दो राजनीतिक ध्रुवीकरणसँगै कार्बन उत्सर्जनमा आधारित अर्थतन्त्र, डिजिटल प्रविधिको दुरुपयोग र द्वन्द्व जस्ता समस्या विश्वव्यापी सहकार्यका बाधक रहेको पनि यूएनडीपीको निष्कर्ष छ ।
यस्तै द्रुतगतिमा विकास हुँदै गएको आर्टिफिसियल इन्टेलिजेन्स र जलवायु परिवर्तनसम्बन्धी समस्याले निम्त्याएको तापक्रम वृद्धि पनि निकै चिन्ताको विषय बनेको र यस्ता संकट सामना गर्न तत्काल एकताबद्ध कदम आवश्यक रहेको प्रतिवेदनमा जनाइएको छ । सन् २०२३ मा आर्थिक सहायता र विकास संगठन (ओईसीडी) का सदस्य रहेका सबै ३८ वटा राष्ट्रले मानव विकास सूचकांकमा उच्च अंक हासिल गरेको भए पनि १८ देशले अपेक्षित प्रगति प्राप्त नगरको प्रतिवेदनमा भनिएको छ । सन् २०१९ यता खस्किँदै गएको सूचकांकलाई कोभिड महामारीअघिको अवस्थामा पुर्याउन अझै सफल नभएको प्रतिवेदनमा देखाइएको छ ।
प्रतिवेदनले मानव विकासको सबैभन्दा बढी असर अफगानिस्तान र युक्रेनमा परेको उल्लेख गरेको छ । अफगानिस्तानको मानव विकास १० वर्षपछि धकेलिएको र युक्रेनको स्थिति सन् २००४ यताकै सबैभन्दा कमजोर बनेको निष्कर्ष निकालिएको छ । मानव विकासको उच्च स्थानमा स्विट्जरल्यान्ड, नर्वे, आइसल्यान्ड, हङकङ, डेनमार्कलगायत देश रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले विश्वव्यापी मानव विकास सूचकांकमा आएको सुधारलाई आंशिक, अपूर्ण र असमान मानेको छ । समाजहरूबीचको विश्वव्यापी अन्तर सम्बन्धका बाबजुद यस्ता सुधार असफल हुँदै गइरहेको पक्षलाई चुनौतीका रूपमा प्रस्तुत गरिएको छ ।

