काठमाडौँ , नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी )ले सांसद सुनिलकुमार शर्मासहित पाँचजनालाइृ पक्राउ गरेको छ । पक्राउ पर्नेमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन् ।
उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ ।पक्राउ पर्ने अन्यमा पिपरा–८, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पताल मा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाह छन् । शाहलाई सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो भने यादवलाई रौतहटबाट पक्राउ गरिएको हो ।
अहिले पनि सीआईबीको अपरेशन जारी रहेको जनाइएको छ । यसअघि आज दिउँसो सिआइबीको टोलीले काठमाडौँको गोल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको विषयमा सीआईबीले संसद् सचिवालयलाई दिउँसै जानकारी गराइसकेको छ ।
कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको थियो । उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई ब्यूरोले लाजिम्पाटस्थित नयाँ कार्यालयमा राखेको छ । सीआईबीले शर्मासहितका चिकित्सकलाई पक्राउ गर्न चलाएको यो अपरेशनलाई ‘फोक्सट्रोट चार्ली’ नाम दिएको छ ।

