काठमाडौं – विश्व स्वास्थ्य संगठनको जीएमपी (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) अर्थात् कुशल उत्पादन निर्देशिका पालना नगरेका १६ भारतीय औषधि उत्पादक कम्पनीको सूची सार्वजनिक गर्दै औषधि व्यवस्था विभागले सचेत गराएको छ । विभागले विदेशी उद्योगहरूको जीएमपी पालनासम्बन्धी निरीक्षण गरेको थियो । सूचीमा आयुर्वेदिक औषधि उत्पादन गर्ने योगगुरु बाबा रामदेवको कम्पनी ‘दिव्य फार्मेसी’ पनि परेको छ ।
जीएमपी निर्देशिका पालना नगरे पनि ती कम्पनीका उत्पादनको बिक्रीवितरणमा भने कुनै बन्देज लाग्ने छैन । कम्पनीहरूले आफूले सबै मापदण्ड पालना गरेको दाबी गरेर प्रमाणपत्र बुझाएका आधारमा अनुगमन मात्रै गरिएको विभागका महानिर्देशक भरत भट्टराईले बताए । ‘जीएमपी गाइडलाइन्स पालना गरिएको छ या छैन भनेर मात्रै अनुगमन गरेका हौं । हामीले त्रुटि देखेको विषय सम्बन्धित कम्पनीलाई जानकारी गराएका छौं,’ उनले भने, ‘उहाँहरूले त्यसलाई सच्याएर पुनः प्रमाणीकरणका लागि निवेदन दिन सक्नुहुन्छ । यसैका आधारमा अहिले नै उत्पादनमाथि रोक लगाउनुपर्ने अवस्था भने छैन ।’
जीएमपीका धेरै प्रावधानमध्ये ती कम्पनीले कुन विषयमा त्रुटि गरे भनेर विभागले औंल्याएको छैन । विश्व स्वास्थ्य संगठनको नीतिअनुसार औषधि उत्पादक कम्पनीले जीएमपी पूर्ण पालना नगरे उत्पादन पूर्ण रूपमा सुरक्षित मानिँदैन । गुणस्तर मापदण्डअनुसार लगातार उत्पादन र नियन्त्रण सुनिश्चित गर्न बनाइएको प्रणाली जीएमपी हो । खराब गुणस्तरको औषधिमा अनावश्यक रूपमा थपिएका विषाक्त पदार्थ हुन सक्छन् । औषधिमा दाबी गरिएको पदार्थ थोरै वा समावेश नै नगर्दा त्यस्ता औषधिले उपचारात्मक प्रभाव पार्दैनन् । धेरै देशले जीएमपी मापदण्ड पूरा गरेका औषधिलाई मात्रै आयात र बिक्रीवितरणका लागि योग्य मानेका हुन्छन् । औषधि उत्पादनको जोखिम कम गर्न बनाइएको यस्तो निर्देशिका अन्तिम उत्पादनको परीक्षणको माध्यमबाट मात्रै हटाउन नसकिने डब्लूएचओले जनाएको छ । उत्पादनमा प्रत्याशित प्रदूषण, स्वास्थ्यमा क्षति वा मृत्यु, कन्टेनरहरूमा गलत लेबल तथा सही तथ्यांक नराख्दा बिरामीले गलत औषधि प्राप्त गर्न सक्नेलगायतका जोखिम हुन सक्छन् ।
उपकरण, कर्मचारीको प्रशिक्षण र उनीहरूको व्यक्तिगत स्वच्छताजस्ता प्रक्रियाले उत्पादनको गुणस्तरमा असर पर्न सक्छ । प्रत्येक पटक उत्पादन गर्दा हरेक चरणमा यस्तो प्रक्रिया सही तरिकाबाट पालना गरिनुपर्ने डब्लूएचओको भनाइ छ । विभिन्न देशले आ–आफ्नै तवरबाट पनि यो नियम बनाएका छन् । नेपालमा औषधि उत्पादन कुशल अभ्यास संहिता २०७२ को परिच्छेद ३ को दफा ६ मा ‘कुशल उत्पादन अभ्यास’ बारे उल्लेख छ । संहितामा औषधि उत्पादन कुशल अभ्यास पालना गरेको भनी कम्पनीहरूले प्रमाणपत्र लिन अनिवार्य गरिएको छ ।
जीएमपी पालना नगर्ने कम्पनी
१. रेडिएन्ट प्यारेन्टरल्स लिमिटेड
२. मर्करी ल्याबोरेटरिज लिमिटेड
३. एलायन्स बायोटेक
४. क्यापट्याब फार्मेसी
५. एग्लोमेड लिमिटेड
६. जी ल्याबोरेटरी लिमिटेड
७. ड्याफोडिल्स फर्मास्युटिकल
८. जीएलएस फर्मा लिमिटेड
९. युनिजुलिस लाइफ साइन्स
१०. कन्सेप्ट फर्मास्युटिकल्स प्रालि
११. आनन्द लाइफ साइन्स
१२. आईपीसीए ल्याबोरेटरिज
१३. क्याडिला हेल्थकेयर लिमिटेड
१४. डायल फर्मास्युटिकल्स
१५. माककुर ल्याबोरेटरिज
१६. दिव्या फार्मेसी

