काठमाडौं । नेपालमा दर्ता नभएका औषधिको आयात गरेको अभियोगमा प्रहरीले कान्तिपुर भेट डिष्ट्रब्यूटर्स प्रालि का सञ्चालक एवं अध्यक्ष सुना सुवेदीलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाट काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौ महानगरपालिका वडा नं ३१, शंखमुलबाट पक्राउ गरेको हो । सुबेदीमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
पशु सेवा विभाग अन्तर्गत आयात निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिले गरेको निर्णयअनुसार नेपाल सरकार, कृषि तथा पशुपंक्षी बिकाश मन्त्रालय, पशु सेवा बिभाग, राष्ट्रिय पशु आहारा तथा लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन, ललितपुरबाट कान्तिपुर भेटलाई लाई जारी गरिएको पशुपन्क्षीको फिड सप्लिमेन्ट \ प्रोवायोटिक्स् भिटामिन \ मिनरल \ टक्सिन वाइण्डर नियमानुसार भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका औषधिहरुको बिबरण उल्लेख गरी विभिन्न भन्सार कार्यालयमा पेश गरी आयात गरेको देखिएको प्रहरी बरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
नेपालमा दर्ता नभएका फ्लोक्युर,फ्लोरलुटिन,विनोडक्स,लेभोफ्लोक्स बीएच, पेपराईजिन लगायतका औषधिको विवरण उल्लेख गरि विभिन्न भन्सार कार्यालयमा पेश गरि आयात गरेको देखिएको प्रहरिले जनाएको छ ।
कान्तिपुर भेट विरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता भइ ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिइएको प्रेस विज्ञप्तिमा उल्लेख छ । सुबेदीलाई केन्द्रीय प्रहरी व्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले शुक्रवार पक्राउ गरेको थियो ।साविक सर्लाही जिल्ला ईश्वरपुर गाविस वडा नं ४ स्थायि घर भएकी सुबेदी शंखमुल बस्दै आएकी थिइन् ।

