काठमाडौं । औषधि आयात गरि विक्रि गर्दै आएको यतिकेम डिष्ट्रिब्युटरले एकै वर्ष पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ७७ करोड ७२ लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२२ मा १ अर्ब ७३ करोड २८ लाख रुपैयाँ व्यापार गरेको कम्पनीले सन् २०२१ मा १ अर्ब ६० करोड १२ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ४० करोड ३८ लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३८ करोड ७३ लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २००१ मा स्थापना भएको कम्पनीले औषधीको व्यापार गर्दै आएको छ । कम्पनीले डाइबेटिज, क्यान्सर र टीबिसहित अन्य विभिन्न प्रकारका औषधी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विश्वका विभिन्न मुलुकबाट औषधी आयात गरेर नेपालमा बेच्दै आएको छ ।मुलुकमा पहिलो पटक एचआईभी विरुद्धको औषधि पनि यतिकेमले नै ल्याउन सफल भएको हो । पछिल्लो समय पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप पनि ल्याएको छ । सन् २०२० मा बेल्जियममा उत्पादन भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको औषधि अर्डर गरेको थियो । तर, चार वर्ष पछि सन् २०२४ मा १० हजार डोज ल्याएका थिए । सन् २०१९ मा १५ हजार डोज ल्याउन सफल भएका थिए ।
प्रभुराज वैद्य र पृथ्वीराज वैद्यको ५०\५० प्रतिशत हिस्सा रहेको कम्पनीले ७५ करोड २६ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । त्यस्तै, कम्पनीले ८ प्रतिशत नाफा कमाएको छ । कम्पनीको स्वदेशी तथा विदेशी औषधी उत्पादनकर्ता र सप्लायर्ससँग राम्रो सम्बन्ध छ । कम्पनीको देशभर नै डिलर छ । कम्पनीअनुसार सन् २०२३ मा गरेको व्यापारमध्ये ४४ प्रतिशत आम्दानी मुख्य १० ग्राहकबाट भएको उल्लेख छ । जसमा ४० प्रतिशत व्यापार टेन्डरमार्फत् भएको छ ।

