काठमाडौं – दसैंताका काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले डेंगीको प्रकोप देशव्यापी बन्ने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन् । अहिले कुल संक्रमितमध्ये ६१ दशमलव ७३ प्रतिशत उपत्यकामा छन् । दसैंका बेला १० लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिन्छन् । ‘देशभरि नै डेंगी सार्ने भेक्टर (एडिस लामखुट्टे) पाइन्छ । दसैंमा उपत्यकाबाट मान्छे घर फर्कंदा डेंगी भाइरस पनि देशव्यापी बन्ने सम्भावना छ,’ स्वास्थ्य सेवा विभागको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले भने ।
आइतबारसम्म देशभरमा २४ हजार ४ सय ९२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ जसमध्ये १५ हजार १ सय २१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौं जिल्लामा हालसम्म ८ हजार १ सय ३६ जनामा डेंगी देखिएको छ, जसमध्ये संक्रमणको ९०.६० प्रतिशत अर्थात् ७ हजार ३ सय ७२ केस पछिल्ला २४ दिनमा देखिएका हुन् । यस्तै ललितपुरका ५ हजार ९ सय ३५ संक्रमित मध्ये ७२.०६ प्रतिशत अर्थात् ४ हजार २ सय ७७ जना पछिल्ला २४ दिनका हुन् । भक्तपुरमा हालसम्म पुष्टि भएकामध्ये ९१.२३ प्रतिशत अर्थात् ९ सय ५८ संक्रमित पछिल्ला २४ दिनका हुन् ।
दसैंमा एकैपटक ठूलो संख्यामा मानिस बाहिरिँदा उपत्यकामा संक्रमणमा कमी आउने भए पनि डेंगी सार्ने लामखुट्टेको जनघनत्व बढी भएको ठाउँमा संक्रमण बढ्न सक्ने जोखिम रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुर बताउँछन् । उनले यस्तो जोखिमलाई ध्यानमा राख्दै संघीय मामिला मन्त्रालयमार्फत सबै पालिकामा डेंगी नियन्त्रण अभियान चलाउन भनिएको बताए । ‘दसैंमा व्यापक रूपमा उपत्यकाको जनसंख्या बाहिरिने भएकाले स्थानीय तहमा सर्च एन्ड डिस्ट्रोय अभियान सञ्चालन गर्न भनिएको छ,’ डा ठाकुरले भने ।
विज्ञहरू डेंगीको विस्तार अझ पाँच साता जान सक्ने भएकाले हरेक घर र बाहिर लामखुट्टेको फुल, लार्भा र प्युपालाई ‘सर्च एन्ड डिस्ट्र्रोय’ (खोजी र नष्ट) गर्नुको विकल्प नरहेको बताउँछन् । केही वर्षयता अक्टोबर (असोज–कात्तिक) महिनाभरि डेंगी संक्रमण बढ्ने गरेको पाइएको ईडीसीडीका निर्देशक डा.चुमनलाल दासले बताए । ‘प्रत्येक घरमा हरेक साता लामखुट्टेको बासस्थान राम्ररी खोजेर नष्ट गरिए मात्र यो संक्रमण नियन्त्रण हुन्छ,’ उनले भने, ‘एउटा वयस्क लामखुट्टेले आठ सय वटासम्म फुल पार्ने र फुल, प्युपा र लार्भा सफा पानीमा रहने भएकाले संक्रमित लामखुट्टेको टोकाइबाट बच्न फुल, प्युपा, लार्भा खोजेर नष्ट गर्नुपर्छ । संक्रमित लामखुट्टेले पारेको फुल नष्ट हुनबाट जोगियो भने ८–९ महिनासम्म पानीको सम्पर्कमा आउँदा लामखुट्टेमा परिणत हुन सक्छ ।’
विज्ञहरू लामखुट्टेको प्रजनन स्थल नष्ट नगरिए अर्को वर्षसमेत डेंगी संक्रमण थप भयावह बन्न सक्ने बताउँछन् । ‘काठमाडौं उपत्यकामा डेंगी नियन्त्रणमा सरकारी उदासीनताले डेंगी संक्रमणको स्थानीयकरण (इन्डिमिक) हुनेछ,’ ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘सिंगापुर, दिल्ली जस्तै अब काठमाडौं उपत्यकामा बर्सेनि डेंगी प्रकोप देखिन सक्छ ।’ उनी दसैंमा काठमाडौंबाट घर जानेहरूलाई डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिए झुलभित्र सुत्न, लामखुट्टेको टोकाइबाट बच्न र डेंगी परीक्षण गराउन सल्लाह दिन्छन् ।
उपत्यकाबाहिर सबैभन्दा बढी मकवानपुरमा १ हजार ७ सय १७ जना डेंगी संक्रमित भएका छन् । यस्तै, दाङमा १ हजार २ सय ५२, चितवनमा ५ सय ४४, धादिङमा ३ सय ३९, रूपन्देहीमा २ सय ८३, कैलालीमा २ सय ७८ र गुल्मीमा २ सय ९९ मा डेंगी संक्रमण देखिएको छ । नेपालमा पहिलो पटक सन् २००४ मा डेंगी संक्रमण देखिएको थियो । सन् २०१९ मा सबैभन्दा बढी १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको थियो । उक्त वर्ष ६८ जिल्लामा संक्रमण फैलिएको थियो ।
डेंगी संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण हो । एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले डेंगी सार्न सक्छ । संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा डेंगीको संक्रमण हुन्छ । संक्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र लक्षण देखा पर्न थाल्छ । चिकित्सकका अनुसार हाल संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जीउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, पेट दुख्ने र एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिन्छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले डेंगी संक्रमणको कुनै निश्चित उपचार नभएको जनाएको छ । चिकित्सकका अनुसार डेंगी संक्रमित बिरामीले ज्वरो कम गर्न सिटामोल खानुपर्छ र आराम गरेर झोलिलो पदार्थ बढी खानुपर्छ । डब्लूएचओका अनुसार डेंगीमा ज्वरो, दुखाइ जस्ता लक्षणका लागि ‘एसिटामिनोफेन’, वा ‘पारासिटामोल’ खानुपर्छ । उनीहरू ब्रुफिन र एस्पिरिनजस्ता औषधिको सेवन नगर्न पनि सचेत गराउँछन् ।
डेंगु अझ फैलिने जोखिम
डेंगु अझ फैलिने जोखिम
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

