काठमाडौं । वर्षायाम शुरु भएसँगै उच्च पहाडी क्षेत्रमा समेत औलो, डेंगू, स्क्रब टाईफस, चिकनगुनिया (कीटजन्य )समस्याले सताउन थालेको छ ।
इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा महाशाखाका प्रमुख डा.चुमनलाल दासले कीटजन्य रोगका बिरामीको संख्या बढ्दै गइरहेको बताए।
पहिले–पहिले तराईमा मात्र औलो, डेंगूजस्ता कीटजन्य रोग लाग्ने गर्छ भनिन्थ्यो । तर मानवीय आवतजावत बढ्दै जाँदा यस्ता बिरामी बढ्दै गइरहेको हो । सुदूरपचिम प्रदेशको उच्च पहाडी भेग अछाम, डडेल्धुरा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला र लुम्बिनी प्रदेशको पूर्व पहाडी क्षेत्रमा सबैभन्दा बढी यस्ता बिरामीको संक्रमण देखिएको उनले जानकारी दिए।रोग नियन्त्रण महाशाखाका उपस्वास्थ्य प्रशासक गोकर्ण दाहालका अनुसार, पछिल्लो १० वर्षयता तराईमा भन्दा पनि पहाडी भेगमा कीटजन्य रोगको प्रकोप बढ्दै गइरहेको छ। वातावरणमा आएको परिर्वतन र हिमाल, पहाड र तराई जाने मानिसहरुको आवतजावत धेरै भएकाले पनि सजिलैसँग कीटजन्य रोग पहाडी क्षेत्रमा सजिलै पुगिरहेको उनले बताए ।
दाहालका अनुसार, यस वर्ष सबैभन्दा बढी डेंगुका बिरामी बर्दियामा १५ जना भेटिएका छन्। बर्दियाबाहेक अन्य २२ जिल्लामा ५९ जना डेंगु र २९ जिल्लाबाट २९६ स्क्राब टाइफस संक्रमित फेला परेका छन्।
त्यसैगरी, २०७७ र ०७८ मा चार सय ८९ वटा डेंगुका रिबामी फेला परेको उनले बताए।
त्यस्तै, पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा सन् २०२० मा एक हजार चार सय ३९, २०२१ मा एक हजार पाँच सय १६ र सन् २०२२ देखि हालसम्म २९६ जना स्क्राब टाइफसका बिरामी भेटिएका हुन्। सबैभन्दा बढी संक्रमितहरु पाल्पा, दार्चुला, अछाम र डडेलधुरामा भेटिएको दाहालले जानकारी दिए।
“मनसुन शुरु भइसकेको छ। अहिलेको अवस्था हेर्दा कीटजन्य रोगको फैलावट हुने स्थिति त देखिँदैन”, उनले भने, “तर रोग सार्ने तत्व हिमाली क्षेत्रमा समेत बढ्दै गइरहेकाले नियन्त्रणका लागि तयारी अवस्थामा भने बस्नुपर्छ।”
चुनौती बन्दै कीटजन्य रोग नियन्त्रण
कीटजन्य रोग तराईबाट पहाड हुँदै हिमाली भेगतिर उक्लिँदै जाँदा रोग नियन्त्रणमा थप चुनौती थपिएको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ। सरकारले सन् २०२५ सम्ममा नेपाललाई कीटजन्य रोग निवारण गर्ने राष्ट्रिय लक्ष्य लिएको छ जुन पुरा गर्नका लागि निकै चुनौतीपूर्ण देखिन्छ।
सरकारी तथ्यांक अनुसार, २०७०\७१ यता ‘भेक्टर बर्न डिजिज’ हिमाली क्षेत्रसम्म पुग्न थालिसकेको छ। त्यस्तै सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि कीटजन्य रोगको संक्रमण फौलाउने तत्व पहाडी क्षेत्रमा उक्लिँदै जानु चिन्ताको विषय रहेको बताए।
कीटजन्य रोगहरु मुख्य गरेर जलवायु परिवर्तन, सहरीकरण, वातावरणीय तापक्रम बढ्दै जाँदा उच्च पहाडी र हिमाली क्षेत्रतिर सरिरहेकाले रोग नियन्त्रणमा थप चुनौती थपिनसक्ने डा.पुनको भनाइ छ।
सामान्यतया लामखुट्टे र किर्नाबाट सर्ने स्क्राब टाइफस रोग तराईमा बढी मात्रामा हुन्छ भन्ने धारणा थियो तर अब त्यो तराईमा मात्र सीमित नरहेको उनको तर्क छ।
डा. पुनले वर्षयाम शुरु समय भएकाले यो मौसममा कीटजन्य रोगबाट बच्नका लागि सरसफाइ र खानपिनमा विशेष ध्यान दिन समेतसबैमा अनुरोध गरे। “अहिले यस्ता रोगको संक्रमणको चक्र बदलिँदै गइरहेको छ”, उनले भने, “लामखुट्टे तथा किर्नाहरू कम तापक्रममा पनि बाँच्न सक्ने भइसकेकाले यीनीहरुले आफुलाई जस्तो सुकै ठाउँमा पनि बस्नसक्ने बानी बनाइरहेका छन्।”
सरकारले कीटजन्य रोग नियन्त्रण गर्ने उदेश्यका साथ जिका, डेंगु र चिकनगुनिया भाइरस लक्षण भएका बिरामीलाई राष्ट्रिय प्रयोगशालामा निःशुल्क पिसिआर परीक्षण गर्दै आइरहेको पनि छ।

