काठमाडौँ,एक दशकयता फैलिरहेको स्थानीय औलोका कारण हिमाली जिल्लाहरू उच्च जोखिममा रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
ती हिमाली जिल्लाहरूले उच्च सतर्कता नअपनाए स्थानीय औलोले जनस्वास्थ्यमा व्यापक असर पर्ने सम्भावना रहेको महाशाखाको कीटजन्य शाखाले चेतावनी दिएको छ। गर्मी मौसम बढेसँगै लामखुट्टेको संख्या फैलिने र संक्रमित लामखुट्टेले कुनै पनि व्यक्तिलाई टोके औलो रोग लाग्छ।
एनाफिलिज जातको संक्रमित लामखुट्टेले टोके औलो रोगको संक्रमण हुने गर्छ। एनाफिलिज प्रजातिमा पनि चार प्रकारका उपप्रजाति छन्। नेपालको हिमाली जिल्ला मुगु, बाजुरा, कालिकोट, हुम्लालगायत हिमाली जिल्लामा स्थानीय औलो फैलिरहेको कीटजन्य शाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेलले बताए। भेक्टर कन्ट्रोल शाखाका अनुसार पहिला तराईका जिल्ला र भारत पुगेर आउनेमा औलो रोग हुन्छ भन्ने मान्यता थियो।
सन् २०१० यता हिमाली जिल्लाका खोंचका भागहरूमै औलो संक्रमण गराउने प्रजातिका लामखुट्टे भेटिएपछि र ती लामखुट्टेको टोकाइबाट औलो संक्रमण भएको पाइएपछि यसलाई स्थानीय औलो भन्न थालिएको हो। सन् २०१७/१८ मा २८ जनामा स्थानीय औलो संक्रमण भएको र तीन सयजनामा आयातित औलो संक्रमण भएको थियो।
स्थानीय औलो फैलिएपछि पहिचान ढिलो हुँदा यो प्रजातिको लामखुट्टे फैलिने र मानिसलाई संक्रमण हुने क्रम बढिरहेको हो। सन् २०२१ मा स्थानीय औलोको कारण कञ्चनपुमार एकजनाको मृत्यु भएको थियो भने सन् २०१६ मा तीनजना र २०१७ मा तीन जनाको औलोका कारण मृत्यु भएको थियो। खोजपडताल ढिला हुँदा सन् २००५ मा स्थानीय औलो संक्रमणका कारण नेपालगन्जमा एक महिनामै २५ जनाको मृत्यु भएको थियो।
औलो समुदायमा फैलिए एकै पटक धेरैजनाको मृत्यु हुन सक्ने भएकाले यसबाट बच्न यो प्रजातिको लामखुट्टेको टोकाइबाट बच्ने एक मात्र उपाय रहेको भेक्टर कन्ट्रोल निरिक्षक प्याकुरेल बताउँछन्। यसका लागि नेपाल सरकारले प्रभावित क्षेत्रमा प्रत्येक तीन वर्षमा झुल वितरण, कीटनाशक औषधि छर्ने जस्ता कार्यक्रम गरिरहेको भए पनि ती जिल्लाहरूमा स्थानीय औलो संक्रमण गर्ने लामखुुट्टे रहिरनुले नियन्त्रण चुनैतीपूर्ण बनेको प्याकुरेल बताउँछन्।
‘स्थानीय औलोकोे कारण नेपालमा औलो उन्मूलन चुनौैतीपूर्ण विषय बनेको छ,’ उनले भने। विश्व तापमानमा आएको परिवर्तन, यातयातको विकासजस्ता पक्षले हिमाली जिल्लाका खोंचहरूमा औलो फैलाउने लामखुट्टे वृद्धि भएको निर्देशक प्याकुरेल बताउँछन्। हिमाली जिल्लाका खोंचहरूमा यी लामखुट्टका लागि उपयुक्त तापक्रम हुनुले पनि ती ठाउँमा स्थानीय औलो फैलिने गरेको प्याकुरेलले बताए।
सरकारले सन् २०२२ सम्म औलो शून्यमा पुर्याउने लक्ष्य लिएको छ। १५ दिनसम्म ज्वरो आउनु, टाउको दुख्नु, शरीरका भित्री अंग सुन्निनु, जोर्नी दुख्नु, शरीरमा रगतको मात्रा कम हुनु, थकित महसुुस हुनु औलो संक्रमणका लक्षण हुन्। यी लक्षण देखिए वा औलोको शंका लागे नेपाल सरकारका स्वास्थ्य संस्थाहरूमा रगत जाँच गरी औलो पहिचान गर्न सकिन्छ।
लामखुट्टेको टोकाइबाट जोगिन झुल टाँगेर सुत्ने, लामो बाहुला भएको लुगा लगाउने, टायर, खाडलमा पानी जम्न नदिने, पानी राखिएका भाँडाहरूमा ढक्कन लगाउने, लामखुट्टे धपाउन धुप बाल्ने जस्ता उपाय अपनाउन सकिन्छ।
0000
कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन्।
स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नं ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन्। मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ५, चङ्खेली गाउँपालिका–२, सर्केगाड गाउँपालिका–२, ताजाकोट गाउँपालिका–२, सुर्खेतको भेरीगङ्गा नगरपालिका–७, वीरेन्द्रनगर नगरपालिका–१०, गुर्भाकोट नगरपालिका–१३, लेकबेँसी नगरपालिका–७ र १०, पञ्चपुरी नगरपालिका–९ रहेका छन्।
कर्णालीमा अधिकांश भारतबाट फर्कने नागरिकमा औलो फेला परे पनि जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण लामखुट्टे देखिन थालेपछि यसको प्रभाव विस्तार भएको बताइएको छ। प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा १४ जना छन्। हुम्लामा पाँच, मुगुमा छ, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुमपश्चिममा एक जना छन्।
मलेरिया भनेर चिनिने यो रोग ‘प्लाज्मोडियम’ नामक परजीविका विभिन्न जातहरूबाट हुने गर्दछ। ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा मलेरियाका परजीवि सर्ने गर्दछन्। मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भई हुर्किएका परजीवि रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न लक्षण देखा पर्दछन्। औलो रोगका परजीवि भएको लामखुट्टेको टोकाइ भएको १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्नेजस्ता लक्षणहरु देखा पर्दछन्।
निर्देशनालयले औलोको निःशुल्क परीक्षण तथा उपचार, हरेक बिरामी तथा जोखिम क्षेत्रको खोजपड्ताल, किटनाशक झुल वितरणलाई तीव्रता दिएको जनाएको छ। निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत आचार्यले औलो प्रभावित क्षेत्रमा गर्भवती महिलालाई लक्ष्य गरी यस वर्ष दुई हजार ६७१ थान झुल वितरण गरिएको बताए।
नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई पूर्ण अैलोमुक्त बनाउने राष्ट्रिय रणनीतिअनुसार सन् २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। ‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ सोमबार विश्व औलो दिवस मनाइएको थियो।

